काठमाडौँ, ९ भदौ । अभिनेत्री निरुता सिंहलाई यसअघि देखिएका भूमिकाभन्दा फरक अवतारमा प्रस्तुत गर्दै सिनेमा ‘सारथी’ले प्रदर्शन मिति घोषणा गरेको छ । कुमार गजुरेलको निर्देशनमा तयार भएको सिनेमा आगामी मंसिर ११ गते अर्थात् नोभेम्बर २७ देखि देशभरका हलमा प्रदर्शनमा आउने भएको हो ।
प्रदर्शन मिति सार्वजनिक गर्ने क्रममा निर्माण पक्षले अभिनेत्री निरुता सिंहको फस्र्टलुक पोस्टरसमेत सार्वजनिक गरेको छ । पोस्टरमा निरुता काखमा दुधे बालक बोकेर गम्भीर मुद्रामा उभिएको छन् । पैतालाबाट रगत चुहिरहेको दृश्यले सिनेमाको कथावस्तुप्रति दर्शकको कौतूहल थपेको छ ।
पोस्टरमा प्रस्तुत निरुताको भावभंगी र दृश्य संयोजनले ‘सारथी’ सामान्य पारिवारिक कथामा मात्र सीमित नभई भावनात्मक संघर्ष, पीडा र चुनौतीसँग जोडिएको कथा हुनसक्ने संकेत गरेको छ । ंंंंंंंंंंं यद्यपि निर्माण पक्षले कथाको मुख्य विषयवस्तुबारे विस्तृत जानकारी सार्वजनिक गरेको छैन । यही कारण पनि पहिलो झलकले सिनेमाको कथाबारे विभिन्न अनुमान गर्ने ठाउँ दिएको छ ।
म्याग्दीको गुर्जा क्षेत्रलाई मुख्य पृष्ठभूमि बनाएर निर्माण गरिएको सिनेमाको सम्पूर्ण छायांकन सोही क्षेत्रमा गरिएको हो । हिमाली तथा ग्रामीण परिवेशमा खिचिएको सिनेमाले स्थानीय भूगोल, जीवनशैली र पात्रहरूको संघर्षलाई कथासँग जोडेको निर्माण पक्षले जनाएको छ ।
‘सारथी’मा निरुता सिंहसँगै उत्तम प्रधान, मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, गिरी विश्वकर्मा, गायत्री जोशी, कल्पना थापा, मदन थापा, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मा, सन्तोष ढकाल, विप्लव खड्का, सागर कँडेल, सुदीप नेपाल र धिरेन कार्कीलगायत कलाकारको अभिनय छ ।
किम्भे प्रोडक्सन र धिरज फिल्म इन्फिनिटीको ब्यानरमा निर्माण भएको सिनेमालाई तारा थापा ‘किम्भे’ले प्रस्तुत गर्नुभएको छ । रदिप श्रेष्ठ र प्रदीप रायमाझी निर्माता रहेको सिनेमामा बेक बहादुर विश्वकर्मा र नवीन श्रेष्ठ कार्यकारी निर्माता तथा अमीर केसी लाइन निर्माता हुनुहुन्छ ।
संकल्प भुजेलको छायांकन रहेको सिनेमामा बाबुल गिरी र प्रशान्त शिवाकोटीको संगीत रहेको छ । बाबुल गिरी, प्रशान्त शिवाकोटी र रचना रिमालले गीतमा स्वर दिनुभएको छ । श्याम कार्कीले कला निर्देशन तथा गोविन्द खड्काले पोसाक संयोजन गर्नुभएको छ ।
राजु खतिवडा मुख्य सहायक निर्देशक रह्नुभएको ‘सारथी’को वितरणको जिम्मेवारी आरआर फिल्म्सले लिएको छ । प्रदर्शन मिति तय भएसँगै निर्माण पक्षले प्रचारप्रसारलाई अघि बढाउने तयारी गरेको छ । विशेषगरी निरुताको नयाँ अवतारलाई केन्द्रमा राखेर सार्वजनिक गरिएको पोस्टरले सिनेमाको प्रचार अभियानलाई सुरुवातमै आकर्षक बनाएको देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्