फिल्म ‘परदेशी २’ असोज २६ गतेबाट प्रदर्शनमा आउने, प्रचार प्रसारमा तिब्रता

काठमाडौं, २२ असोज । असोज २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘परदेशी २’ले प्रचारमा कुनै कसर छाडेको छैन । फिल्म बनाउनुभन्दा ठूलो संघर्ष निर्माताले प्रचारमा गर्नुपर्छ । किनकि, प्रचारले नै फिल्मलाई दर्शकमाझ पु¥याउने हो । यसैले फिल्म रिलिजको संघारमा हुँदा निर्माताले प्रचारमा साम–दाम सबै प्रयोग गर्छन् । निर्माण टिमले हरेक उमेर समुहका दर्शकहरुमाझ पुग्ने प्रयास गरिरहेको छ ।

फिल्मको कथामा गीति नाटक तयार पारेर काठमाडौं र मोफसलका विभिन्न कलेजहरुमा देखाइसकिएको छ । अब प्रचारका लागि महायज्ञ समेत उम्काइएको छैन । भक्तपुरको चाँगुनारायणस्थित ताथलीमा जारी श्रीमद्भागवत सप्ताह महायज्ञमा शनिबार निर्देशक नारायण रायमाझी, अभिनेता प्रकाश सपूत, अभिनेत्रीद्वय केकी अधिकारी र वर्षा सिवाकोटी ‘परदेशी २’को प्रचार गर्न पुगेका थिए ।

करिब १५ सय भक्तालुहरुको उपस्थिति रहेको महायज्ञमा फिल्मको टिमलाई बाजागाजासहित दूबो र फूलको माला लगाएर स्वागत गरिएको थियो । महायज्ञमा निर्देशक रायमाझी र अभिनेता सपूतले सांगीतिक प्रस्तुति समेत दिएका थिए । उनीहरुले हरेक घरको कथामा फिल्म बनेकाले माया गरिदिन आग्रह गरे । केकी र वर्षाले भने फिल्म मनछुने रहेको र सबैलाई मनपर्ने विश्वास व्यक्त गरे ।

फिल्ममा प्रशान्त तामाङ, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, सबिन बास्तोला, देवेन्द्र बब्लु, रोशनी कार्कीको पनि अभिनय छ । रमेश बिजीले कथा एवं पटकथा लेखन रहेको फिल्मले अध्ययनका लागि विदेशिन बाध्य युवा र सन्तान विदेशिँदा बुढेसकाल लागेका आमाबुवाले भोग्ने पीडालाई प्रस्तुत गर्छ । राजेश वंशल र निर्देशक रायमाझीले संयुक्त रुपमा फिल्मको निर्माण गरेका हुन् ।

यसैगरी, ‘जात्रा’ र ‘जात्रै जात्रा’को सफलताले बनेको ‘ब्रान्ड भ्यालु’का कारण यसको तेस्रो सिक्वेल ‘महाजात्रा’को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार प्रि–प्रोडक्सन अर्थात् छायांकन हुनुभन्दा अगावै बिक्री भएको छ । अष्ट्रेलियामा रहेर नेपाली फिल्मको विश्व प्रदर्शन अधिकार खरिद गरिरहेको एमएसएम इन्टरटेन्मेन्टका वितरक छत्र थापाले भारतबाहेक फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार खरिद गरेका हुन् ।

कथाले पूर्णता नपाउँदै फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार खरिद गर्नुलाई ‘जात्रा’ सिरिजप्रतिको विश्वास रहेको उनको भनाई छ । उनले भने, ‘यसको दुवै श्रृंखलाले दर्शकको मन जितेको थियो । अन्य फिल्मको प्रदर्शन हुँदा समेत ‘जात्रा’को आगामी श्रृंखलाबारे धेरैले चासो राखेको पाइन्छ । त्यही कारण मैले कथा लेखनकै चरणबाट फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार खरिद गरेको हुँ ।’

वितरक थापाले जापान, हङ्गकङ्ग, न्युजिल्यान्ड, दक्षिण कोरिया, मध्यपूर्वका देशहरू, अष्ट्रेलिया, युरोपमा नेपालकै मिति अर्थात् चैत ९ गतेबाट फिल्म प्रदर्शन हुने जानकारी दिए । ‘महाजात्रा’बाट केही नयाँ देशहरुमा नियमित नेपाली फिल्म प्रदर्शनको सुरुवात हुन लागेको समेत उनले बताए । उनले फिल्मका लागि २ करोड रुपैयाँ तिरेको स्रोतको दाबी छ । यो अहिलेसम्मकै उच्चतम मूल्य हो ।

प्रदीप भट्टराईको निर्देशनमा बन्न लागेको यस फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्र सिंह बानियाँ, वर्षा राउत, रविन्द्र झा, अरविन खड्कालगायतको मुख्य भूमिका रहनेछ । कलाकार बानियाँ कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल छन् । निर्देशक भट्टराई स्वयंको लेखन रहेको फिल्मको छायांकन दशैं सकिएलगत्तै सुरु हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्