फिल्म ‘एक्टर’मा कलाकारबीच सहकार्य, प्रदीपको जोडी स्वस्तिमा

 

काठमाडौं, २ पुस । फिल्म ‘एक्टर’मा नाम चलेकै कलाकारबीच सहकार्यको सम्भावना देखिएको छ । नेपाली कलाकारहरु एकआपसमा मिलेर काम गर्दैनन् भन्ने चर्चा भैरहेको समयमा अहिले केही फिल्ममा स्थापित कलाकारहरुबीच सहकार्यको प्रयास भैरहेको छ । फिल्म ‘पूजार सार्की’मा तीन स्टारहरु आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले पहिलोपटक एकसाथ काम गर्दैछन् । अब प्रदीपको अर्को फिल्म ‘एक्टर’मा पनि नाम चलेकै कलाकारबीच सहकार्यको सम्भावना देखिएको छ ।

फिल्ममा प्रदीपको जोडी अभिनेत्री स्वस्तिमा खड्कासँग बाँध्ने प्रयास भैरहेको छ । अहिले स्वस्तिमा अष्ट्रेलियामा रहेकाले कुराकानी अगाडि बढ्न पाएको छैन । निर्माण टिमको पहिलो रोजाईमा उनी छिन् । उनी नेपाल फिरेपछि फिल्म अफर गर्ने तयारी गरिएको छ । स्वस्तिमाका श्रीमान् तथा निर्देशक निश्चल बस्नेतलाई पनि एउटा महत्त्वपूर्ण भूमिकामा लिने प्रयास भइरहेको स्रोतको दाबी छ ।

अभिनेता सौगात मल्लको पनि फिल्ममा अभिनय रहने सम्भावना छ । उनीसँग निर्देशक राजन भुषालसँग भद्र सहमति भइसकेको स्रोतले जानकारी दिएको छ । कागजी सम्झौता भने एउटा कुराले अड्किएको छ । सौगातलाई अर्को वर्षसम्म समय मिलाउन निकै सकस छ । उनको पाइपलाइनमा एक दर्जनभन्दा बढी फिल्म छन् । सेड्युल मिल्न सकेको अवस्थामा उनी ‘एक्टर’मा जोडिनेछन् ।

फिल्मको केमियो भूमिकामा समेत स्थापित कलाकारलाई लिने तयारीमा निर्माण टिम छ । अर्धृत फिल्मसको ब्यानरमा थमन कुमार भण्डारीको निर्माण रहने फिल्मको अर्को वर्ष छायांकन हुनेछ । र, २०२५ मा प्रदर्शन लक्ष्य राखिएको छ । यो फिल्मभन्दा अगाडि प्रदीपले निर्देशक दिनेश राउतको फिल्म ‘पूजार सार्की’ तथा हिन्दीसहित नेपाली भाषामा बन्न लागेको फिल्म ‘ऐरी’मा काम गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्