काठमाडौँ, १५ कात्तिक । तिहारलाई लक्षित गर्दै प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘पाँच पाण्डव’ले प्रचारप्रसारलाई तीव्रता दिएको छ । यसैक्रममा निर्माण पक्षले चलचित्रमा समावेश ‘राजा चाहिया छ’ बोलको नयाँ गीत सार्वजनिक गरेको छ । गीतको भिडियोमा अभिनेत्री इभा गिरीलाई फरक र आकर्षक अवतारमा प्रस्तुत गरिएको छ ।
शुक्रबार सार्वजनिक गीतमा इभा क्यासिनोमा नृत्य गर्ने युवतीको भूमिकामा देखिएकी छन् । आकर्षक पहिरन र नृत्यसहित प्रस्तुत भएकी उनले आफूलाई जीवनसाथीका रूपमा एक असल युवक चाहिएको भाव गीतमार्फत व्यक्त गरेकी छन् । मनोरञ्जनात्मक शैलीमा तयार पारिएको गीतको भिडियोमा इभालाई चलचित्रका अन्य प्रमुख कलाकारले पनि साथ दिएका छन् ।
गीतको दृश्यमा हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल र विनोद न्यौपाने देखिन्छन् । इभाको नृत्यसँगै यी कलाकारको उपस्थितिले भिडियोलाई थप रोचक बनाएको छ । चलचित्रको कथावस्तुभन्दा केही फरक परिवेशमा तयार पारिएको यो गीतले दर्शकमाझ चलचित्रप्रति चासो बढाउने अपेक्षा निर्माण पक्षको छ ।
गीतमा एलिना चौहान, सुरेश लामा र ध्रुव बिकको स्वर रहेको छ । शशी शर्मा मजगैयाँको शब्द रचना रहेको गीतमा अर्जुन पोखरेलले संगीत दिएका छन् । नृत्यप्रधान शैलीमा तयार पारिएको गीतको भिडियोमा क्यासिनोको परिवेशलाई प्रयोग गरिएको छ । यसले चलचित्रमा मनोरञ्जनका विभिन्न पक्ष समेटिएको संकेत गर्छ ।
वसन्त निरौलाको निर्देशनमा बनेको ‘पाँच पाण्डव’ आगामी कात्तिक २० गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ । चलचित्रमा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी, सुशील सिटौला, विनोद न्यौपाने र इभा गिरीलगायत कलाकारको अभिनय रहेको छ । त्यस्तै दीपाश्री निरौला, सरिता गिरी, रमा थपलिया, प्रशान्त ताम्राकार र सीता न्यौपाने पनि चलचित्रमा देखिनेछन् ।
चलचित्रको विशेष पक्ष भनेको महाभारतका पाँच पाण्डवका चरित्र र विम्बलाई समकालीन नेपाली समाजसँग जोडेर कथा प्रस्तुत गर्ने प्रयास हो । धार्मिक ग्रन्थ महाभारतका पात्रलाई हुबहु उतार्नुभन्दा तिनका चरित्र र प्रतीकलाई आधार बनाएर अहिलेको सामाजिक परिवेशको कथा भन्ने उद्देश्य चलचित्रले राखेको निर्माण पक्षले जनाएको छ ।
चलचित्रका पाँच प्रमुख पात्रलाई युधिष्ठिर, भीम, अर्जुन, नकुल र सहदेवका प्रतीकात्मक चरित्रका रूपमा प्रस्तुत गरिएको छ । यसमा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सुशील सिटौला क्रमशः ती भूमिकामा देखिनेछन् ।
काली रानी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन् भने निर्माता काली रानी श्रेष्ठ रहेकी छन् । चलचित्रको कथा, पटकथा तथा संवाद सुशील पौडेलले लेखेका हुन् । श्याम तामाङको छायांकन र सुप्रिम पराजुलीको सम्पादन रहेको चलचित्रमा अर्जुन पोखरेलको संगीत छ । उत्तम न्यौपानेले ध्वनि संयोजन गरेका छन् भने सुजिल कर्माचार्यको पाश्र्व संगीत र पुकार धिमालको दृश्य प्रभाव रहेको छ ।
चलचित्रलाई आरआर फिल्म्सले देशव्यापी वितरण गर्ने जिम्मेवारी लिएको छ । महाभारतका परिचित पात्रलाई वर्तमान समाजको कथासँग जोड्ने प्रयास, अनुभवी तथा नयाँ पुस्ताका कलाकारको संयुक्त अभिनय र मनोरञ्जनात्मक गीतसंगीतका कारण ‘पाँच पाण्डव’ तिहारको प्रदर्शनमा दर्शकमाझ कस्तो प्रभाव पार्छ भन्ने चासो बढेको छ ।
प्रतिक्रिया दिनुहोस्