नयाँ पुस्ताको कथासहित ‘एक्का मिस्सी बादशाह’ निर्माण हुने

काठमाडौं,१० साउन । नेपाली चलचित्र क्षेत्रमा नयाँ पुस्तालाई लक्षित गर्दै अर्को नयाँ परियोजना थपिएको छ । बेलायतमा बसोबास गर्दै आएका सञ्जय राईले निर्देशनमा डेब्यु गर्ने फिल्म ‘एक्का मिस्सी बादशाह’ को औपचारिक घोषणा गरिएको छ । शनिबार निर्देशक राईको जन्मदिनको अवसर पारेर काठमाडौंमा आयोजित विशेष कार्यक्रममा कलाकार तथा प्राविधिक टोली सार्वजनिक गर्दै निर्माण पक्षले फिल्मको निर्माण प्रक्रिया सुरु भएको जानकारी दिएको हो ।
मोहिनीदेवी राई को प्रस्तुतिमा निर्माण हुन लागेको फिल्ममा अभिनेत्री सम्राज्ञी आरएल शाह मुख्य भूमिकामा रहनेछिन् । उनी फिल्ममा ‘आश’ नामकी युवतीको चरित्रमा देखिनेछिन् । निर्माण टिमले उनको बोल्ड लुक सार्वजनिक गर्दै यो पात्र साहसी, आत्मविश्वासी र परम्परागत नेपाली महिला पात्रभन्दा फरक ढंगले प्रस्तुत गरिने जनाएको छ ।
केही समययता नयाँ फिल्ममा कमै देखिएकी सम्राज्ञीले आफूलाई मनपर्ने भूमिका नपाएकै कारण अभिनयमा केही अन्तराल आएको बताइन् । उनले ‘एक्का मिस्सी बादशाह’ को कथा र आफ्नो पात्रले प्रभावित गरेपछि फिल्ममा आबद्ध हुन तयार भएको स्पष्ट पारिन् ।
उनका अनुसार ‘आश’ पात्र केवल ग्ल्यामरस भूमिकामा सीमित छैन, बरु आफ्नो निर्णय आफैं गर्ने, चुनौतीसँग जुध्ने र जीवनलाई आफ्नै शैलीमा अघि बढाउने युवतीको प्रतिनिधित्व गर्ने चरित्र हो । निर्देशकले पात्रलाई गहिरो ढंगले निर्माण गरेकाले आफू निकै उत्साहित भएको उनले बताइन् ।
फिल्मका निर्देशक सञ्जय राईले लामो समयदेखि चलचित्र निर्माण र निर्देशनमा रुचि राख्दै आएका थिए । बेलायतमा बसोबास गरे पनि राई चलचित्रसम्बन्धी अध्ययन र अभ्यासलाई निरन्तरता दिँदै आएका थिए । ‘एक्का मिस्सी बादशाह’ उनको निर्देशनमा पहिलो फिचर फिल्म हुनेछ ।
निर्देशक राईका अनुसार फिल्मको कथा अहिलेको पुस्ताको जीवनशैली, प्रेम, मित्रता, पारिवारिक सम्बन्ध र सामाजिक अपेक्षाबीचको संघर्षमा केन्द्रित हुनेछ । उनले सामाजिक सञ्जालको प्रभाव, युवापुस्ताको सोच र जीवनमा आउने उतारचढावलाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिने बताए ।

फिल्मको ट्यागलाइन ‘कोही जित्छन्, कोही हार्छन्, कोही बादशाह बन्छन्’ राखिएको छ । निर्माण पक्षका अनुसार यो ट्यागलाइनले जीवनको प्रतिस्पर्धा, संघर्ष र सफलताको यात्रालाई प्रतीकात्मक रूपमा चित्रण गर्छ । कथा दुई साथीको वरिपरि घुम्नेछ, जसले युवावस्थामा प्रेम, महत्वाकांक्षा, परिवारको अपेक्षा र व्यक्तिगत निर्णयबीच सन्तुलन खोज्ने प्रयास गर्छन् ।
फिल्मका कार्यकारी निर्माता सुदीप्ता हुन् । उनले यो परियोजना आफ्नो लागि विशेष भएको बताउँदै कार्यकारी निर्माताको रूपमा नेपाली फिल्म उद्योगमा नयाँ यात्रा सुरु गर्न पाउँदा उत्साहित रहेको प्रतिक्रिया दिइन् । उनका अनुसार नयाँ पुस्ताका दर्शकलाई लक्षित गर्दै गुणस्तरीय मनोरञ्जन दिन सक्ने फिल्म निर्माण गर्ने लक्ष्य राखिएको छ ।
प्राविधिक टोलीमा चर्चित छायाकार नरेन्द्र मैनाली ले छायांकन गर्नेछन् भने निकेश कार्की र रोमन बज्राचार्य संगीत निर्माणमा रहनेछन् । आशिम रानाभाट स्टाइलिस्ट तथा सुनिल शिवभक्ति सम्पादकको भूमिकामा रहने निर्माण पक्षले जनाएको छ । एलोन गुरुङ लाइन प्रोड्युसर र सुपथ श्रेष्ठ प्रोजेक्ट सुपरभाइजरको जिम्मेवारीमा रहनेछन् ।
निर्माण पक्षले फिल्मका लागि ‘क्रिश’ र ‘अर्जुन’ नामका दुई प्रमुख पुरुष पात्रको खोजी भइरहेको जनाएको छ । यी भूमिकाका लागि खुला अडिसनको घोषणा गरिएको छ, जसबाट नयाँ कलाकारलाई अवसर दिने तयारी गरिएको निर्देशक राईले बताए । अन्य कलाकारको छनोट प्रक्रिया पूरा भएपछि थप जानकारी सार्वजनिक गरिने जनाइएको छ ।
निर्माण टिमका अनुसार ‘एक्का मिस्सी बादशाह’ को छायांकन आगामी फागुन महिनादेखि सुरु हुनेछ । आधुनिक पुस्ताको कथा, नयाँ निर्देशकको दृष्टिकोण र सम्राज्ञी आरएल शाहको फरक भूमिकाका कारण फिल्मले सुरुदेखि नै दर्शक र चलचित्र वृत्तमा उत्सुकता पैदा गरेको निर्माण पक्षको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्