साफ माहिला च्याम्पियनसिपमा नेपालसँग ११–० गोलअन्तरले माल्दिभ्स पराजित

काठमाडौँ ६ कात्तिक । नेपालले साफ माहिला च्याम्पियनसिप–२०२४ मा माल्दिभ्सलाई पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट जित हासिल गरेको छ । साफ च्यापियनसिपमा नेपालको यो पहिलो जित हो ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला सोमबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ११–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । नेपालका लागि रेखा पौडेलले पाँच गोल गरिन् भने प्रीति राईले ह्याट्रिक पूरा गरिन् । यसैगरी सविता राना मगर, अनिता केसी र अमिसा कार्कीले समान एक–एक गोल गरे ।
जितसँगै चार अङ्क बटुलेको नेपाल समूह बीको शीर्ष स्थानमा उक्लिएको छ । नेपालले आफ्नो पहिलो पहिलो खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको थियो । समान चार अङ्क नै बटुलेको भुटान अङ्क तालिकाको दोस्रो स्थानमा छ । अब भुटानले माल्दिभ्स र नेपालले श्रीलङ्कासँग समूह चरणको अन्तिम खेल खेल्न बाँकी छ । यसै खेलले समूहका विजेताको टुङ्गो लाग्नेछ । उक्त खेल यही कात्तिक ८ गते हुनेछ । खेलको सातौं मिनेटमा नेपालले प्रितीको गोलमा अग्रता लियो । त्यसपछि खेलको २९ औँ मिनेटमा सविताले नेपालको अग्रता दोब्बर पारिन् ।  खेलको ३२ औँ मिनेटमा रेखाले नेपाललाई ३–० गोलको अग्रता बनाइन । खेलको ४२ औँ मिनेटमा रेखाले अर्को गोल थपिन् । यसैगरी खेलको दोस्रो हाफको दुई मिनेट पनि बित्न नपाउँदै रेखाले गोल गर्दै ह्याट्रिक पूरा गरिन् । खेलको ६३ औँ मिनेटमा रेखाले व्यक्तिगत चौथो गोल गरिन् । लगत्तै प्रितीले नेपालको लागि सातौँ गोल थपिन् । नेपालले त्यसपछि तीन खेलाडीलाई परिवर्तन गर्दै अनिता केसी, अनिता बस्नेत र सजनी थोकरलाई मैदान छिराएको थियो । अनिता केसीले मैदान छिरेको पहिलो ‘टच’ मै नेपालको लागि आठौँ गोल गरिन् । खेलको ७८औँ मिनेटमा रेखाले व्यक्तिगत पाँचौ र समग्रमा नवौँ गोल गरिन् । यसैगरी खेलको ८६ औँ मिनेटमा नेपालले पेनाल्टीको अवसर पायो । प्रितीले पेनाल्टीलाई गोलमा परिणत गर्दै १०–० को अग्रता दिलाइन् । त्यसको एक मिनेट पनि बित्न नपाउँदै अमिषा कार्कीले अर्को गोल गरिन् ।
साफ च्याम्पियनसिपअन्तर्गत यही कात्तिक ७ गते भारत र बङ्गलादेशबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल साँझ ५ः३० बजे हुनेछ ।
यस्तै, श्रीलङ्कालाई हराउँदै भूटान साफ महिला च्याम्पियनसिप, २०२४ अन्तर्गत समूह ‘बी’को अङ्कतालिकामा शीर्ष स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार भएको खेलमा भूटानले श्रीलङ्कालाई ४–१ गोलअन्तरले पराजित गर्दै समूह ‘बी’को शीर्ष स्थानमा उक्लिएको हो । जितसँगै भूटानले दुई खेलबाट चार अङ्क जोडेको छ । पहिलो खेलमा भूटानले घरेलु टोली नेपाललाई गोलरहित बराबरीमा रोकेको थियो ।
खेल सुरुआती सातौं मिनेटमा भूटानकी डेकी ल्जोहामले गोल गर्दै पहिलो अग्रता दिलाइन । त्यस्तै खेलको २३औं मिनेटमा श्रीलङ्काकी  कप्तान थुशानी मधुशिकाले गोल गर्दै खेल एक–एक गोलको बराबरीमा ल्याइन ।
त्यसपछि खेलको ३२औँ मिनेटमा भूटानकी दोर्जी एडेनले गोल गर्दै आफ्नो टोलीको अग्रता दोब्बर बनाइन । खेलको ७६औँ मिनेटमा डेकीले व्यक्तिगत दोस्रो गोल गर्दै भूटानलाई ३–१ को अग्रता दिलाइन् । डेकीले गोल गरे लगत्तै नामग्याल डेमाले गोल गर्दै भूटानलाई ४–१ गोलको जित दिलाइन ।

प्रतिक्रिया दिनुहोस्