एनपिएलः विराटनगर किङ्ग्सद्वारा सुदूरपश्चिम रोयल्स पराजित

काठमाडौँ, १५ कात्तिकः विराटनगर किङ्ग्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ । पहिलो जित निकाल्ने क्रममा विराटनगरले आज सम्पन्न खेलमा सुदूरपश्चिम रोयल्सलाई ३५ रनले हरायो ।
सुदूरपश्चिमले दोस्रो हारको सामना गर्यो । आफ्नो तेस्रो खेलमा विराटनगरले दिएको १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले पाँच ओभरमा झारिएको खेलमा तीन विकेट गुमाएर ७० रनमात्र बनाउन सक्यो । सुदूरपश्चिमका लागि सेफ अली जेबले १० बलमा दुई छक्कासहित १७ रन बनाए । यस्तै, स्कट कुग्लाइनले अविजित २८ र आरिफ शेखले अविजित रहँदै १७ रन जोडे । बलिङतर्फ विराटनगरका लागि रुपेश सिंह, एन्जेलो म्याथ्युज र आन्द्रे रसेलले एक–एक विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले वर्षाका कारण पाँच ओभरमा झारिएको खेलमा दुई विकेट गुमाएर १०५ बनायो । विराटनगरका लागि शेहान जयसूर्याले ११ बलमा पाँच छक्का र दुई चौकासहित सर्वाधिक ३९ रनको पारी खेले । यस्तै, आन्द्रे रसेलले अविजित २९ र लोकेश बमले २५ रन जोडे ।
बलिङतर्फ सुदूरपश्चिमका लागि अविनाश बोहराले एक विकेट लिए । आजको चितवन राइनोज र लुम्बिनी लायन्सबीचको पहिलो खेल भने वर्षाका कारण रद्द भएको थियो ।

प्रतिक्रिया दिनुहोस्