काठमाडौं, १६ असार । निर्देशक अशोक थापा मगरको दोस्रो निर्देशकीय सिनेमा ‘जलाकी’ आगामी मंसिर ४ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ । सुपरहिट सिनेमा ‘खुस्मा’पछि उनी नयाँ कथासहित दर्शकमाझ आउन लागेका हुन् । असार १५ निर्माण टिमले प्रदर्शन मिति घोषणा गर्दै सिनेमाका दुई आधिकारिक पोस्टर पनि सार्वजनिक गरेको छ ।
सार्वजनिक गरिएका पोस्टरमा मुख्य कलाकार सोनम तोप्देन र उपासना सिंह ठकुरीलाई फरक–फरक भावमा प्रस्तुत गरिएको छ । ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेनको डिजाइन रहेको यो पोस्टरले सिनेमाको प्रेमकथा र भावनात्मक पक्षलाई संकेत गर्छन् । पहिलो पोस्टरमा सोनम र उपासना रोमान्टिक तथा खुसी मुद्रामा देखिएका छन् । उनीहरूबीचको आत्मीयता, विश्वास र प्रेमलाई केन्द्रमा राखिएको यो पोस्टरले सिनेमाको उज्यालो पक्ष प्रस्तुत गर्छ ।
दोस्रो पोस्टर भने पहिलोभन्दा भिन्न छ । यसमा दुवै कलाकार गम्भीर र भावुक मुद्रामा देखिएका छन् ।
उनीहरूबीचको मौनता, पीडा र भावनात्मक द्वन्द्वलाई चित्रण गरिएको पोस्टरले कथामा आउने संघर्ष र उतारचढावको झल्को दिन्छ । यसले सिनेमाको कथा केवल प्रेममा सीमित नरही सम्बन्ध, संस्कार र भावनात्मक यात्रामा आधारित रहेको संकेत पनि गरेको छ ।
निर्देशक अशोक थापा मगरका अनुसार ‘जलाकी’ शीर्षक आफैंमा मगर समुदायसँग जोडिएको सांस्कृतिक प्रतीक हो । मगर समुदायमा ढुङ्गाले बनाइएको स्तम्भलाई ‘जलाकी’ भनिन्छ, जसलाई आस्था, सम्झना र मायाको प्रतीकका रूपमा लिइन्छ । यही सांस्कृतिक आधारलाई केन्द्रमा राखेर मगर र गुरुङ समुदायको संस्कृति, परम्परा, जीवनशैली र भावनालाई सिनेमामार्फत प्रस्तुत गरिएको निर्देशक मगरले बताउनु भयो ।
एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमामा सोनम तोप्देन र उपासना सिंह ठकुरीसँगै शिल्पा मास्के, माओत्से गरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, रजनी गरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्क बहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर र दुइसाङ थिनको अभिनय रहेको छ । यसका साथै क्याप्टेन विजय लामा विशेष भूमिकामा हुनुहुन्छ भने बाल कलाकारका रूपमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा र रिन्सी धनहा मगरको अभिनय रहेको छ ।
निर्देशक अशोक थापा मगर र अभिनेत्री उपासना सिंह ठकुरीको सहकार्य यसअघि ‘खुस्मा’मा पनि रहेको थियो । उक्त सिनेमामा गरेको अभिनयका लागि उपासनाले राष्ट्रिय चलचित्र पुरस्कारअन्तर्गत उत्कृष्ट अभिनेत्रीको सम्मान प्राप्त गर्नुभएको थियो ।
सिनेमाका निर्मातामा ओम घर्ति मगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन् । शैलेन्द्र डी. कार्कीको छायांकन रहेको सिनेमामा एसडी योगी र सरित राईको संगीत छ भने सुरेन्द्र राना र राम अविरल विष्टले गीत लेखन रहेको छ । गीतमा एसडी योगी, अन्जु पन्त, मेलिना राई, रेश्मी पुन मगर र गीताञ्जली थापा मगरको स्वर रहेको छ ।
निर्देशक मगरको डेब्यु सिनेमा ‘खुस्मा’ले व्यावसायिक सफलता हासिल गर्नुका साथै त्यसमा समावेश ‘रुकुम मैकोट’ बोलको गीत सामाजिक सञ्जाल टिकटक, फेसबुक रिल्स र युट्युबमा निकै लोकप्रिय बनेको थियो । सोही सफलतालाई निरन्तरता दिने लक्ष्यसहित निर्माण गरिएको ‘जलाकी’ले पनि नेपाली मौलिक संस्कृति र प्रेमकथामार्फत दर्शकको मन जित्ने निर्माण पक्षको अपेक्षा छ । सिनेमालाई गोविन्द शाहीको काफिया फिल्म्स र कुवेर सिने डिस्ट्रिब्युसनले देशभर वितरण गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस्