काठमाडौँ, १५ कात्तिक । चुनौतीपूर्ण पहाडी भूगोल, लगातारको वर्षा र हिउँले ढाकिएको बाटोमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाली धाविका रशिला तामाङले भुटानमा आयोजित ‘कोलोन ट्रेल रन’को महिला विधाको उपाधि जितेकी छन् । अन्तर्राष्ट्रिय धावकहरू सहभागी प्रतियोगितामा रशिलाले आफ्नो धैर्य, गति र शारीरिक क्षमताको उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरेकी हुन् ।
शुक्रबार सम्पन्न ४२ किलोमिटर दूरीको दौड रशिलाले सात घण्टा ११ मिनेट २६ सेकेन्डमा पूरा गरिन् । उनले दोस्रो स्थानमा रहेकी बेल्जियमकी भान्या नप्सलाई करिब सात मिनेटले पछि पारिन् । नप्सले सात घण्टा १८ मिनेट १७ सेकेन्डमा दौड पूरा गरिन् । आयोजक देश भुटानकी सांगे छोदेन तेस्रो स्थानमा रहिन् ।
प्रतियोगितामा सुरुदेखि नै मौसमले धावकहरूलाई चुनौती दिएको थियो । दौड सुरु भएदेखि नै वर्षा भएपछि बाटो चिप्लो बनेको थियो । त्यसमाथि उच्च पहाडी क्षेत्रमा पर्ने मार्गका केही भाग हिउँले ढाकिएका थिए । प्रतिस्पर्धीहरूले करिब एक घण्टासम्म हिउँमा दौडिनुपरेको थियो । यस्तो प्रतिकूल परिस्थितिमा पनि रशिलाले आफ्नो गति र सन्तुलन कायम राख्दै निर्धारित दूरी पूरा गरिन् ।
यस दौडका क्रममा समुद्री सतहबाट तीन हजार पाँच सय मिटर र चार हजार मिटर उचाइमा रहेका दुई मुख्य बिन्दु पार गर्नुपर्ने चुनौती थियो । उच्च उचाइमा अक्सिजनको मात्रा कम हुने भएकाले धावकहरूको शारीरिक सहनशक्तिको कठिन परीक्षा भएको थियो । उकालो, ओरालो, चिसो मौसम र हिउँले ढाकिएको बाटो पार गर्दै रशिलाले निकालेको नतिजालाई उनको व्यक्तिगत उपलब्धिका रूपमा हेरिएको छ ।
इन्टरनेसनल ट्रेल रनिङ एसोसिएसन (आईटीआरए) र अल्ट्रा ट्रेल डु मोन्ट ब्लाङ्क (यूटीएमबी) दुवैबाट मान्यताप्राप्त प्रतियोगितामा २७ देशका एक सय ५२ धावक सहभागी भएको विवरण सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय स्तरको यस प्रतिस्पर्धामा विभिन्न देशका अनुभवी धावकसँग प्रतिस्पर्धा गर्दै रशिलाले महिला विधामा पहिलो स्थान हासिल गरेकी हुन् ।
उपाधि जितेपछि रशिलाले भुटानमा प्रतिस्पर्धा गर्ने अवसर पाएकोमा खुसी व्यक्त गरेकी छन् । उनले प्रतियोगिताको व्यवस्थापन र आतिथ्यको पनि प्रशंसा गरेकी छन् । कठिन मौसम र भौगोलिक अवस्थाका बाबजुद दौड पूरा गरेर उपाधि जित्नु आफ्नो लागि विशेष अनुभव भएको उनको भनाइ छ ।
प्रतियोगिताको पुरुष विधामा भने इटालीका रिकार्डो मोन्तानी विजेता बने । उनले ४२ किलोमिटर दूरी पाँच घण्टा २३ मिनेट ५२ सेकेन्डमा पूरा गरे । भुटानका ग्येम तेन्जिन दोस्रो तथा छिरिङ ग्याल्चेन तेस्रो स्थानमा रहे ।
भुटानको प्राकृतिक भूगोल, उच्च हिमाली क्षेत्र र चुनौतीपूर्ण पदमार्गलाई समेटेर आयोजना गरिएको ‘कोलोन ट्रेल रन’ले अन्तर्राष्ट्रिय धावकलाई आकर्षित गरेको छ । आयोजकका अनुसार प्रतियोगिताको वास्तविक दूरी ४१.८ किलोमिटर रहेको छ भने यस क्रममा करिब दुई हजार सात सय मिटर उचाइ चढ्नुपर्ने मार्ग रहेको थियो ।
रशिलाको सफलताले अन्तर्राष्ट्रिय ट्रेल रनिङमा नेपाली खेलाडीको उपस्थिति थप बलियो बनाएको छ । पहाडी भूगोल र कठिन पदमार्गमा दौडिने अनुभव भएका नेपाली धावकले अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि प्रतिस्पर्धात्मक क्षमता देखाउन सक्ने सन्देश उनको यो उपलब्धिले दिएको छ ।
प्रतिक्रिया दिनुहोस्