गीत र संस्कृतिको चर्चाबीच अन्तर्राष्ट्रिय बजारमा ‘जलाकी’

काठमाडौँ, १२ कात्तिक । मगर र गुरुङ समुदायको संस्कृति, परम्परा र भावनात्मक सम्बन्धलाई कथाको केन्द्रमा राखेर निर्माण गरिएको नेपाली सिनेमा ‘जलाकी’ले प्रदर्शनअघि नै अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति विस्तार गरेको छ ।

 

अशोक थापा मगरको निर्देशनमा बनेको सिनेमाको अमेरिका र क्यानडाका लागि प्रदर्शन अधिकार बिक्री भएको छ । यससँगै आगामी मंसिर ४ गतेदेखि नेपालमा प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमाले प्रवासमा रहेका नेपाली दर्शकमाझ पनि पुग्ने बाटो बनाएको छ ।

निर्देशक अशोक थापा मगरका अनुसार अमेरिका र क्यानडाको प्रदर्शन अधिकार पिएनएम एलएलसीले खरिद गरेको हो । ती दुई देशमा सिनेमाको प्रदर्शन मिति भने वितरक र निर्माण पक्षबीचको आपसी छलफलपछि तय गरिनेछ । अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री हुनुले नेपाली सिनेमाको बजार विस्तारसँगै विदेशमा रहेका नेपाली दर्शकसम्म मौलिक सांस्कृतिक कथावस्तु पु¥याउने सम्भावनालाई पनि अघि बढाएको छ ।

‘जलाकी’ निर्देशक मगरको दोस्रो सिनेमा हो । यसअघि ‘गुस्मा’बाट परिचित उनले यसपटक मगर र गुरुङ समुदायको आस्था, सम्झना, प्रेम र परम्परालाई सिनेमाको मुख्य विषय बनाएका छन् । निर्देशकका अनुसार ‘जलाकी’ शब्दले मगर समुदायमा आस्था, सम्झना र मायाको प्रतीकका रूपमा लिइने ढुङ्गाबाट निर्मित स्तम्भलाई जनाउँछ । यही सांस्कृतिक प्रतीकलाई आधार बनाएर सिनेमाको कथा तयार पारिएको हो ।

सिनेमाले प्रदर्शनअघि नै गीतसङ्गीतमार्फत दर्शकको ध्यान खिचिरहेको छ । ‘कलेजीको छेऊ’, ‘चाँदी जलप’ र ‘जाले रुमाल मायालाई’ बोलका तीन गीत तथा टिजर सार्वजनिक भइसकेका छन् । ती सामग्रीले सामाजिक सञ्जालमा चर्चा पाउनुका साथै सिनेमाप्रतिको चासो बढाएका छन् ।

विशेषगरी ‘चाँदी जलप’ गीतले छोटो भिडियो सामग्री बनाउने दर्शकमाझ उल्लेख्य लोकप्रियता पाएको निर्माण पक्षले जनाएको छ । उक्त गीतमा १० लाखभन्दा बढी टिकटक भिडियो बनेका छन् । अन्य दुई गीत पनि रिल्स र सट्र्समा प्रयोग भइरहेका छन् । गीतको लोकप्रियतालाई सिनेमाको प्रचारमा महत्वपूर्ण आधारका रूपमा हेरिएको छ । यद्यपि, सामाजिक सञ्जालमा गीतले पाएको लोकप्रियता र हलमा दर्शकको उपस्थितिबीचको सम्बन्ध भने प्रदर्शनपछि मात्रै स्पष्ट हुनेछ ।

 

सांस्कृतिक विषयवस्तु र कलाकारको विविधताले पनि ‘जलाकी’लाई चर्चामा ल्याएको छ । सिनेमामा उपासना सिंह ठकुरी, सोनम तोप्देन, शिल्पा मास्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बूलगायत कलाकारको अभिनय छ ।

त्यस्तै राजु रेग्मी मगर, रजनी गुरुङ, उषा खड्की, खड्क बहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर र दुइसाङ थिन पनि सिनेमामा देखिनेछन् । विशेष भूमिकामा क्याप्टेन विजय लामा छन् भने मुन्जन थापा मगर, नुलाम्मा बान्तावा र रिन्सी धनहा मगर बालकलाकारका रूपमा प्रस्तुत भएका छन् ।

यसै सिनेमाबाट मिस सिक्किम साहारा हाङमा लिम्बूले नेपाली सिनेमामा पदार्पण गरेकी छन् । यसले सिनेमाको कलाकार समूहमा नयाँ अनुहारसमेत थपेको छ ।

एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता ओम घर्ति मगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी हुन् । सिनेमालाई काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रिब्युसनले वितरण गर्नेछन् ।

अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री, सामाजिक सञ्जालमा गीतको लोकप्रियता र सांस्कृतिक कथावस्तु ‘जलाकी’का प्रमुख आकर्षण बनेका छन् । अब मंसिर ४ गतेदेखि दर्शकमाझ पुग्ने सिनेमाले आफ्नो प्रचारमा देखिएको उत्साहलाई व्यावसायिक सफलतामा बदल्न सक्छ कि सक्दैन भन्ने चासो बढेको छ ।

 

प्रतिक्रिया दिनुहोस्