‘ल्याङ्ग ल्याङ्ग’ निर्माण हुने, असोजको पहिलो साताबाट छायांकनमा जाने

 

काठमाडौं, २९ साउन । युवा पुस्ताको प्रेम, संघर्ष र बदलिँदो जीवनशैलीलाई केन्द्रमा राखेर निर्माण हुन लागेको सिनेमा ‘ल्याङ्ग ल्याङ्ग’मा अभिनेत्री गुराँस ढकाल मुख्य भूमिकामा अनुबन्धित भएकी छन् । बलिराम चौहानको निर्देशनमा बन्न लागेको सिनेमाबाट गुराँसले पहिलोपटक प्रमुख अभिनेत्रीका रूपमा ठूलो पर्दामा आफ्नो यात्रा सुरु गर्ने भएकी हुन् ।

यसअघि विभिन्न विज्ञापन, म्युजिक भिडियो तथा सिनेमामा सहायक भूमिकामा देखिएकी गुराँसले अब भने मुख्य पात्रका रूपमा आफ्नो अभिनय क्षमता प्रस्तुत गर्ने अवसर पाएकी छन् । निर्माण पक्षका अनुसार सिनेमाको पात्र र कथाको आवश्यकताअनुसार गुराँस उपयुक्त देखिएपछि उनलाई औपचारिक रूपमा अनुबन्ध गरिएको हो ।

गुराँसले अभिनेता सञ्जोग रसाइलीसँग एक्टर्स हबमा अभिनय प्रशिक्षण लिएकी हुन् । प्रशिक्षणका क्रममा उनले अभिनयसँगै चरित्र निर्माण, संवाद प्रस्तुति तथा क्यामेराअगाडि आफ्नो अभिव्यक्ति प्रस्तुत गर्ने शैलीमा काम गरेकी छन् । बाल्यकालदेखि नै कलाकारितातर्फ रुचि राख्दै आएकी उनले निरन्तरको अभ्यास र प्रशिक्षणपछि अभिनयलाई व्यावसायिक यात्राका रूपमा अघि बढाउन थालेकी हुन् ।

गुराँसले यसअघि हरर सिनेमा ‘मम्मी’मा समेत अभिनय गरिसकेकी छन् । विभिन्न दृश्य माध्यममा काम गरेको अनुभवलाई अब मुख्य भूमिकामार्फत थप फराकिलो बनाउने तयारीमा उनी छिन् ।
निर्देशक चौहानका अनुसार ‘ल्याङ्ग ल्याङ्ग’मा गुराँस एक्ली मुख्य अभिनेत्रीका रूपमा रहनेछिन् ।

उहाँका अनुसार सिनेमाको कथाले मागेको चरित्रमा गुराँसको व्यक्तित्व र अभिनय क्षमता उपयुक्त देखिएकाले उनलाई छनोट गरिएको हो ।
सिनेमाको मुख्य भूमिकामा यसअघि नै रिहान गिरी, सन्तोष बानियाँ र जीवनजंग बस्न्यात अनुबन्धित भइसकेका छन् । निर्माण टिमले अझै एक जना अभिनेताको खोजी गरिरहेको छ । उक्त कलाकार छनोट भएपछि सिनेमाको मुख्य कलाकारको लाइनअप पूरा हुनेछ ।

स्काइफल पिक्चर्सको ब्यानरमा निर्माण हुने ‘ल्याङ्ग ल्याङ्ग’ले विशेषगरी जेनजी पुस्ताको जीवन, उनीहरूको सोच, प्रेम, सम्बन्ध, संघर्ष र स्वतन्त्रताको चाहनालाई कथाको केन्द्रमा राख्नेछ । युवाहरूको दैनिक जीवनमा देखिने मानसिक दबाब, साथीभाइको प्रभाव, सामाजिक अपेक्षा तथा व्यक्तिगत स्वतन्त्रताबीचको द्वन्द्वलाई मनोरञ्जनात्मक ढंगले प्रस्तुत गर्ने निर्माण पक्षको तयारी छ ।

सिनेमाको स्लोगन ‘हरेक युवाको कथा’ राखिएको छ । युवापुस्ताले साथीभाइबीचको व्यवहार, दबाब वा मानसिक तनावलाई जनाउन प्रयोग गर्ने ‘ल्याङ्ग ल्याङ्ग’ शब्दलाई नै शीर्षक बनाइएकाले पनि यसको विषयवस्तु समकालीन युवाजीवनसँग जोडिएको निर्माण पक्षको भनाइ छ ।

भोलानाथ कटवालको लगानी रहने सिनेमाको हाल प्रि–प्रोडक्सनको काम भइरहेको छ । निर्देशक चौहान र उपाश्री खतिवडाले संयुक्त रूपमा कथा लेखेको सिनेमालाई असोजको पहिलो साताबाट छायांकनमा लैजाने तयारी गरिएको छ । नयाँ पुस्ताको मनोविज्ञान र समसामयिक विषयलाई पर्दामा उतार्ने भएकाले ‘ल्याङ्ग ल्याङ्ग’ गुराँसका लागि मात्र नभई नेपाली सिनेमामा युवा पुस्ताको प्रतिनिधित्वका दृष्टिले पनि चासोको परियोजना बन्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्