माघ २६ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘दयारानी’को पोखरामा प्रिमियर

काठमाडौं, २४ माघ । माघ २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको माओत्से गुरुङ निर्देशित फिल्म ‘दयारानी’को तालनगरी पोखरामा प्रिमियर गरिएको छ । आइतबार पोखराको मिडटाउन सिनेमाजमा आयोजित प्रिमियरमा पोखराका मेयरदेखि वडा अध्यक्षसम्मले फिल्मको प्रशंसामा शब्द खर्चिएका थिए । फिल्मको कथावस्तु, निर्देशन र कलाकारको अभिनय सशक्त रहेको भन्दै प्रशंसा भएको थियो ।

प्रिमियरमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री किरण गुरुङ, मादी गाउँपालिकाका अध्यक्ष देवीजङ्ग गुरुङ, कवि रमेश श्रेष्ठ, कलाकार प्रकाश घिमिरे, संगीतकार राजनराज सिवाकोटी, फिल्मका निर्देशक माओत्से गुरुङ, अभिनेत्री दीया पुन लगायतको उपस्थिति थियो । कास्की जिल्लामा खिचिएकाले फिल्मको प्रिमियर पोखरामा गरिएको हो ।

प्रिमियरमा मेयर आचार्यले पोखरामा पछिल्लो समय साहित्य, कला तथा फिल्मसम्बन्धी गतिविधिहरु भइरहेको देख्दा खुशी लागेको बताए । पूर्व अर्थमन्त्री किरण गुरुङले भने माओत्से गुरुङको लेखन र निर्देशनको प्रशंसा गरे । उनले भने– ‘निःसन्तान हुँदा घर–परिवार र समाजले हेर्ने दृष्टिकोणलाई फिल्ममा देखाइएको छ । हरेक एक कलाकारले निर्वाह गरेको भूमिका र कथा उत्कृष्ट छ ।’

मादी गाउँपालिकाका अध्यक्ष गुरुङले आफ्नो गाउँपालिकाको याङ्जाकोट क्षेत्रमा छायांकन गरिएको ‘दयारानी’मार्फत यो ठाउँको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । त्यसैगरी, निर्देशक गुरुङले अभिनयभन्दा निर्देशन गाह्रो हुने अनुभव सुनाए । उनले भने– ‘कलाकार भएर थुप्रै फिल्ममा काम गरियो । मलाई निर्देशनभन्दा अभिनय सहज लाग्छ । निर्देशन गर्दा जिम्मेवारी धेरै हुन्छ ।’

अभिनेत्री पुनले भने ‘दयारानी’ले आफ्नो करिअरमा एउटा इट्टा थप्ने विश्वास व्यक्त गरेकी छन् । सामाजिक परिवेशलाई उतारिएको फिल्ममा अभिनय गर्न पाउँदा नौलो अनुभव भएको उनले बताइन् । फिल्ममा उनको जोडी अभिनेता दयाहाङ राईसँग बाँधिएको छ । शैलेन्द्र ध्वज कार्कीको छायांकन रहेको यो फिल्ममा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ लगायतको पनि अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्