काठमाडौं, १३ साउन । फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’को छायांकन काठमाडौंबाट औपचारिक रूपमा सुरु भएको छ । निर्माण टिमले काठमाडौंको नैकापस्थित वेस्ट सिटी अस्पतालमा पहिलो दृश्य खिच्दै सिनेमाको छायांकन शुभारम्भ गरेको हो ।
निर्माण पक्षका अनुसार सिनेमाको सम्पूर्ण छायांकन काठमाडौं उपत्यका र आसपासका विभिन्न स्थानमा गरिनेछ । कथा र दृश्य संरचनाअनुसार राजधानीका विभिन्न लोकेसन छनोट गरिएको जनाइएको छ । छायांकनको जिम्मेवारी सिनेमाटोग्राफर संकल भुजेलले सम्हाल्नु भएको छ । आधुनिक प्रविधि र आकर्षक दृश्य संयोजनमार्फत सिनेमालाई दर्शकमाझ प्रस्तुत गर्ने तयारी भइरहेको निर्माण टोलीको भनाइ छ ।
रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको यो सिनेमाको कथा, पटकथा तथा निर्देशन अमरदीप सापकोटाले गर्नुहुने छ । लामो समयसम्म नेपाली चलचित्र क्षेत्रलाई पत्रकारितामार्फत नजिकबाट नियाल्दै आउनु भएको सापकोटाले आफ्नो अनुभवलाई सिर्जनात्मक रूपमा पर्दामा उतार्ने उद्देश्यसहित निर्देशनमा पाइला चालेका हुन् । उहाँले पत्रकारिताबाट प्राप्त अनुभवले सिनेमाको विषयवस्तु, पात्र चयन र प्रस्तुतीकरणमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो ।
निर्देशक सापकोटाका अनुसार ‘तीन तीघ्रे क्या बिग्रे’ पूर्ण रूपमा मनोरञ्जनप्रधान कमेडी सिनेमा हुनेछ । उहाँले दर्शकलाई सुरुदेखि अन्त्यसम्म हँसाउने मात्र होइन, सामाजिक व्यंग्य र पारिवारिक सम्बन्धका विविध पाटालाई पनि रोचक शैलीमा प्रस्तुत गरिने बताउनु भयो । हास्यरससँगै समसामयिक सामाजिक परिवेशलाई हल्का व्यंग्यात्मक शैलीमा चित्रण गरिने भएकाले सबै उमेर समूहका दर्शकले सिनेमासँग आत्मीयता महसुस गर्ने उहाँको विश्वास छ ।
सिनेमाका कार्यकारी निर्माता निरज नेपाल रह्नु भएको छ । निर्माण व्यवस्थापन, कलाकार समन्वयदेखि छायांकन तालिकासम्मका सबै काम योजनाअनुसार अघि बढिरहेको निर्माण टिमले जनाएको छ । निर्धारित समयभित्र छायांकन सम्पन्न गरी पोस्ट–प्रोडक्सनका काम सुरु गर्ने तयारी समेत गरिएको छ ।
कलाकारको दृष्टिले पनि यो सिनेमा विविध अनुहारहरूको संगम बनेको छ । चर्चित लोकगायक पशुपति शर्मा यस सिनेमाबाट अभिनयमा देखिँदै हुनुहुन्छ । त्यस्तै चर्चित गायिका अञ्जु पन्तकी छोरी परितोषिका पन्त पनि महत्वपूर्ण भूमिकामा रह्ने जनाइएको छ ।
साथै समिया कार्की, प्रभात लामा, पृथ्वीराज प्रसाईं, सिर्जना कोइराला, प्रजल दुलाल, गौतम महत, निरज नेपाल, लेखान्त भुषाल, बिरबल घले, सुनिल कटुवाल, निशान थापा, रविन बिमली, नारायण बिक, विनोद केसी, लीसा क्षेत्री, सुरेश तिमल्सिना, राजु तिमल्सिना, आयुष्मा गिरी तथा पवन खतिवडा (बाबा) लगायतका कलाकारहरूको अभिनय रहने जनाइएको छ ।
निर्माण टोलीका अनुसार अनुभवी र नयाँ पुस्ताका कलाकारलाई एउटै कथामा समेटेर फरक स्वादको मनोरञ्जन दिन खोजिएको हो । प्रत्येक पात्रको आफ्नै भूमिका र कथासँग प्रत्यक्ष सम्बन्ध रहने भएकाले कलाकारहरूको उपस्थितिलाई केवल भीडका रूपमा नभई कथाको अभिन्न अङ्गका रूपमा प्रस्तुत गरिने जनाइएको छ । निर्माण टिमले छायांकन सम्पन्न भएपछि प्रदर्शन मिति सार्वजनिक गर्ने जनाएको छ ।
पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा कमेडी विधाका सिनेमाप्रति दर्शकको आकर्षण बढिरहेका बेला ‘तीन तीघ्रे क्या बिग्रे’ पनि त्यसै धारको नयाँ प्रस्तुति बन्ने अपेक्षा गरिएको छ । निर्माण पक्षले पारिवारिक वातावरणमा बसेर हेर्न मिल्ने मनोरञ्जनात्मक सिनेमा बनाउने लक्ष्य लिएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्