काठमाडौं, १६ असार । निर्देशक माओत्से गुरुङको नयाँ नेपाली सिनेमा ‘पेन्सन पट्टा’ आगामी भदौ २६ गतेदेखि देशभर प्रदर्शन हुने भएको छ । असार १५ अर्थात् दहीचिउरा खाने दिनको अवसर पारेर निर्माण टिमले सिनेमाको प्रदर्शन मिति स्मरण गराउँदै तीन आकर्षक पोस्टर सार्वजनिक गरेको हो । पोस्टर सार्वजनिकसँगै सिनेमाको औपचारिक प्रचार अभियान पनि सुरु गरिएको छ ।
सार्वजनिक गरिएका तीनवटै पोस्टरले सिनेमाको कथा, पात्रहरूको जीवन, पारिवारिक सम्बन्ध, संघर्ष र नेपाली ग्रामीण परिवेशलाई कलात्मक रूपमा प्रस्तुत गरेका छन् । पहिलो पोस्टरमा दयाहाङ राई र गौमाया गुरुङ गाउँको परिवेशमा देखिएका छन् । गौमायाको काखमा रहेको पाठो र दयाहाङको भावपूर्ण अभिव्यक्तिले गाउँघरको सरल जीवन, आत्मीयता र मानवीय संवेदनालाई उजागर गरेको छ ।
दोस्रो पोस्टरमा दयाहाङ र गौमाया हात समातेर झरनाको बाटो हुँदै यात्रा गरिरहेको दृश्य छ। डोको बोकेकी गौमाया र भारी बोकेका दयाहाङको उपस्थितिले संघर्ष, सहयात्रा, प्रेम र जिम्मेवारीपूर्ण जीवनको कथा बोल्छ। प्राकृतिक सौन्दर्यले भरिएको दृश्यले सिनेमाको भावनात्मक पक्षलाई अझ प्रभावशाली बनाएको छ।
तेस्रो पोस्टरमा दयाहाङ सैनिक पोसाकमा देखिएका छन् भने गौमाया परम्परागत गुरुङ पहिरनमा प्रस्तुत भएकी छन्। पृष्ठभूमिमा रहेका युवा पात्रहरूले प्रेम, प्रतीक्षा, परिवार र पुस्तान्तरणको संकेत दिएका छन्। पोस्टरहरूले ‘पेन्सन पट्टा’ पूर्वलाहुरेको जीवनमा मात्र केन्द्रित नभई नेपाली समाजका सम्बन्ध, संस्कार र मानवीय मूल्यको कथा भन्ने सिनेमा रहेको आभास गराउँछन्।
माओत्से गुरुङ फिल्म्सको ब्यानरमा निर्माण भएको सिनेमामा दयाहाङ राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, पुष्कर गुरुङ, पशुपति राई, अनुशा राई, लुनिभा तुलाधरलगायत कलाकारको अभिनय रहेको छ ।
सिनेमाको कथा तथा निर्देशन माओत्से गुरुङकै हो । सुशन प्रजापतिको छायांकन, केर डी. कोइच लिनुचको सम्पादन, राजेन्द्र मोक्तानको कलर, उत्तम न्यौपानेको साउन्ड डिजाइन तथा मनोज श्रेष्ठको भिएफएक्स रहेको छ । मिन कोन्मे गुरुङ, भोजबहादुर गुरुङ, माया गुरुङ र सपना गुरुङ निर्माताका रूपमा रहेका यस सिनेमालाई आरआर फिल्म्सले नेपालभर वितरण गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्