काठमाडौँ, २६ पुस । फागुन २३ गतेबाट प्रदर्शनको तयारीमा रहेको सशान कँडेल निर्देशित फिल्म ‘होस्टेल ३’को श्रृंखलाबद्ध रुपमा पोस्टरहरू सार्वजनिक भइरहेका छन् । केही दिनअघि नयाँ प्रदर्शन मितिसहित सार्वजनिक फस्र्टलुक पोस्टरमा फिल्मका मुख्य अभिनेताहरू आशिष घिमिरे, पारस बम (कुल ब्वाई), रिहान गिरि र पदम तामाङ चित्रित थिए, जसमा उनीहरूको मित्रता दर्शाइएको थियो ।
अब दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । चार अभिनेतासहित तीन अभिनेत्रीहरु सिम्रन पन्त, हेना नगरकोटी र समा पराजुलीलाई पनि स्थान दिइएको पोस्टरमा सबै आ–आफ्नै धुनमा देखिन्छन् । कोही किताब पढिरहेका छन् भने कोही गितार बजाउँदै संगीतमा झुमेका छन् । क्याम्पस जीवनका सङ्घर्ष, मित्रता र रमाइलो क्षणलाई फिल्मले कथावस्तु बनाएको पोस्टरले संकेत गर्छ ।
निर्देशक कँडेल स्वयंको कथा तथा माधव शर्माको पटकथा एवं संवाद लेखन रहेको फिल्ममा उमर खान, सन्तोष बानियाँ, आशिष पुरुष, रोहन श्रेष्ठलगायतको पनि अभिनय छ । फिल्मको निर्माताहरु सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी तथा कार्यकारी निर्माता शङ्कर कोइराला हुन् । सह–निर्माताहरूमा शिशिर ज्ञवाली, कुन्दन गुप्ता र अनिस सिग्देल छन् ।
फिल्ममा अर्जुन तिवारी डिओपी, बुद्ध थापा र मनोज खत्री सिनेमाटोग्राफर, अर्जुन पोखरेल, अलमोडा राणा उप्रेती, महेश ज्ञवाली र किरण माइकलको संगीत, प्रवीण सिंह र रोशन विश्वकर्माको कोरियोग्राफी, विकास दाहालको सम्पादन र हिमाल केसीको द्वन्द्व छ । यसका अघिल्ला दुई श्रृंखला व्यावसायिक रुपमा सफल भएका थिए भने त्यसबाट उदाएका केही कलाकार ‘स्टार’ बनेका छन् ।
प्रतिक्रिया दिनुहोस्