शिक्षक तथा कर्मचारीलाई पदीय आचरणविपरीत सामाजिक सञ्जाल प्रयोग नगर्न निर्देशन

चितवन, १२ कात्तिक । सामाजिक सञ्जाल प्रयोग गर्दा पदीय मर्यादा र प्रचलित कानुनी व्यवस्थाको पालना गर्न शिक्षा विकास तथा समन्वय इकाई, चितवनले जिल्लाका सबै विद्यालयका शिक्षक तथा कर्मचारीलाई निर्देशन दिएको छ । केही शिक्षक तथा कर्मचारीले पदीय आचरणविपरीत सामाजिक सञ्जाल प्रयोग गरेको भन्ने गुनासा प्राप्त भएपछि इकाईले विद्यालयहरूलाई बुधबार पत्राचार गर्दै कानुनी प्रावधान र आचारसंहिताप्रति सचेत गराएको हो ।

इकाईले शिक्षक तथा कर्मचारीलाई सामाजिक सञ्जालमा विचार वा सामग्री सार्वजनिक गर्दा जिम्मेवार बन्न र प्रचलित कानुनले निर्धारण गरेका सीमाको पालना गर्न आग्रह गरेको छ । साथै, सम्बन्धित विद्यालयलाई शिक्षक तथा कर्मचारीले आचारसंहिता पालना गरे वा नगरेको विषयमा प्रभावकारी अनुगमन तथा नियमन गर्न पनि अनुरोध गरिएको छ ।

शिक्षा विकास तथा समन्वय इकाई, चितवनका प्रमुख कृष्णचन्द्र पोखरेलका अनुसार शिक्षक तथा कर्मचारीलाई नयाँ व्यवस्था लागू गरिएको नभई प्रचलित कानुन र नियमावलीमा रहेका प्रावधानको स्मरण गराइएको हो ।

विभिन्न माध्यमबाट पदीय आचरणविपरीत सामाजिक सञ्जाल प्रयोग भइरहेको गुनासो आएपछि यस विषयमा सचेत गराउन आवश्यक ठानिएको उहाँले बताउनुभयो ।

“कानुन र नियमावलीमा भएका कुरा सम्झाएको मात्रै हो । यसको पालना गर्न सबैले पर्दछ,” पोखरेलले भन्नुभयो । इकाईले शिक्षक तथा कर्मचारीलाई शिक्षा नियमावली, २०५९ को नियम १३३ को उपनियम (१) को खण्ड (घ) तथा सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धी निर्देशिका, २०८० को दफा ४ मा उल्लेख गरिएका व्यवस्थाको स्मरण गराएको छ ।

ती कानुनी प्रावधानअनुसार आफ्नो पदीय जिम्मेवारी निर्वाह गर्दा निर्धारित आचरण पालना गर्नुपर्नेमा इकाईले जोड दिएको छ ।

निर्देशनमा नेपाल सरकार र नेपाली जनताबीचको सम्बन्धमा खलल पु¥याउने उद्देश्यले बेनामी वा काल्पनिक नामबाट लेख प्रकाशन गर्ने, प्रेसलाई सूचना दिने, रेडियो वा टेलिभिजनमार्फत भाषण गर्ने तथा सार्वजनिक भाषण वा वक्तव्य दिने कार्यमा निषेधात्मक व्यवस्था रहेको उल्लेख छ ।

इकाईले सम्बन्धित कानुनी प्रावधानलाई ध्यानमा राखेर सामाजिक सञ्जाल प्रयोग गर्न शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको हो । सार्वजनिक पद तथा जिम्मेवारीमा रहेका व्यक्तिले आफ्नो अभिव्यक्ति र व्यवहारमा पदीय मर्यादा कायम राख्नुपर्ने सन्देशसमेत निर्देशनले दिएको छ ।

शिक्षा नियमावली, २०५९ को नियम १३३ को उपनियम (२) लाई आधार बनाउँदै इकाईले जिल्लाका विद्यालयलाई शिक्षक तथा कर्मचारीले आचारसंहिता पालना गरे वा नगरेको विषयमा प्रभावकारी नियमन र अनुगमन गर्न आग्रह गरेको छ ।
यस व्यवस्थाअनुसार विद्यालय प्रशासनले शिक्षक तथा कर्मचारीलाई कानुनी दायित्वबारे जानकारी गराउने र आचारसंहिताको पालना भए–नभएको विषयमा आवश्यक निगरानी राख्ने अपेक्षा गरिएको छ ।

इकाईले सबै विद्यालयलाई पत्राचार गरेर निर्देशन कार्यान्वयनमा ध्यान दिन अनुरोध गरेको हो ।

शिक्षक तथा कर्मचारीको सामाजिक सञ्जाल प्रयोगलाई व्यवस्थित बनाउने सन्दर्भमा प्रचलित कानुनको जानकारी र त्यसको पालना दुवै महत्त्वपूर्ण हुने देखिन्छ । विशेषगरी सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिले डिजिटल माध्यममा सामग्री सार्वजनिक गर्दा कानुनी प्रावधान र पदीय मर्यादालाई ध्यान दिनुपर्ने विषयमा इकाईले जोड दिएको छ ।

चितवनमा जारी निर्देशनले शिक्षक तथा कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोगमा थप सचेत रहन र विद्यालय प्रशासनलाई आचारसंहिताको पालना सुनिश्चित गर्न ध्यानाकर्षण गराएको छ ।

 

प्रतिक्रिया दिनुहोस्