काठमाडौं, २९ माघ । बैशाख १८ बाट नेपाली चलचित्र ‘लालीबजार’ देशभर प्रदर्शनमा आउने भएको छ । बुधबार सार्वजनिक गरिएको टिजरसँगै निर्माण पक्षले नयाँ रिलिज मिति घोषणा गरेको हो ।
यसअघि फिल्मको प्रदर्शन मिति फागुन १ तय गरिएको भए पनि फागुन २१ मा तोकिएको निर्वाचनका कारण प्रदर्शन केही समयपछि सारिएको निर्माण टिमले जनाएको छ ।
सार्वजनिक टिजरले फिल्मको कथावस्तु, परिवेश र प्रमुख पात्रहरूको मनोविज्ञान झल्काउने प्रयास गरेको छ । कथाको केन्द्रमा बाध्यताले यौन व्यवसायमा संलग्न हुन पुगेकी एक युवती र उनको जीवनसँग गाँसिएको सामाजिक यथार्थ छ ।
टिजरमा राजपरिवारसँग जोडिएको सम्बन्ध, नत्थी प्रथाजस्ता परम्परागत कुप्रथाहरू र त्यसले महिलाको जीवनमा पारेको असरलाई संकेत गरिएको छ । यसले फिल्म केवल मनोरञ्जनमा सीमित नरही सामाजिक विषयवस्तु उठान गर्ने गम्भीर प्रयास भएको स्पष्ट पार्छ ।
‘लालीबजार’को कथा मुख्यतः बादी समुदायका महिलाहरूको जीवन संघर्षमा आधारित छ । गरिबी, अवसरको अभाव र सामाजिक बहिष्कारका कारण यौन व्यवसायलाई जीवन निर्वाहको माध्यम बनाउन बाध्य महिलाहरूको पीडा, विवशता र उनीहरूको आवाजलाई फिल्मले पर्दामा उतार्ने प्रयास गरेको देखिन्छ ।
टिजरले यी पात्रहरूको व्यक्तिगत कथा मात्र होइन, संरचनागत विभेद र समाजको दोहोरो मापदण्डमाथि प्रश्न उठाउने संकेत पनि गरेको छ ।
यम थापाको कथा तथा निर्देशनमा बनेको यस फिल्ममा अभिनेत्री स्वस्तिमा खड्काले यौनकर्मीको चुनौतीपूर्ण भूमिकामा अभिनय गरेकी छन् ।
उनीसँगै रविन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश बादी र सरस्वती अधिकारीलगायत कलाकारहरूको अभिनय रहेको छ । यसै फिल्ममार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले नेपाली फिल्म क्षेत्रमा अभिनय डेब्यु गरेका छन् ।
षट्कोण आट्र्सको ब्यानरमा निर्माण भएको ‘लालीबजार’को छायांकन सुशन प्रजापतीले गरेका छन् । पटकथा तथा संवाद निर्देशक यम थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा तयार पारेका हुन् ।
सम्पादन मित्रदेव गुरुङले गरेका छन् भने संगीततर्फ प्रकाश सपूत, खेम सेन्चुरी र जयन जे वाइवाको योगदान रहेको छ। फिल्मका कार्यकारी निर्माता प्रदीप भट्टराई हुन् भने म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माताको रूपमा रहेका छन् ।
सामाजिक यथार्थ र संवेदनशील विषयलाई कथात्मक शैलीमा प्रस्तुत गर्ने लक्ष्य राखेको ‘लालीबजार’ले नेपाली सिनेमा क्षेत्रमा फरक स्वाद दिने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्