नेत्रप्रसाद न्यौपाने
काठमाडौ, २० असार । मिश्रको सभ्यता नाइल नदी र सिन्धु सभ्यता सिन्धु नदीको किनारबाट भए जस्तै नेपालको सभ्यता पनि बाग्मती नदीको किनारबाट भएको मानिन्छ । त्यसैले बाग्मतीसँग मानब सभ्यता जोडिएको छ । बाग्मती नदीलाई गंगा नदी भन्दा सय गुणा पवित्र मानिन्छ । शास्त्रमा बाग्मती नदीलाई महानदीमा गणना गरेको पाइन्छ ।
वाग्मती र यसका सहायक नदीहरुलाई स्वच्छ ,सफा, प्रदुषणमूक्त बनाउने र नदी क्षेत्र वरपरको ठोस फोहर हटाउने, नदीक्षेत्रमा फोहर फाल्न निरुत्साहित गरी नदीक्षेत्र वरिपरिको प्राकृतिक, सांस्कृतिक, धार्मिक सम्पदाहरु एवं सामाजिक सभ्यताको संरक्षण र सम्वद्र्धन गरी काठमाडौ उपत्यकाको पहिचानलाइ कायम राख्ने गरी हाम्रो बाग्मती राम्रो बाग्मती बनाउन “बाग्मती नदी सरसफाइ तथा संरक्षण अभियान २०६९” शुरु गरिएको थियो ।
सिमित सरकारी केही निकायहरुले मात्र गरिरहेको उक्त सरसफाइ कार्यक्रमलाई स्वयंसेवी कार्यक्रम“वाग्मती सरसफाइ महाअभियान सञ्चालन २०७० जेठ ५ गतेबाट शुरु भएको र यो अभियान १४ बर्षमा प्रवेश गरेको छ । उक्त सरसफाई अभियानबाट प्रभावित भइ उपत्यका भित्र विष्णुमती, मनोहरा, धोविखोला र नख्खु खोला तथा उपत्यका बाहिर विभिन्न स्थानहरुमा सरसफाइ अभियान संचालन भइरहेका छन् । वायू प्रदुषणको कारण नेपालमा वर्षेनी २२ हजारभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ ।
त्यसैगरी, वायू प्रदुषणको कारण कुल ग्रार्हस्थ्य उत्पादनको करिब ५ प्रतिशत आर्थिक नोक्सान समेत हुनेगरेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार काठमाडौं संसारका प्रदुषित शहरहरु मध्येमा पर्दछ । वायू प्रदुषणले मानिसको बाच्न पाउन अधिकार हनन भएको छ । जनचेतनाको कमीको कारण बाग्मती लगायतका नदीहरु फोहर भएका छन् ।
प्रत्येक शनिवार विहान ७ बजे देखि ९ बजेसम्म बाग्मती सफाई अभियान हुने गरेको छ । बाग्मती लगायत विष्णुमति र मनोहरा नदीमा पनि सफाई अभियान चालु छ । सरकारी तथा गैर सरकारी, अभियान्ता, स्वयंमसेवक, नागरिक समाज,स्कुल, कलेज, कुटनीतिक नियोग, नेपाली सेना, नेपाल प्रहरी लगायत धेरै संघ संस्थाले नदी सफाई अभियानलाई साथ दिइरहेका छन् ।
हाल सम्म गोर्कण, गुह्येश्वरी, तिलगंगा, शंखमुल, मनोहरा दोभानसम्मको नदीक्षेत्र पुरै ढल मुक्त भएको छ । बाग्मतीलाई पुरै ढलमुक्त बनाउन केही समय लाग्ने भएको छ । बाग्मतीसँग जोडिएका सहायक नदीहरुलाई पनि ढलमुक्त बनाए मात्र बागमती ढल मुक्त हुनसक्छ ।
बाग्मतीलाई स्वच्छ, सफा, हराभरा, जीवन्त नदी बनाउन विभिन्न निकायले काम गरिरहेका छन् । नदीमा सिधै ढल मिसाउनु, नदी किनारामा ठोस फोहर थुपारिनु, मुहानमा पानी घट्दै जानु, पानीको बहाबमा कमी आउनु, नदी अतिक्रमणमा परी नदीको भाग साँघुरो हुनुले बागमती दुषित बन्दै गएको छ । बाग्मती सफाई अभियानमा जुट्नको लागि अभियानकर्मी किशोरसिंह शाहीले आग्रह गर्नुभएको छ ।
बाग्मती नदी उच्च धार्मिक तथा सांस्कृतिक मूल्य र मान्यता बोकेको काठमाडौ उपत्यका भित्रको एक महत्वपूर्ण र प्रमुख नदी हो । बाग्मती नदीका अन्य ९ वटा सहायक नदीहरुमा मनोहरा, हनुमन्ते, कोड्कु, नख्खु, गोदावरी, वल्खु, विष्णुमती, मनमती र रुद्रमती हुन् । काठमाडौ उपत्यकाका धेरैजसो महत्वपूर्ण मन्दिर, घाट र पवित्र स्थलहरु यिनै नदीहरुको किनारमा अवस्थित रहेको पाईन्छ ।
काठमाडाँै उपत्यकाको औद्योगीकीकरण र सहरीकरण तथा उपत्यकावासीहरुको आधुनिक जिवनशैलीले गर्दा बाग्मती नदीको वातावरणीय तथा पर्यावरणीय पक्षलाई निकै नराम्रोसँग प्रभावित पारेको छ । जसले गर्दा नदीमा पानीको सतह घट्नु, अनधिकृत नदीको वालुवा दोहन गर्नु, आसपासको क्षेत्र अतिक्रमण हुनु,अव्यवस्थित बसोवास, ढल सिधै बाग्मतीमा विर्सजन गर्नु आदि समस्याहरुले नदीको समग्र वातावरणलाई असर पारेको छ ।
साँस्कृतिक, धार्मिक, प्राकृतिक र पर्यटकीय दृष्टिले महत्व बोकेको बाग्मती नदीको बढ्दो प्रदूषणले गर्दा काठमाडौं उपत्यकाको आफ्नोपनको दृश्यलाई नै बिगारेर एउटा फोहोर शहरको रुपमा परिचित हुँदै गइरहेको छ । अव्यवस्थित शहरीकरण, जनसख्या वृद्धिका कारण काठमाडौं उपत्यकामा रहेको बाग्मती नदी एवं यसका सहायक नदीहरुको पानीको गुणस्तर ह्रास हुँदै गएकोले जलीय प्राणी लोप हुने स्थितिमा पुगेका छन् ।
एशियाली विकास बैंकको ऋण अुनदान सहयोगमा बाग्मती नदीमा पूर्वाधार निर्माणका कार्यहरु भइरहेका छन् । बर्षाको पानी संकलन गरेर सुख्खा मौसममा बाग्मतिको बहाब बढाउन जलाशय निर्माण कार्य भइरहेको छ । बाग्मती पूर्णरुपमा सफा, सुग्घर र हराभरा हुनुपर्छ भनेर अभियान्ताहरु निरन्तर लाग्नु भएको छ ।
गोकर्णदेखि बल्खुसम्मको बाग्मती नदीको दायाँ–बायाँ ढलको व्यवस्था हुदैछ । नदी नियन्त्रण तथा सडक निर्माण र अन्य पूर्वाधार बनाउने, सुन्दरीजलमा धाप ड्याम बनाउने, बाग्मती ड्यामको आवश्यक डिजाइन बनाएर सुक्खा मौसममा बाग्मतीमा निरन्तर पानी पठाउन रिभर बेसिन बनाउने, नदी सौन्र्दयकरणसहितको काम भइरहेको छ ।
०२१ सालमा भएको नापीअनुसार बाग्मती नदीको क्षेत्र पहिल्याउने र नदी संरक्षण गर्ने अभियान हालसम्म पनि जारी छ । पहिलो चरणमा काम भएको गोकर्णदेखि गुह्येश्वरीसम्मको १२ किमि नदी सुधार भइसकेको छ । बाग्मती नदीको किनारामा मानविय हस्तक्षेपले नदी साँघुरिदै गएको परिपे्रक्षमा बाग्मती नदी र यसको सहायक नदीको विकास लगायत विभिन्न साँस्कृति सम्पदाको संरक्षणका लागि दिर्घकालिन सोचका साथ क्रियाकलापहरु सञ्चालन भइरहेका छन् ।
बाग्मती र यसका सहायक नदी नालाहरुलाई स्वच्छ, सफा र हराभरा बनाएर नदी किनारमा रहेका धार्मिक, साँस्कृतिक तथा पुरातात्विक महत्वका धरोहरहरुको जगेर्ना गर्ने कार्य भइरहेको छ । तीब्र गतिमा बढ्दो जनसङ्ख्या, नदीमा प्रत्यक्ष रूपमा फोहोर फ्याँक्ने प्रवृत्ति, घरबाट उत्पन्न हुने ढल र औद्योगिक फोहोर एवं रसायन लगायतका सम्पूर्णफोहरमैला नदीमा मिसाउने प्रवृित्तले गर्दा काठमाडँै उपत्यकामा अवस्थित बाग्मती र यसका सहायक नदीहरू अत्यधिक मात्रामा प्रदूषित भएका छन् ।
जैविक र अजैविक वस्तुको अन्तरक्रियाले नदी आफै शुद्धीकरण हुने प्राकृतिक प्रक्रिया विस्तारै घट्दै गएको छ । धार्मिक संस्कारहरू सम्पन्न गरिंदै आएका घाट र यस वरपरका संरचनाहरू तीब्र विनाशको चपेटामा परेका छन् । गोर्कणदेखि बल्खुसम्म बाग्मती करिडोर सडक १४ कि.मि. निर्माण र सुधार गर्ने कार्य भएको छ ।
सांस्कृतिक मूल्य मान्यता बोकेको बागमती र यसका शाखा नदीको संरक्षणमा क्रियाशील भएकाले पनि यस समितिप्रति जनअपेक्षा बढीरहेको छ । बागमती नदीमा ढल मिसिन नदिनको लागि खोलाको किनारमा ढल निर्माण कार्य भइरहेको छ । बागमती सफाई अभियान चलिरहेको छ ।
बाग्मती सरसफाईमा सुधार आएको छ । बाग्मतीको दुवै किनारामा सडक निर्माण हुनुको साथै बगैंचा निर्माण कार्य पनि भइरहेको छ । नदीले नोक्सानी नपु¥याओस भनेर नदीको दुवै किनारामा नदी तटबन्ध लगाउने काम भइरहेको छ । विभिन्न ठाउँमा ढल प्रशोधन केन्द्र आवश्यक भए पनि हाल गुह्येश्वरीमा मात्रै ढल प्रशोधनकेन्द्र रहेको छ ।
बौद्ध, जोरपाटी, दक्षिणढोका, गोकर्ण, गुह्ेश्वरी र चावहिल लगायतका क्षेत्रको ढल ढल प्रशोधन केन्द्रमा लगेर शुद्ध बनाएर बाग्मतीमा पढाउने गरिएको छ । ढल प्रशोधनको लागि नयाँ प्रविधिबाट नयाँ प्लान्ट बनाउने कार्य भइरहेको छ । ढल प्रशोधनकेन्दबाट उर्जा निकाल्ने योजना रहेको छ । स्थानीय बासिन्दासँग मिलेर बाग्मतीको किनारमा पार्क र मनोरञ्जनस्थल निर्माण गर्ने कार्य भइरहेको छ ।
बाग्मती र यसका सहायक नदीहरूलाई एकीकृत र समन्वयात्मक अवधारणामा केन्द्रित भई पुर्नजीवित र सरंक्षित गर्ने उद्देश्यका साथ निर्माण भएको बाग्मती कार्ययोजना अनुसारका गतिविधि सञ्चालन गर्ने अभिभारा समितिले बहन गरेको छ । समितिले पानीका स्रोतहरूको उन्नति र संरक्षण गरी नदीमा पानीको रसान मात्रा बढाउन विविध उपायहरूको अबलम्बन गरिरहेको देखिन्छ ।
जलाधार क्षेत्र र जलजन्य जैविक विविधताको संरक्षण गर्ने, नदीको पानीको गुणस्तर कायम गर्ने, नदी क्षेत्रमा खुल्ला दिसापिसाब मुक्त गरी समग्र सरसफाइ गतिविधिलाई प्रर्वद्धनगर्ने, पानी र यसका स्रोत वरिपरि फोहोर फाल्ने क्रमलाई रोक्ने, कृषिमा प्रयोग हुने अत्याधिक रासायनिक पदार्थले गर्दा नदीमा हुने प्रदूषण रोक्ने, यसका लागि जैविक कृषि प्रणाली लाई प्रोत्साहन गर्ने काम अगाडि बढाएको छ ।
बाग्मती सफाईमा आम नागरिकको सहभागिता रहनु पर्छ । बाग्मती नदी फोहोर गर्नेलाई कडा कारबाही हुनुपर्छ । बाग्मती नदी हामी सबैको हो । त्यसो भएको हुनाले बाग्मतीनदी सफाई महाअभियानमा लाइन्स क्लब अफ नेपाल जर्नालिस्टले पनि सहभागी जनाएको छ ।
सम्पदा क्षेत्रको सम्भार र जिर्णाेद्वार गर्ने, अस्तित्वमा रहेका सम्पदा र सम्बन्धित सांस्कृतिक गतिविधिका लागि पुर्नस्थापन योजना तयार पार्ने फोहोरमैला र दूषित पानी मिसाउने कार्यबाट नदीलाई जोगाउने कार्य पनि अधिकार सम्पन्न वाग्मती सभ्यता एकिकृत विकास समितिले गरेको छ ।
नदी वरिपरिको क्षेत्रमा हरित मार्ग निर्माण गर्ने, नदीका दुवै किनारामा सडक वा गोरेटोबाटो निर्माण गर्ने, शहरीकरणको प्रभावकारी व्यवस्थापन गरी नदीको परिस्थितिकीय प्रणालीको पुनस्थार्पना गर्ने, दूषित पानीको समुचित व्यवस्थापन गरी नदीको पानीको गुणस्तर र परिमाणमा सुधार ल्याउने, नदी क्षेत्रको जग्गा, जलचरको जैविक विधिता र नदी एवं यसको वरिपरिको सुन्दरताको रक्षा गर्ने, नदीको किनारमा रहेका अनधिकृत र सुकुम्बासी बस्तीलाई नियन्त्रण र स्थानान्तरण गर्ने कार्य समितिले गर्दै आएको छ ।
बाग्मती नदीमा फोहर फ्क्याक्ने र थुपार्नेलाई काठमाण्डौं महानगरपालिका, ललितपुर उपमहानगरपालिका तथा विभिन्न प्रहरी प्रभागबाट विभिन्न मितिहरुमा कारवाही गरि जरिवाना समेत असुल उपर भइरहेको छ । बाग्मती नदी पहिलाको भन्दा अहिले धेरै सफा भएको अभियान्ता डा.माला खरेलले बताउनु भएको छ ।
फोहर व्यवस्थापनमा आधुनिक विधि र प्रविधि भित्र्याई घरायसी फोहर दिगो र बैज्ञानिक व्यवस्थापन गर्न सके घरपरिवार वातावरण मैत्री बन्छ । घरपरिवार वातावरणमैत्री बन्नु भनेको टोल र वडा सफा सुग्घर बन्नु हो । टोल र वडा सफासुग्घर बन्नु भनेको नगर नै वातावरणमैत्री बन्नु हो । वातावरणमैत्री काठमाडौं बनाउनुको लागि स्थानिय निकाय र निजि कम्पनीहरुले मात्र होइन नगरबासी आफैपनि फोहरको दिगो र बैज्ञानिक व्यवस्थापन कार्यमा सजग र सक्रिय हुनु जरुरी छ ।
घरबाट निस्कने जैविक फोहरलाई मलखाडल र गड्यौला प्रविधिबाट मल बनाउन सकिन्छ । मलखाडलको रुपमा कार्टुन तथा माछा वा तरकारी राख्ने क्रेट प्रयोग गर्न सकिन्छ । क्रेटको तल्लो भागमा माटो राख्नुपर्छ अनि त्यसमाथि जैविक फोहर राख्नु पर्छ र माटोले छोप्नुपर्छ । एवं रितले फोहर राख्दै माटोले छोप्दै गयो भने फोहर मलमा परिणत हुन्छ ।
त्यसैगरी, गड्यौला प्रविधिबाट मल बनाउनको लागि कागजका टुक्रा, तरकारी र फलफुलको बोक्रा, कपडाको टुक्रा, पराल, छ्वाली, झारपात र नरिवलको जट्टा पानीमा राम्रोसँग भिजाएर क्रेटको तल्लोभागमा विछ्यौना बनाउनु पर्छ । त्यसपछि जैविक फोहर राख्नु पर्छ । त्यसमाथि गड्यौला राख्नुपर्छ । अनि गड्यौलालाई जैविक फाहरले छोप्नु पर्छ ।
त्यसमाथि कपडाले छोपिदिनु पर्छ । फोहरलाई गड्यौलाले खाएर मल बनाउछ । एवं रुपमा फोहर थप्दै जाने र गड्यौलाले फोहर खाएर मल बनाउदै जान्छ । यसरी घरमा नै फोहरको व्यवस्था गर्न सकियो भने फोहरको समस्याबाट मुक्त मिल्ने छ ।
काठमाण्डौ उपत्यका स्थित वाग्मती नदी प्रणालीलाई जीवन्त वनाई समग्र वातावरणीय विकास गर्ने उद्देश्य अनुरुप २०५२ साल मंसिर ६ गते अधिकार सम्पन्न वाग्मती सभ्यता एकिकृत विकास समितिको गठन भएको थियो । काठमाडौं उपत्यका भित्र बाग्मती र यसका सहायक नदी नालाहरुलाई स्वच्छ, सफा र हराभरा बनाएर नदी किनारमा रहेका धार्मिक, साँस्कृतिक तथा पुरातात्विक महत्वका धरोहरहरुको जगेर्ना गर्नु यस समितिको मुख्य उद्देश्य रहेको छ ।
समितिले बाग्मती नदीको किनारामा बहाब क्षेत्र कायम हुनेगरी पुर्वाधार निर्माणका कामहरु जस्तै ढल निर्माण, सडक निर्माण, हरित क्षेत्र निर्माण, तटबन्ध निर्माण तथा चेक ड्याम निर्माण तथा ढल प्रशोधन केन्द्रको निर्माण तथा संचालन क्रमश गर्दै जाने तथा सचेतनामुलक कार्यक्रमहरुको माध्यमवाट आम सरोकारवालाहरुमा नदीको बढ्दो प्रदूषण प्रति चासो र चिन्ता जगाउदै आएको छ ।
सुन्दरी जलदेखि सुन्दरीघाट चोभारसम्म बाग्मती नदीको लम्बाई २८.५ कि.मि. (उपत्यका भित्र) रहेको छ । समितिले गोकर्ण–गुह्ेश्वरी, सुन्दरीजल–गोकर्ण, तिलगंगा–मनोहरा र मनोहरादोभान–सुन्दरीघाट चोभार गरी चार खण्डमा विभाजन गरेर बाग्मतीलाई पुर्नजिवित पार्ने काम गरिरहेको छ । बाग्मती नदीको विभिन्न खण्डमा उद्यान पार्क बनाउने कार्य भएको छ । नदी किनारामा ढल, फोहोरपानी प्रशोधन केन्द्र, तटबन्ध, करिडोर तथा हरितक्षेत्र निर्माण गर्ने कार्य भइरहेको छ ।
प्रकृतिमा चरम मानविय अतिक्रमण भएकोले इको सिस्टममा असर परेको छ । मानव जातिकै कारण पृथ्वी जोखिममा परेको छ । वनविनाश, सहरीविकास, प्रदुषण र ग्लोबल वार्मिङले पृथ्वीलाई असर गरिरहेको छ । प्राणी र पृथ्वी दुवै जोगाउनु अहिलेको आवश्यकता हो । आजको पुस्ताले विरासतमा प्राप्त गरेको यहाँको प्राचीन सभ्यताको संरक्षण कसरी गर्ने र एउटा सुन्दर काठमाडौँ उपत्यका कसरी आउँदो पुस्तालाई हस्तान्तरण गर्ने भन्ने आजको चुनौती हो ।
नागरिकको बानी र दैनिकीमा सानो सुधार गर्ने हो भने काठमाडौँ सभ्यतालाई जोगाउन र सुन्दर बनाउन मद्दत पुग्नेछ । समृद्धिको हाम्रो परिभाषा केवल प्रतिब्यक्ति आय वा ठूला घर र फराकिला सडकले मात्र समेट्दैन । नेपालको संविधानको धारा ३५ले समेत स्वच्छ वातावरणको हक सुनिश्चित गरिसकेको छ ।
बाग्मती र यसका सहायक नदीहरूलाई सफा, स्वच्छ र प्रदुषणमुक्त बनाउने जिम्मा सरकारको मात्र होइन तपाई हामी सवैको हो । बाग्मतीलाई स्वच्छ, सफा, सुन्दर र हराभरा बनाउनको लागि सबै सचेत,सजक र जिम्मेबार हुनु आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्