सिंगापुरमा गुञ्जियो नेपाली उत्साह, सुरोदय र ब्लु फ्युरी च्याम्पियन

काठमाडौँ, १० भदौ । सिंगापुरमा शनिबार सम्पन्न छैटौँ नेपाल फुटसल कपले यसको एउटा उदाहरण प्रस्तुत गरेको छ । खेलकुदलाई माध्यम बनाएर नेपाली समुदायलाई एकै ठाउँमा जोड्दै आएको प्रतियोगिता यस वर्ष फुटसलको प्रतिस्पर्धासँगै नेपाली पहिचान र सामुदायिक एकताको उत्सवसमेत बनेको छ ।

नेपाली समाज सिंगापुरको आयोजनामा सिंगापुर खाल्सा एसोसिएसनमा सम्पन्न प्रतियोगितामा एक सय ५० भन्दा बढी नेपाली समुदायका सदस्य सहभागी भएका थिए । सिंगापुरमा बसोबास गर्ने नेपालीसँगै म्यानमार तथा उत्तरपूर्वी भारतका नेपालीभाषी समुदायको सहभागिताले प्रतियोगितालाई अझ व्यापक बनाएको आयोजकले जनाएको छ । प्रतियोगितामा ११ टोलीका करिब ८० खेलाडीले पुरुष, महिला तथा बालबालिकातर्फ प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगिताको पुरुषतर्फ सुरोदय एफसीले उपाधि जित्दा गोर्खाली रेञ्जर्स एफसी उपविजेता बनेको थियो । महिलातर्फ भने ब्लु फ्युरी एफसीले उपाधि हात पारेको थियो । मैदानमा विभिन्न टोलीबीच प्रतिस्पर्धा भए पनि प्रतियोगिताको उद्देश्य जित–हारमा मात्र सीमित थिएन । आयोजकका अनुसार नेपाल फुटसल कपले सिंगापुरमा रहेका नेपाली तथा नेपालीभाषी समुदायबीच भेटघाट, सम्बन्ध विस्तार र आपसी सहकार्यको अवसरसमेत प्रदान गर्दै आएको छ ।

यस वर्षको प्रतियोगितामा खेलसँगै नेपाली मौलिकता झल्काउने गतिविधिलाई पनि स्थान दिइएको थियो । कार्यक्रममा मौलिक नेपाली परिकार, प्रत्यक्ष सांगीतिक प्रस्तुति तथा विभिन्न मनोरञ्जनात्मक गतिविधि आयोजना गरिएका थिए । यसले विदेशमा हुर्किरहेका नयाँ पुस्तालाई नेपाली संस्कृति र समुदायसँग जोड्ने अवसरसमेत सिर्जना गरेको आयोजकको भनाइ छ ।

प्रतियोगिताको औपचारिक उद्घाटन नेपालका लागि सिंगापुरस्थित अवैतानिक महावाणिज्यदूत हेलेन कम्पोस्, नेपाली समाज सिंगापुरका संस्थापक अध्यक्ष अमर चित्रकार तथा समुदायका वरिष्ठ सदस्य रिद्धी कर्माचार्यले संयुक्त रूपमा गर्नुभएको थियो । प्रतियोगिता नेपाली समाज सिंगापुरका अध्यक्ष इन्द्र गुरुङको नेतृत्वमा आयोजना गरिएको थियो भने कार्यक्रम निर्देशक विपिन ब. खत्रीलगायत आयोजक समितिका सदस्य तथा स्वयंसेवकले व्यवस्थापनमा भूमिका निर्वाह गरेका थिए ।

अध्यक्ष गुरुङले नेपाल फुटसल कप सिंगापुरमा रहेका नेपाली समुदायको वार्षिक महत्त्वपूर्ण कार्यक्रमका रूपमा स्थापित हुँदै गएको बताउनुभयो । उहाँले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने खेलाडी, प्रायोजक, स्वयंसेवक तथा समुदायका सदस्यप्रति आभार व्यक्त गर्दै आगामी संस्करणलाई थप व्यवस्थित, भव्य र समावेशी बनाउने प्रतिबद्धता जनाउनुभयो ।

प्रतियोगिताको मुख्य प्रायोजक ओसन सेफ्टी सप्लाइज रहेको थियो । समापन अवसरमा खेलाडी, स्वयंसेवक तथा समुदायका सहयोगीलाई सम्मान गर्नुका साथै पुरस्कार वितरणसमेत गरिएको थियो ।

छैटौँ संस्करणसम्म आइपुग्दा नेपाल फुटसल कप केवल खेलकुद प्रतियोगितामा सीमित नरही सिंगापुरमा रहेका नेपालीका लागि भेटघाट, पुस्ताबीच सम्बन्ध विस्तार र नेपाली संस्कृति संरक्षण गर्ने साझा मञ्चका रूपमा विकसित हुँदै गएको देखिन्छ । विशेषगरी महिला र बालबालिकालाई समेत प्रतियोगितामा सहभागी गराउनुले यसको दायरा खेलकुदभन्दा बाहिर समुदायको व्यापक सहभागितातर्फ विस्तार भइरहेको संकेत गर्छ ।

आयोजकले आगामी संस्करणलाई अझ ठूलो र व्यवस्थित बनाउने जनाएको छ । त्यससँगै नेपाल फुटसल कपले विदेशमा रहेका नेपाली समुदायलाई आफ्नो पहिचानसँग जोड्दै युवा पुस्तामा खेलकुदप्रतिको रुचि र सामुदायिक भावनालाई निरन्तर अघि बढाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्