पछिल्लो समय नयाँ उत्साहमा नेपाली फिल्म उद्योग

 

काठमाडौं, २५ वैशाख । नेपाली फिल्म उद्योग पछिल्लो समय फेरि एकपटक उत्साहपूर्ण गतिविधिले भरिन थालेको छ । केही वर्षअघिसम्म सीमित निर्माण र प्रदर्शनको दबाब झेलिरहेको चलचित्र क्षेत्र अहिले नयाँ लगानी, नयाँ कथा र व्यावसायिक आशासहित पुनः सक्रिय देखिएको हो ।

यतिबेला आधा दर्जनभन्दा बढी फिल्म छायाङ्कनमा छन् भने करिब एक दर्जन चलचित्र निर्माण घोषणा गरेर फ्लोरमा जाने तयारी भइरहेको अवस्था छ ।

निर्माता तथा निर्देशकहरूले दर्शकको बदलिँदो रुचिलाई ध्यानमा राख्दै प्रेमकथा, सामाजिक कथा, पारिवारिक द्वन्द्वदेखि व्यावसायिक मनोरञ्जनसम्मका विविध विषयमा फिल्म निर्माण अघि बढाइरहेका छन् ।

यसले नेपाली चलचित्र उद्योग फेरि चलायमान बन्दै गएको संकेत गरेको फिल्मकर्मीहरूको बुझाइ छ ।यही क्रममा निर्देशक चन्द्र पन्तको निर्देशन रहने फिल्म ‘आबाट आमा २’ निर्माण तयारीमा छ । केही वर्षअघि प्रदर्शन भएको चर्चित फिल्म ‘आबाट आमा’को सिक्वेलका रूपमा निर्माण हुन लागेको यो फिल्मको सोमबार ललितपुरस्थित बंगलामुखी मन्दिरमा शुभमुहूर्त गरिएको हो ।

त्यसैगरी निर्देशक घनश्याम लामिछानेको नयाँ फिल्म ‘तिमी मेरो म तिम्रो’ पनि निर्माण प्रक्रियामा अघि बढेको छ ।

केही दिनअघि काठमाडौंमा औपचारिक कार्यक्रम गर्दै निर्माण घोषणा गरिएको फिल्म शुद्ध प्रेमकथामा आधारित रहने बताइएको छ ।फिल्ममा नेपाल र अस्ट्रेलियाबीचको सहकार्य पनि रहनेछ ।
आस्प इन्टरटेनमेन्ट अस्ट्रेलियाको सहकार्यमा बन्न लागेको यो चलचित्रलाई चर्चित छायाङ्कन निर्देशक नरेन्द्र मैनालीले खिच्नेछन् ।

निर्माण पक्षले फिल्मलाई भावनात्मक र दृश्यात्मक रूपमा सशक्त बनाउने तयारी गरेको जनाएको छ ।उता अभिनेत्री तथा निर्मात्री केकी अधिकारीले पनि नयाँ फिल्म ‘स्टेसन’ निर्माण प्रक्रिया अघि बढाएकी छन् । वर्ष २०८१ को सुरुवातमै ‘बोक्सीको घर’मार्फत उल्लेखनीय व्यावसायिक सफलता हासिल गरेपछि केकीले अर्को परियोजनाका रूपमा ‘स्टेसन’ अघि सारेकी हुन् ।

केही दिनअघि शुभमुहूर्त गरिएको फिल्मलाई ‘बोक्सीको घर’का निर्देशक सुलक्षण भारतीले निर्देशन गर्नेछन् । सामाजिक विषयवस्तुमा आधारित भनिएको फिल्मले समकालीन समाजका विविध पक्षलाई उठान गर्ने अपेक्षा गरिएको छ । निर्माण टिमका अनुसार फिल्म आगामी भदौ १९ गते प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।

यसैबीच निर्देशक विनयराज पौडेलको निर्देशनमा बन्न लागेको फिल्म ‘अक्षरा’ पनि फ्लोर तयारीमा पुगेको छ । केही दिनअघि गुहेश्वरी मन्दिरमा स्क्रिप्ट पूजा गर्दै शुभमुहूर्त गरिएको फिल्म सामाजिक तथा पारिवारिक कथामा आधारित रहने बताइएको छ ।यस्तै ठूलो कलाकार समूहसहित निर्माण हुन लागेको फिल्म ‘महाराजधिराज’ पनि अहिले चर्चामा छ ।

मंगलबार बिहान बंगलामुखी मन्दिरमा शुभमुहूर्त गरिएको यो फिल्मलाई निर्देशक परिच्छेद सेनले निर्देशन गर्दैछन् । निर्माण टिमका अनुसार फिल्मको छायाङ्कन वैशाख २५ गतेदेखि सुनसरीको श्रीलंका टापुबाट सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्