अष्ट्रेलियाको समुन्द्री तटमा अभिनेत्री स्वस्तिमा खड्का ‘हट’ अवतारमा

 

काठमाडौं, २९ मंसिर । ‘दिमाग खराब’ प्रदर्शनका लागि अभिनेत्री स्वस्तिमा खड्का एक हप्ताअघि श्रीमान् तथा निर्देशक निश्चल बस्नेतको साथमा अष्ट्रेलिया पुगेकी हुन् । फिल्ममा साधारण महिलाको भूमिका निर्वाह गरेकी उनी अष्ट्रेलियाको समुन्द्री तटमा भने ‘हट’ बनेर देखिएकी छन् । अष्ट्रेलियास्थित क्रोनुल्ला बिचमा वान पिस स्विमसूटमा खिचेका तस्वीरहरु उनले इन्स्टाग्राममा सेअर गरेका छन्, जहाँ धेरैले ‘हट’ भन्दै तारिफ गरेका छन् ।

‘विवाह गरेपछि अभिनेत्रीको करिअर संकटमा पर्छ’ भन्ने भाष्यलाई गलत प्रमाणित गरिदिएकी स्वस्तिमा खड्का अहिले करिअरको हिसाबले आफ्ना समकालिनभन्दा अगाडि देखिएकी छन् । अभिनयमा परिपक्वता र चरित्र निर्माणमा गर्ने मिहिनेतले उनलाई अब्बल कोटीको अभिनेत्रीको रुपमा समेत चिनाएको छ । र, उनलाई फिल्मको व्यावसायिक सफलताले पनि राम्रैसँग साथ दिइरहेको छ ।

यस वर्ष मात्रै उनका दुई फिल्म हिट भैसकेका छन्, ‘पशुपति प्रसाद २ ः भष्मे डन’ र ‘दिमाग खराब’ । दुवैमा उनले जीवन्त रुपमा गरेको अभिनयको चर्चा भयो । गत भदौमा आएको ‘ऐंचो पैंचो’ले भने हिस्सै बनायो । अभिनयको समेत चर्चा भएन । यी तीन फिल्म लगातार प्रदर्शनमा आएकाले स्वस्तिमालाई राम्रै दौडधुप भएको थियो । यसैले यतिबेला उनले अष्ट्रेलियामा थकाई मारिरहेकी छन् ।

उनी अष्ट्रेलियाबाट फर्किएपछि ‘दिमाग खराब’ प्रदर्शनकै लागि अमेरिका पनि जान लागेको जानकारी प्राप्त छ । विदेश भ्रमणका लागि उनले तीन महिनाको समय छुट्ट्याएकी छन् । त्यसपछि मात्र नयाँ फिल्म सम्झौता गर्ने उनको तयारी छ । केही मेकर उनको प्रतिक्षामा स्क्रिप्ट बोकेर बसेका छन् । स्वस्तिमाको नामैले फिल्म चल्ने अवस्था नभए पनि उनीप्रति मेकरको विश्वास अद्भुत छ ।

प्रतिक्रिया दिनुहोस्