विजय बरालको अनौठो अवतार रहेको ‘जिरो डिग्री’ माघ १५ मा आउदै

काठमाडौँ, १४ असोज । तिहारलाई लक्षित गरेर प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘जिरो डिग्री’ अब करिब तीन महिना पछि सरेको छ । निर्माण पक्षले चलचित्रको नयाँ प्रदर्शन मिति माघ १५ गते तोकेको हो । यसअघि तिहारको अवसरमा चलचित्र प्रदर्शन गर्ने घोषणा गरिएको थियो ।

मंगलबार सार्वजनिक गरिएको नयाँ पोस्टरमार्फत निर्माण पक्षले प्रदर्शन मिति परिवर्तन भएको जानकारी दिएको हो । तिहारमा नेपालीसँगै विदेशी चलचित्रको समेत ठूलो भीड हुने भएपछि प्रदर्शनको समय पछाडि सारिएको जनाइएको छ । एकै समयमा धेरै चलचित्र प्रदर्शन हुँदा दर्शकको ध्यान बाँडिन सक्ने अवस्थालाई मध्यनजर गर्दै ‘जिरो डिग्री’लाई माघमा ल्याउने तयारी गरिएको हो ।

नयाँ पोस्टरमा अभिनेता विजय बराललाई मात्र प्रस्तुत गरिएको छ । पोस्टरमा उनी ढाका टोपी, बाक्लो जुँगा, चस्मा र परम्परागत पहिरनमा देखिन्छन् । घोडामाथि सवार बरालको पिठ्यूँमा दुईवटा पंखा बाँधिएको देखिन्छ । चलचित्रको पोस्टरले नै उनको पात्र सामान्यभन्दा फरक र हास्यप्रधान परिस्थितिमा जोडिएको हुन सक्ने संकेत गर्छ ।

यसअघि सार्वजनिक गरिएको चलचित्रको झलकमा विजय बराल वडाध्यक्ष पुन्य चौलागाईंको भूमिकामा देखिएका थिए । नयाँ पोस्टर र यसअघि सार्वजनिक झलकलाई हेर्दा चलचित्रमा उनको पात्र कथाको महत्वपूर्ण केन्द्रमा रहेको देखिन्छ । यद्यपि पात्रको चरित्र र कथाको विस्तृत पक्ष भने निर्माण पक्षले खुलाएको छैन ।

‘जिरो डिग्री’को कथा भने नेपाली चलचित्रमा कमै प्रयोग हुने परिवेशमा आधारित रहेको निर्माण पक्षले जनाएको छ । सडक सञ्जाल सहज रूपमा नपुगेको एक विकट गाउँमा शव सुरक्षित राख्न डीप फ्रिज बोकेर जाँदा उत्पन्न हुने परिस्थितिलाई चलचित्रले कथाको आधार बनाएको छ ।

शव सुरक्षित राख्न आवश्यक उपकरण लिएर विकट गाउँतर्फको यात्राबाट सुरु हुने घटनाक्रमले पात्रहरूलाई कस्ता परिस्थितिमा पु¥याउँछ भन्ने विषय चलचित्रको मुख्य आकर्षणका रूपमा प्रस्तुत गरिएको छ । ग्रामीण परिवेश, सीमित यातायात सुविधा र असहज भौगोलिक अवस्थाबीच उत्पन्न परिस्थितिलाई चलचित्रले मनोरञ्जनात्मक ढंगले प्रस्तुत गर्ने निर्माण पक्षको दाबी छ ।

चलचित्र मेघौली फिल्म्सको ब्यानरमा निर्माण भएको हो । सजन काफ्ले र आकाश बरालले संयुक्त रूपमा चलचित्रको लेखन तथा निर्देशन गरेका छन् । यसअघि उनीहरूले ‘बेहुली फ्रम मेघौली’मा सहकार्य गरेका थिए । ‘जिरो डिग्री’ उनीहरूको दोस्रो निर्देशकीय चलचित्र हो ।

चलचित्रमा विजय बरालसँगै सनिशा भट्टराई, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, राजन भुसाल, रमेश बुढाथोकी, वसुन्धरा भुसाल, सुवर्ण थापा र सञ्जोग रसाइलीलगायत कलाकारको अभिनय छ । यसले चलचित्रमा नयाँ पुस्तादेखि अनुभवी कलाकारसम्मको मिश्रित प्रस्तुति रहने देखाएको छ ।

मोती कार्की कार्यकारी निर्माता रहेको चलचित्रमा निशाल पौडेलको छायांकन छ । चानस पुन मगरले सम्पादन गरेका छन् भने राजेन्द्र मोक्तानले रंग संयोजन गरेका छन् । चलचित्रमा अङ्कित बाबु अधिकारीको संगीत रहेको छ ।
तिहारको प्रदर्शन तालिकाबाट बाहिरिएसँगै ‘जिरो डिग्री’ले अब माघको प्रदर्शनलाई लक्षित गरेर प्रचार अभियान अघि बढाउनेछ ।

नयाँ पोस्टरमा विजय बरालको असामान्य रूप प्रस्तुत गरेर निर्माण पक्षले चलचित्रको विषयवस्तुप्रति दर्शकको जिज्ञासा बढाउने प्रयास गरेको छ । माघ १५ गते प्रदर्शन हुने चलचित्रले विकट गाउँ, शव र डीप फ्रिजलाई जोडेर कस्तो कथा प्रस्तुत गर्छ भन्ने पक्ष भने चलचित्र सार्वजनिक भएपछि नै स्पष्ट हुनेछ ।

प्रतिक्रिया दिनुहोस्