‘निरुताजी बिहे कहिले गर्ने ?’ भन्ने प्रश्नको जवाफ निरुताले दिइन

काठमाडौं, २० भदौ । ‘दर्पण छायाँ’ फेम्ड अभिनेत्री निरुता सिंह वैवाहिक जीवनमा बाँधिएकी छन् । लामो समयदेखि परिवारसँग मुम्बईमा बस्दै आएकी उनले भदौ १४ गते बिहीबार मुम्बई निवासी सञ्जीभ गुलाटीसँग विवाह गरेकी हुन् । निरुताले सामाजिक सञ्जालमा साझेदार गरेको विवाहको एउटा तस्वीरमा उनी श्रीमानसँग खुसी मुद्रामा देखिएकी छन् । दुवैको गलामा लामो माला र पृष्ठभूमिमा मन्दिर देखिन्छ ।

अभिनेत्री सिंहले विवाह बन्धनमा बाँधिएको जानकारी गराउँदै लेखेकी छन्, ‘यतिका वर्षदेखि एक मात्र प्रश्न, जसको बिना मेरो कुनै पनि अन्तर्वार्ता पूर्ण हुँदैन थियो । त्यो हो ‘निरुताजी बिहे कहिले गर्ने ?’ भन्ने प्रश्न । आज त्यस प्रश्नको जवाफ दिएकी छु ।’ उनलाई प्रशंसक तथा फिल्मकर्मीहरुले वैवाहिक जीवनको शुभकामना दिइरहेका छन् । उनी श्रीमानसँग चाँडै नेपाल आउने बताइएको छ ।

कुनै समय नेपाली फिल्ममा जबर्जस्त उपस्थिति जनाएकी निरुताले करिब एक दशकपछि फिल्म ‘नाईं नभन्नू ल ५’बाट अभिनयमा पुनरागमन गरेकी थिइन् । मुख्य भूमिकामा भने उनको कमब्याक फिल्म ‘दाल भात तरकारी’ थियो । अब उनले मुस्कान ढकालको निर्देशनमा बन्न लागेको फिल्म ‘पञ्चामृत’मा काम गर्ने चर्चा छ । बसोबास मुम्बईमा भए पनि उनी नेपाल बाक्लै आउजाउ गर्छिन् ।

सन् १९९३ मा तुलसी घिमिरे निर्देशित फिल्म ‘दक्षिणा’बाट निरुताको अभिनय करिअर सुरु भएको थियो । ‘दर्पण छायाँ’ले उनलाई नयाँ परिचय दियो । कुनै समय उनको नामले नै फिल्म चल्छ भन्ने विश्वास मेकरमा हुने गरेको थियो । उनले ‘मन मन्दिर’, बन्दकी’, ‘खानदान’, ‘आफन्त’, ‘आमाको आर्शिवाद’, ‘दुनियाँ’, ‘लहना’, ‘नाता रगतको’ लगायत डेढ सय बढी फिल्ममा अभिनय गरेकी छन् ।

यसैगरी, यही भदौ २९ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘एक भगवत् गीता’को शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरियो । तर, फिल्मका मुख्य अभिनेता धीरज मगर भने उपस्थित भएनन् । आँखा पाकेका कारणले उनी उपस्थित हुन नसकेको जानकारी गराइएको थियो । तर, निकट स्रोतका अनुसार केही समयदेखि धीरजसँग फिल्मको टिमको सम्पर्क नै हुन सकेको छैन ।

निर्देशक झरना थापासँग धीरज असन्तुष्ट रहेको बताइन्छ । मुख्य भूमिकामा लिएर केमियोमा सीमित बनाइएको भन्दै उनी असन्तुष्ट रहेको चर्चा छ । ट्रेलरमा उनले पाएको कम ‘स्क्रिन स्पेश’ले पनि संशय सिर्जना गर्छ । अभिनेता विपिन कार्की हाबी रहेको ट्रेलरमा धीरज छायाँमा परेका छन् । यसैले उनी फिल्मको टिमसँग टाढिँदै गएको र प्रचारमा पनि हिँड्ने सम्भावना न्यून रहेको गाइँगुइँ छ ।

तर, धीरजलाई रोलमा खुम्चाइएको भन्ने चर्चालाई झरना अस्वीकार गर्छिन् । उनी भन्छिन्, ‘एउटा रोल देखाएर अर्को गराउने भन्ने नै हुँदैन । अहिले स्क्रिप्ट बिना कोही कलाकारले काम गर्दैनन् । त्यसरी झिक्याएर ठूलो रोल भनेर सानो रोल दिएको पक्कै पनि होइन । उहाँ आँखा पाकेको कारणले यो कार्यक्रममा उपस्थित हुन सक्नुभएन ।’ झरनाले धीरजसँग सम्बन्ध नबिग्रिएको पनि दाबी गरिन् ।

ट्रेलर सार्वजनिक कार्यक्रममा धीरज उपस्थित नहुनुको कारण अस्वस्थता देखाइए पनि उनी सोही दिन घुमफिरका लागि कुलेखानी पुगेको स्रोत बताउँछ । यो समाचार तयार पार्दासम्म उनले ट्रेलर समेत सामाजिक सञ्जालमा सेअर गरेका छैनन् । यसले पनि उनी फिल्मको टिमसँग तीव्र असन्तुष्ट रहेको भन्ने चर्चामा बल पु¥याउँछ । यद्यपि, उनको करिअरका लागि यो फिल्म चल्नैपर्ने दबाब छ ।

प्रतिक्रिया दिनुहोस्