दुई अवार्ड जितेको फिल्म ‘द रेड सुटकेस’ चैत ३० गतेबाट प्रदर्शनमा आउने

 

काठमाडौं, १७ पुस । विश्वकै प्रतिष्ठित मानिने ‘भेनिस फिल्म फेस्टिभल’मा महत्त्वपूर्ण दुई अवार्ड जितेको नेपाली फिल्म ‘द रेड सुटकेस’को प्रदर्शन मिति घोषणा गरिएको छ । अंग्रेजी नयाँ वर्ष (२०२४)को अवसर पारेर सोमबार एक पोस्टर सार्वजनिक गर्दै आगामी चैत ३० गतेलाई प्रदर्शन मिति निश्चित गरिएको हो । यो मितिमा रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला’ पनि प्रदर्शनमा आउने तयारीमा छ ।

फिडेल देवकोटाको लेखन तथा निर्देशन रहेको फिल्ममा सौगात मल्ल, विपिन कार्की, प्रविन खतिवडा र सृष्टि श्रेष्ठ मुख्य भूमिकामा छन् । नेपालको आप्रवासी परम्परा र नियतिको कथालाई उठाइएको फिल्ममा सुशन प्रजापतिको छायांकन र समन अलभितिगाको सम्पादन छ । रामकृष्ण पोखरेल, शोभा थापा र फिडेल देवकोटा निर्माता तथा श्रीलंकाका विमुक्ति जयसुन्दरा सह–निर्मातामा छन् ।

जर्मनीको म्यानहाइम हाइडेलवर्ग इन्टरनेसनल फिल्म फेस्टिभल, स्विजरल्यान्डको जुरिच फिल्म फेस्टिभल, भारतको मुम्बई फिल्म फेस्टिभल आदिमा समेत छनोट भएको फिल्मले भेनिस फिल्म फेस्टिभलबाहेक हालै श्रीलंकामा सम्पन्न जाफ्ना इन्टरनेसनल सिनेमा फेस्टिभलमा बेस्ट डेब्यू फिचर फिल्मको अवार्ड पनि जितेको छ । यो फिल्ममा विपिनले बिना पारिश्रमिक काम गरेको बताइन्छ ।

निर्माता पोखरेलले विदेशी दर्शकबाट फिल्मले प्रशस्त स्नेह पाएको र घरेलू दर्शकबाट त्यस्तै स्नेहको अपेक्षा गर्दै फिल्म प्रदर्शन गर्ने निर्णयमा पुगेको बताएका छन् । ‘विश्वका दर्शकहरुको प्रतिक्रिया हाम्रो लागि उत्साहपूर्ण रह्यो । अब हामी घरेलू दर्शकहरुको पनि प्रतिक्रियाका लागि उत्सुक छौँ,’ उनले भने । निर्देशक देवकोटाले भने फिल्ममा सामाजिक यथार्थलाई उठाइएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्