काठमाडौं, २ जेठ । नेपाली चलचित्र ‘एलिफेन्ट्स इन द फग’ अन्तर्राष्ट्रिय चलचित्र वृत्तमा चर्चाको विषय बनेको छ । विश्वकै प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा प्रदर्शन हुन लागेको यस चलचित्रको झलक सार्वजनिक भएसँगै यसको कथा, प्रस्तुति र कलाकारहरूको अभिनयबारे चासो बढेको हो । आगामी २० मेमा कान्स अन्तर्गतको ‘अन सर्टेन रिगार्ड’ विधामा प्रदर्शन हुने यो चलचित्र नेपाली चलचित्र क्षेत्रका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।
निर्देशक अभिनाश विक्रम शाहले निर्माण गरेको यो पहिलो दीर्घ चलचित्र हो । यसअघि उनले निर्देशन गरेको लघु चलचित्र ‘लोरी’ले सन् २०२२ मा कान्स फिल्म फेस्टिभलमकै लघु चलचित्र प्रतिस्पर्धामा विशेष सम्मान प्राप्त गरेको थियो । त्यही सफलतापछि शाहको नयाँ चलचित्र ‘एलिफेन्ट्स इन द फग’ले पनि अन्तर्राष्ट्रिय दर्शकमाझ अपेक्षा बढाएको छ ।
सार्वजनिक झलकले जंगलको बीचमा रहेको गाउँको जीवन, जंगली हात्तीको त्रास र हराएकी छोरीको खोजीमा संघर्षरत आमाको कथालाई केन्द्रमा राखेको देखिन्छ । चलचित्रमा एकातिर प्रकृतिसँग जुधिरहेको ग्रामीण जीवन चित्रण गरिएको छ भने अर्कोतर्फ समाजभित्र रहेका विभेद र पीडालाई पनि उठाइएको संकेत गरिएको छ ।
विशेषगरी हात्तीले गाउँमा मच्चाएको आतंक र त्यसबाट जोगिन गाउँलेहरूले गरेको प्रयासलाई चलचित्रले जीवन्त रूपमा प्रस्तुत गरेको देखिन्छ । जंगल नजिकका बस्तीमा बसोबास गर्ने नागरिकले भोग्नुपरेका वास्तविक समस्यालाई चलचित्रले कथाको आधार बनाएको अनुमान गरिएको छ ।
त्यससँगै चलचित्रले किन्नर समुदायमाथि समाजले गर्ने व्यवहार र उनीहरूले भोग्नुपरेका कठिनाइलाई पनि समेटेको संकेत झलकले दिएको छ । नेपाली समाजमा अझै पनि खुला रूपमा छलफल हुन नसकेका विषयलाई चलचित्रले संवेदनशील ढंगले प्रस्तुत गर्ने प्रयास गरेको देखिन्छ ।
चलचित्रमा वरिष्ठ अभिनेत्री गौरी मल्ल मुख्य भूमिकामा देखिएकी छन् । लामो समयपछि अन्तर्राष्ट्रिय स्तरको चलचित्रमार्फत उनी दर्शकमाझ आउन लागेकी हुन् । झलकमा उनको भावनात्मक अभिनयलाई विशेष रूपमा प्रस्तुत गरिएको छ ।
यस चलचित्रमा माओत्से गुरुङ्ग, पुष्पा थिन, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, जोएल गुरुङ, उमेश पाण्डे, शान्ति गिरी, संजय गुप्ता दुरा, महिमा नवबाग तथा आशान्त शर्मालगायत कलाकारहरूको अभिनय हेर्न सकिन्छ ।
चलचित्रका निर्माता अनुप पौडेल, कुमुदिनी गुरुङ श्रेष्ठ, सोहम ढकाल र प्रचण्डमान श्रेष्ठ हुन् ।
निर्माण पक्षका अनुसार चलचित्रलाई नेपालसहित विभिन्न देशमा प्रदर्शन गर्ने तयारी भइरहेको छ । चलचित्रको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार फ्रान्सेली संस्था ‘बेस्ट फ्रेन्ड फरेभर’ले प्राप्त गरिसकेको छ ।
नेपालमा ‘द टी फोक्स फिल्म्स’ले प्रदर्शन गर्ने चलचित्र फ्रान्स, जर्मनी, अस्ट्रिया र ब्राजिललगायत देशमा पनि प्रदर्शन गरिने भएको छ । चलचित्रको अन्तर्राष्ट्रिय बजार विस्तारसँगै नेपाली चलचित्रले विश्व बजारमा थप पहिचान बनाउने अपेक्षा गरिएको छ ।
निर्देशक शाहले यसअघि चर्चित नेपाली चलचित्र शाम्बालाको कथा लेखनमा समेत सहकार्य गरेका थिए । उनले ‘एलिफेन्ट्स इन द फग’लाई नेपाली समाज, प्रकृति र मानवीय संवेदनासँग जोडिएको कथाका रूपमा प्रस्तुत गरेका छन् ।
पछिल्ला केही वर्षयता नेपाली चलचित्रले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा उल्लेखनीय उपस्थिति जनाइरहेका छन् ।
यही क्रममा ‘एलिफेन्ट्स इन द फग’ले पनि नेपाली चलचित्र उद्योगलाई नयाँ उचाइमा पु¥याउने विश्वास गरिएको छ । निर्देशक शाहले चलचित्रलाई यही वर्ष नेपालमा पनि प्रदर्शन गर्ने तयारी भइरहेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्