फिल्म ‘दयारानी’ को व्यापार राम्रा, पहिलो हप्तामा २ करोड ५० लाख कलेक्सन

काठमाडौं, ९ फागुन । फिल्म ‘दयारानी’ को व्यापार राम्रा चलिरहेको छ । फिल्मले पहिलो हप्तामा २ करोड ५० लाख कलेक्सन गरेको छ । माओत्से गुरुङको डेब्यू निर्देशित फिल्म ‘दयारानी’लाई हिट दाबी गरिएको छ । मंगलबार एक पोस्टरमार्फत् कलेक्सन रिपोर्टसहित हिट दाबी गरिएको हो । फिल्मको कलेक्सन २ करोड ५० लाख उल्लेख छ । यद्यपि, फिल्मको कलेक्सनलाई पुष्टि गर्ने आधार छैन । किनकि, तालुकवाला सरकारी निकाय चलचित्र विकास बोर्डले केही महिनादेखि बक्स अफिस तथ्यांक सार्वजनिक गरेको छैन ।

फिल्मको कलेक्सन रिपोर्टसहितको पोस्टर अभिनेता दयाहाङ राईले फेसबुकमा साझेदार गर्दै दर्शकप्रति आभार व्यक्त गरेका छन् । दोस्रो हप्तामा पनि फिल्मलाई मल्टीप्लेक्सहरुले सुखद् शो बाँडेका छन् । देशकै सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले बुधबारका लागि देशभर २८ शोज उपलब्ध गराएको छ, जुन उत्साहप्रद हो । यसले पनि फिल्मको व्यापार राम्रो रहेको देखाउँछ ।

विशेषगरी पोखरामा फिल्मको व्यापार बलियो छ । त्यहाँको मिडटाउन सिनेमाजले बुधबारका लागि चार शो उपलब्ध गराउनुले पनि पोखरामा दर्शकको चाप राम्रो रहेको संकेत गर्छ । पोखरा निर्देशक गुरुङको जन्मथलो हो । यसैले त्यहाँका हलमा उनको नामको प्रभाव बढी परेको हुनसक्छ । बुटवल, दमौली र इटहरीका हलमा पनि फिल्म हेर्ने दर्शकको चाप राम्रो रहेको वितरकको दाबी छ ।

‘दयारानी’मा दयाहाङ राईको जोडी अभिनेत्री दीया पुनसँग बाँधिएको छ । विजय बराल, नयन गुरुङ, शिरिषा कुँवर, पुष्कर गुरुङ, प्रमिश गुरुङ लगायतको पनि अभिनय रहेको फिल्मले निःसन्तान दम्पतीको कथा उठाएको छ । फिल्ममा ‘ए हो र, आफू को हो र !’ संवाद बोल्ने नयनको कामलाई दर्शकले विशेष रुचाएका छन् । फिल्मका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् ।

यसैगरी, शुक्रबारबाट फिल्म ‘दयारानी’ र ‘हात्तीछाप’ प्रदर्शनमा आएका हुन । फ्राईडे रिलिजको परम्परा धान्दै यी दुवै फिल्म देशभर एक अर्काेसँग व्यावसायिक प्रतिस्पर्धामा उत्रिएको हो । करिब एक महिनापछि हलमा नयाँ नेपाली फिल्म आएको हो । यसअघि गत पुस २७ गते दुई फिल्म ‘पर्खी बसेँ तिमिलाई’ र ‘चित्रा’ रिलिज भएको थियो । दुवै फिल्ममा अहिलेका व्यस्त अभिनेता दयाहाङ राईको अभिनय रहेको छ ।

किरण नेपालीको प्रस्तुति रहेको फिल्म ‘हात्तीछाप’ प्रदीप भारद्वाजले लेखेका हुन् । फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, विजय बराल, बुद्धि तामाङ, कमलमणि नेपाल, राजन खतिवडा, पुष्कर गुरुङ, प्रकाश घिमिरे, विल्सन विक्रम राई, विनोद न्यौपाने, कविता आले, रवीन्द्र झा, रियर राई, सुष्मा निरौला, अनुप न्यौपाने, स्वस्तिका खड्का, नारायण खाती, अनिता गिरी, विन भुजेल लगायतका कलाकारको अभिनय छ ।

सामाजिक कथालाई कमेडी शैलीमा प्रस्तुत गरिएको फिल्म केही अगाडि प्रिमिएर भएको थियो । जसमा सहभागीले फिल्म राम्रो रहेको प्रतिक्रिया दिएका थिए । सुशन प्रजापतिको छायाङ्कन रहेको फिल्म काठमाडौँ र पोखरामा खिचिएको छ । फिल्ममा आर्टमान्डुको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, निमेष श्रेष्ठको सम्पादन, आरआर फिल्मस्को वितरण गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्