काठमाडौँ, १० भदौ । एसीसी प्रिमियर कप क्रिकेटको तयारीमा रहेको नेपाली राष्ट्रिय टोलीले प्रतियोगिता सुरु हुनुअघि आफ्नो ब्याटिङ र बलिङ दुवै पक्षको बलियो संकेत दिएको छ । मलेसियामा घरेलु टोलीविरुद्ध भएको अभ्यास खेलमा नेपालले नौ विकेटको प्रभावशाली जित निकाल्दै प्रिमियर कपका लागि आफ्नो तयारीलाई थप मजबुत बनाएको हो ।
सेलाङ्गोर टर्फ मैदानमा टस हारेर पहिले बलिङ गरेको नेपालले मलेसियालाई ४८.२ ओभरमा २३२ रनमै समेटेको थियो । कप्तान सन्दीप लामिछानेको नेतृत्वमा नेपाली बलरले नियमित अन्तरालमा विकेट लिएपछि मलेसिया ठूलो योगफलतर्फ जान सकेन । सन्दीपले १० ओभरमा ३६ रन खर्चेर चार विकेट लिए । करण केसीले दुई तथा ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए ।
मलेसियाका लागि मुहम्मद स्याहादात रामलीले सर्वाधिक ६१ रन बनाए । सैफुल्लाह मलिकले ४५, साइद अजिजले ४० तथा विरानदीप सिंहले ३९ रनको योगदान दिए । नेपालले मलेसियालाई २३३ रनमा रोक्नुले प्रिमियर कपमा दबाब सिर्जना गर्न सक्ने बलिङ आक्रमणको संकेत गरेको छ ।
नेपालको जितको मुख्य आधार भने ओपनर आसिफ शेखको विस्फोटक ब्याटिङ रह्यो । मलेसियाले दिएको लक्ष्य पछ्याउने क्रममा वर्षाका कारण खेल ४८ ओभरमा छोट्याइएपछि नेपालले २२८ रनको नयाँ लक्ष्य पाएको थियो । उक्त लक्ष्य नेपालले केवल २८ ओभरमा एक विकेट गुमाएर पूरा ग¥यो ।
आसिफले ८५ बलमा १२ चौका र १२ छक्कासहित १६१ रनको अविजित इनिङ खेले । उनको आक्रामक ब्याटिङले नेपालको लक्ष्य पछ्याउने यात्रा एकतर्फी बनायो । आसिफले अर्जुन कुमालसँग दोहोरो शतकीय साझेदारीसमेत गरे । अर्जुन ६१ रनमा अविजित रहे । दुई ओपनरबीचको २२० रनको साझेदारीले नेपालको शीर्ष क्रमको लयलाई प्रस्ट पारेको छ ।
नेपालका लागि यो जित सामान्य अभ्यास खेलको परिणामभन्दा बढी आत्मविश्वासको विषय बनेको छ । प्रतियोगिताअघि ब्याटिङमा आसिफको लय, अर्जुनको धैर्य र बलिङमा सन्दीपको प्रभाव देखिनुले टोलीको तयारी सकारात्मक दिशामा रहेको संकेत गरेको छ । यसअघि नेपालले भारतमा कर्नाटकविरुद्ध खेलेका दुई अभ्यास खेलसमेत जितेको थियो ।
अर्कोतर्फ, प्रिमियर कपमा नेपालले मलेसियासँग समूह चरणमै पुनः प्रतिस्पर्धा गर्नेछ । नेपाल समूह ‘ए’मा मलेसिया, बहराइन, साउदी अरेबिया र हङकङसँग रहेको छ । संशोधित तालिकाअनुसार नेपालले अगस्ट ३१ मा बहराइनसँग पहिलो खेल खेल्नेछ । त्यसपछि सेप्टेम्बर ३ मा मलेसिया, सेप्टेम्बर ६ मा साउदी अरेबिया र सेप्टेम्बर ८ मा हङकङसँग खेल्नेछ ।
विशेषगरी मलेसियाविरुद्धको अभ्यास खेलले प्रतियोगिताको समूह चरणमा हुने वास्तविक प्रतिस्पर्धाअघि नेपाललाई आफ्नो रणनीति परीक्षण गर्ने अवसर दिएको छ । अभ्यास खेलको तथ्याङ्क आधिकारिक प्रतियोगितामा गणना नहुने भए पनि खेलाडीको लय र टोलीको मनोबलका दृष्टिले यसको महत्त्व भने उच्च छ ।
अब नेपालको ध्यान प्रिमियर कपको पहिलो खेलमा केन्द्रित हुनेछ । अभ्यास खेलमा देखिएको आक्रामक ब्याटिङ र प्रभावशाली बलिङलाई प्रतियोगिताका प्रतिस्पर्धात्मक खेलमा निरन्तरता दिन सके नेपाल समूह चरण पार गर्दै उपाधि यात्रामा बलियो दाबेदार बन्न सक्नेछ ।
प्रतिक्रिया दिनुहोस्