असोजमा मुस्ताङमा खेलको उत्सव, ५२औँ थाक खेलकुदको तयारी

काठमाडौं, ९ भदौ । हिमाली जिल्ला मुस्ताङमा खेलकुदसँगै थकाली समुदायको संस्कृति र पहिचानलाई प्रवद्र्धन गर्ने उद्देश्यले ५२औँ थाक खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ । थाक खेलकुद तथा सांस्कृतिक विकास संघको आयोजनामा प्रतियोगिता असोज ८ देखि १० गतेसम्म थासाङ गाउँपालिका–३, लेते कालोपानीमा सञ्चालन हुनेछ ।

लामो समयदेखि निरन्तर आयोजना हुँदै आएको थाक खेलकुदलाई यस वर्ष अझ व्यवस्थित र आकर्षक बनाउने तयारी गरिएको संघले जनाएको छ । प्रतियोगितामा खेलकुदका विभिन्न विधासँगै थकाली समुदायको मौलिक संस्कृति, कला र परम्परा झल्किने कार्यक्रमलाई समेत प्राथमिकता दिइनेछ ।

प्रतियोगिताको मुख्य आकर्षण पुरुष तथा महिला भलिबल रहनेछ । संघका अनुसार दुवै विधामा आकर्षक नगद पुरस्कारसहितको प्रतिस्पर्धा हुनेछ । त्यसबाहेक छेलो, तारा खेल, आधुनिक आर्चरीलगायतका परम्परागत तथा आधुनिक खेलसमेत प्रतियोगितामा समावेश गरिएका छन् । सांस्कृतिक तथा नृत्य प्रतियोगिताले भने खेलकुदसँगै थकाली समुदायको सांस्कृतिक पक्षलाई उजागर गर्नेछ ।

थाक खेलकुदलाई केवल प्रतियोगिताका रूपमा मात्र नभई मुस्ताङमा नयाँ खेलाडी उत्पादन गर्ने महत्वपूर्ण माध्यमका रूपमा समेत लिइँदै आएको छ । संघका अध्यक्ष कृष्णकुमार शेरचनका अनुसार जिल्लामा खेलकुदप्रति रुचि भएका युवालाई आफ्नो प्रतिभा देखाउने अवसर प्रदान गर्नु प्रतियोगिताको प्रमुख उद्देश्य हो ।

“यस वर्ष हामीले अहिलेसम्मकै उत्कृष्ट प्रतियोगिता बनाउने प्रयास गर्नेछौँ । खेलकुदमा पनि मुस्ताङलाई हब बनाउने गरी काम भइरहेको छ,” अध्यक्ष शेरचनले भन्नुभयो ।

संघले प्रतियोगितामा सहभागी हुने खेलाडीको क्षमता अभिवृद्धिलाई समेत प्राथमिकता दिँदै आएको छ । इच्छुक खेलाडीलाई प्रशिक्षणको अवसर उपलब्ध गराउने क्रममा पोखरामा दुई महिनासम्म आवश्यक प्रशिक्षण सञ्चालन गर्ने व्यवस्था संघले गर्दै आएको अध्यक्ष शेरचनले जानकारी दिनुभयो । यसले जिल्लाबाट राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

मुस्ताङमा आयोजना हुने प्रतियोगितामा जिल्लाभित्रका खेलाडी मात्र नभई अन्य जिल्लाबाट समेत खेलाडी सहभागी हुने गरेका छन् । यसले स्थानीय खेलाडीलाई बाहिरी जिल्लाका अनुभवी खेलाडीसँग प्रतिस्पर्धा गर्ने अवसर मिल्नुका साथै खेलको स्तरसमेत बढाउने संघको विश्वास छ ।

थाक खेलकुदको अर्को महत्वपूर्ण पक्ष भनेको संस्कृति संरक्षण र पर्यटन प्रवद्र्धनसँग यसको सम्बन्ध हो । प्रतियोगिताका अवसरमा थकाली समुदायको पहिचान झल्किने विभिन्न सांस्कृतिक गतिविधि आयोजना गरिँदै आएका छन् । खेल हेर्न आउने खेलाडी, दर्शक तथा पर्यटकमार्फत मुस्ताङको मौलिक संस्कृति र पर्यटकीय सम्भावनालाई थप प्रचार गर्ने अवसरसमेत प्राप्त हुने अपेक्षा गरिएको छ ।

संघले जिल्लाका उच्च क्षेत्रमा खेलमैदान विस्तार तथा खेलकुद पूर्वाधार प्रवद्र्धनमा समेत सहयोग गर्दै आएको जनाएको छ । हिमाली भूगोलका कारण खेलकुदका लागि आवश्यक पूर्वाधारको कमी रहेको अवस्थामा स्थानीयस्तरमै मैदान र खेल गतिविधिको विकास गर्ने प्रयास भइरहेको छ ।

यस वर्षको प्रतियोगिता गत वर्ष स्थगित भएपछि आयोजना हुन लागेको हो । दुई वर्षअघि थाक खेलकुदको ५१औँ संस्करण घरपझोङ गाउँपालिका–२ स्थित प्रमुख पर्यटकीयस्थल मार्फामा आयोजना भएको थियो । गत वर्ष भने जेनजी आन्दोलनका कारण प्रतियोगिता सञ्चालन हुन सकेन ।

प्रतियोगितालाई निरन्तरता दिन संघले आर्थिक स्रोत व्यवस्थापनलाई पनि प्राथमिकता दिएको छ । संघसँग आजीवन सदस्यता शुल्क तथा मेलाबाट प्राप्त बचत गरी करिब ४५ लाख रुपैयाँ मौज्दात रहेको जनाइएको छ । यही स्रोतलाई परिचालन गर्दै प्रतियोगितालाई थप व्यवस्थित बनाउने तयारी गरिएको हो ।

पाँच दशकभन्दा लामो इतिहास बोकेको थाक खेलकुदले मुस्ताङको खेलकुद गतिविधिलाई निरन्तरता दिनुका साथै स्थानीय संस्कृति र सामाजिक एकतालाई समेत जोड्दै आएको छ । यसपटकको प्रतियोगितामा खेलाडीको प्रतिभा पहिचान, खेलकुद पर्यटनको प्रवद्र्धन र थकाली सांस्कृतिक पहिचानलाई एउटै मञ्चबाट प्रस्तुत गर्ने लक्ष्य राखिएको छ ।

असोज ८ देखि १० गतेसम्म हुने प्रतियोगिताले मुस्ताङमा खेलकुदको माहोल सिर्जना गर्नुका साथै स्थानीय तथा बाह्य खेलाडी र दर्शकलाई हिमाली जिल्लाको प्राकृतिक तथा सांस्कृतिक सौन्दर्यसँग जोड्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्