लभस्टोरी जनरामा बनेको फिल्म ‘दुई कदम’ मंसिर २९ गतेबाट प्रदर्शनमा आउने

 

काठमाडौं, २७ मंसिर । लभस्टोरी जनरामा बनेको फिल्म ‘दुई कदम’ मंसिर २९ गतेबाट प्रदर्शनमा आउने भएको छ । नेपाली फिल्ममा नयाँ अनुहारको प्रवेश बढिरहेको समयमा यही मंसिर २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘दुई कदम’बाट अभिनेतामा इओन लिम्बु र अभिनेत्रीमा सिमोन गिरीले डेब्यू गरेका छन् । फिल्मको कथा नै उनीहरुमा केन्द्रित छ ।

पहिलो फिल्म भएकाले दुवैमा दर्शकको प्रतिक्रिया कस्तो आउँछ भन्ने कुराले राम्रै डर पैदा गरिरहेको छ । तर पनि उनीहरु उत्साहित देखिन्छन् ।
सिमोनलाई बाल्यकालदेखि नै अभिनयप्रति ठूलो रुचि थियो । पर्दामा अरु कलाकारको अभिनय देख्दा उनमा पनि हुटहुटी जाग्थ्यो । फिल्ममा डेब्यू गर्नुअघि अभिनय सजिलो हुन्छ भन्ने उनको बुझाई रहेछ । तर, आफैंले काम गरेपछि उनको अनुभव फरक रह्यो । सोचेकोजस्तो सजिलो आफैंले अभिनय गर्दा नहुने उनी बताउँछिन् । अहिले उनले अभिनय गर्नु गाह्रो काम हो भन्ने बुझेकी छन् ।

उनले सञ्चारकर्मीसँग एक भेटमा भनेकी छन्, ‘पर्दामा अरुको अभिनय हेर्दा र आफैंले गर्दा फरक अनुभव हुने रहेछ । पर्दामा अरु कलाकारलाई हेर्दा म पनि अभिनय गर्न सकिहाल्छु नि भन्ने लाग्थ्यो । तर, अभिनय अरुको हेर्दा जति सजिलो हुन्छ, आफैंले गर्दा गाह्रो हुने रैछ । अनि, मैले अर्को बुझेको कुरा भनेको चाहिँ फिल्म टिमवर्क रहेछ । सबैको मिहिनेतले मात्र फिल्म राम्रो बन्ने रहेछ ।’

पहिलो फिल्म भएकाले उनी ‘दुई कदम’ आफ्नो लागि एकदमै विशेष मान्छिन् । ‘यो फिल्मबाट मेरो एउटा सपना पूरा भएको छ । यही फिल्मबाट मैले धेरै कुरा सिक्न पाएकी छु । र, करिअरलाई अगाडि बढाउन यो फिल्मले ठूलो मद्दत गर्छ भन्नेमा विश्वस्त छु,’ उनले भनेकी छन् । स्वस्तिमा खड्का र प्रियंका कार्कीबाट प्रभावित रहेकी उनले अब अभिनयमै सक्रिय हुने अठोट लिएकी छन् ।

इओन भने ‘दुई कदम’लाई युवापुस्ताको प्रेमकथा भन्न रुचाउँछन् । ‘फिल्मको जनरा लभस्टोरी हो । शहरीया वातावरणमा हुर्किएका युवापुस्ताको प्रेमकथामा फिल्म बनेको छ । फिल्ममा कमेडी र एक्सन पनि छ । पूर्वदेखि पश्चिमसम्मका रमणीय दृश्यहरु पनि छन् । भेट्रान कलाकारहरुको पनि छुट्टै फ्लेवर छ । समग्रमा एउटा राम्रो पारिवारिक फिल्म बनेको छ भन्ने मलाई लाग्छ,’ लिम्बुले भने ।

उदय सुब्बा निर्देशित फिल्ममा इओन र सिमोनको साथै सुनिल थापा, कविता आले, सुरवीर पन्डित, प्रेम सुब्बा, गौरव पहारी, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बु, जिवन लिम्बु, चन्दा दाहाल, प्रितिका शर्माको पनि अभिनय रहेको छ । अजम्बरी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा तारा देवी लिम्बुको एकल लगानी रहेको छ । फिल्मलाई विक्रम डिसीले छायांकन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्