फिल्म ‘हिमालयन गोल्ड’ निर्माणको घोषणा

 

काठमाडौं, १३ कात्तिक । छायाँलय फिल्म्सले फिचर फिल्म ‘हिमालयन गोल्ड’ निर्माणको घोषणा गरेको छ । फिल्मको बुधबार काठमाडौंस्थित कमलादी गणेस्थानमा शुभमुहुर्त गरिएको थियो । ह्वाइट एलिफन्ट मोशन पिक्चरसँगको सहकार्यमा बन्ने यो फिल्मको छायांकन आगामी नोभेम्बरदेखि सुरु हुनेछ ।

हिमाली क्षेत्रको कठोर र भव्य परिवेशमा आधारित यस फिल्ममा परिक्षा लिम्बु, कर्मा, सुनील थापा, मेनुका प्रधान, साजन थापा मगर, अङ्कित खड्का, सुनील तामाङ, तेन्जिङ ठाकुरी, सबिता अधिकारी, ऋषिकेश बस्याल र राहुल मुखिया लगायत कलाकारको अभिनय रहनेछ ।

सन् १९९२ को पृष्ठभूमिमा तयार गरिएको फिल्ममा एक गाउँकी युवतीले यार्सागुम्बा संकलन गर्न हिमाल चढ्ने क्रममा निर्दयी लुटेरा समूहसँग सामना गर्नुपरेपछि सुरु हुने संघर्षको कथा पर्दामा प्रस्तुत गर्नेछ ।

यार्सागुम्बालाई औषधीय मूल्यका कारण ‘हिमालयन गोल्ड’का रूपमा चिनिन्छ । फिल्ममा हिमालय क्षेत्रलाई केवल दृश्य पृष्ठभूमि नभई एक जीवित पात्रका रूपमा चित्रण गरिने निर्माण पक्षले आज सिनेमा घोषणाका लागि जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ । फिल्ममा लेखन र निर्देशन धिराज राजवंशीको रहेको छ ।

राजवंशी लस एन्जलस फिल्म स्कूलका स्नातक हुन् । यो उनको पहिलो फिचर निर्देशन हो । छायालय फिल्म्सले नयाँ दृष्टिकोण र साहसिक सोचका कारण उनलाई निर्देशनको जिम्मेवारी सुम्पिएको जनाएको छ ।

फिल्मको छायांकन मुम्बईमा ‘कलंक’, ‘लस्ट स्टोरीज’ र ‘सस्पेक्ट’ जस्ता सिनेमामा काम गरिसकेका चर्चित छायाकार वशिष्ठ प्रधानले गर्ने भएका छन् । उनले हिमालयको भव्यता र मानवीय संवेदनशीलता दुबैलाई एकैपटक पर्दामा उतार्ने तयारी गरेका छन् ।

छायाँलय फिल्म्सले अर्थपूर्ण र मनोरञ्जनात्मक दुबै पक्ष समेटेर यो फिल्ममार्फत देशको कथा र सौन्दर्यलाई विश्वसामु पु¥याउने लक्ष्य राखेको जनाएको छ । कम्पनीका अनुसार ‘हिमालयन गोल्ड’ नेपाली माटोमा रोपिएको तर विश्वस्तरीय दृष्टिकोणमा सुनिने कथा बन्नेछ ।

फिल्मका लेखक–निर्देशक धिराज राजवंशीले ‘हिमालयन गोल्ड’लाई पहाडबाट जन्मिएको कथा भन्दै यसले सहनशीलता, क्षति र मानवीय आशाको नाजुक शक्ति देखाउने बताएका छन् ।

उनले भने, “यो फिल्ममार्फत हामी विश्वभरका दर्शकलाई यहाँका मानिस, भूपरिवेश र आत्माको सौन्दर्यबाट नेपालको मुटुको धड्कन महसुस गराउन चाहन्छौं।” निर्माण पक्षका अनुसार फिल्मले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने सम्भावना बोकेको छ ।

प्रतिक्रिया दिनुहोस्