काठमाडौं, २८ असार । निर्देशक अमरदीप सापकोटाको निर्देशनमा निर्माण हुन लागेको नेपाली चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’ ले कलाकार टोलीलाई थप विस्तार गरेको छ । निर्माण पक्षले कमेडियन बेगम नेपाली र प्रभात लामालाई मुख्य भूमिकाका लागि अनुबन्धित गरेको घोषणा गरेको हो ।
हास्यप्रधान कथावस्तुमा आधारित चलचित्रमा दुवै कलाकारले प्रमुख भूमिका निर्वाह गर्ने भएका छन् ।
टेलिभिजन तथा डिजिटल प्लेटफर्ममार्फत ‘भटभटे माइला’ पात्रका रूपमा घरघरमा परिचित बनेका बेगम नेपालीका लागि यो चलचित्र विशेष बन्ने भएको छ ।
लामो समयदेखि हास्य अभिनयमार्फत दर्शकको मन जित्दै आएका उनी पहिलो पटक नेपाली चलचित्रको मुख्य अभिनेताका रूपमा ठूलो पर्दामा देखिन लागेका हुन् । यही कारण पनि चलचित्रप्रति दर्शकको चासो बढ्ने अपेक्षा गरिएको छ ।
चलचित्रमा अनुबन्धित भएपछि बेगम नेपालीले आफू निकै उत्साहित रहेको प्रतिक्रिया दिएका छन् । सानो पर्दामा प्राप्त माया र समर्थनलाई अब ठूलो पर्दामा पनि निरन्तरता दिने प्रयास गर्ने बताएका छन् । चलचित्रमार्फत दर्शकलाई थप मनोरञ्जन दिने विश्वास व्यक्त गरेका छन् ।
यस्तै, हास्य कलाकार तथा अभिनेता प्रभात लामाले पनि चलचित्रको मुख्य भूमिकामा अभिनय गर्न पाउँदा खुसी लागेको बताएका छन । कमेडी अभिनय आफ्नो परिचित विधा भए पनि चलचित्रको माध्यम फरक भएकाले जिम्मेवारी अझ थप भएको बताए । दर्शकको अपेक्षाअनुसार उत्कृष्ट प्रस्तुति दिने प्रयास गर्ने उनको भनाइ छ ।
रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको ‘तीन तीघ्रे क्या बिग्रे’को निर्माता रघुनाथ सापकोटा हुन् । निर्माण पक्षका अनुसार चलचित्रको छायाङ्कन केही दिनभित्र सुरु गरिनेछ । अहिले कलाकार छनोट, प्राविधिक तयारी तथा अन्य पूर्वनिर्माणका काम अन्तिम चरणमा पुगेका छन् ।
निर्माता सापकोटाले चलचित्रमा नेपाली मनोरञ्जन क्षेत्रका चर्चित तथा लोकप्रिय कलाकारहरूको सशक्त उपस्थिति रहने बताउनु भयो । चलचित्रलाई व्यावसायिक र मनोरञ्जनात्मक दुवै दृष्टिले प्रभावकारी बनाउने गरी कलाकार र प्राविधिक टोली चयन गरिएको बताउनु भयो ।
यसअघि नै चलचित्रका लागि चर्चित लोकगायक पशुपति शर्मा, गायिका अञ्जु पन्तकी छोरी परितोषिका पन्त तथा अभिनेत्री समिया कार्की मुख्य भूमिकामा अनुबन्धित भइसकेका छन् । फरक–फरक क्षेत्रबाट आएका कलाकारहरूको संयोजनले चलचित्रलाई थप आकर्षक बनाउने अपेक्षा गरिएको छ ।
चलचित्रका गीत चर्चित गायक तथा सर्जक पशुपति शर्माले तयार गर्नेछन् । नेपाली लोकभाका र समसामयिक शैलीका गीतका लागि परिचित शर्माको संगीत चलचित्रको अर्को विशेष आकर्षण हुने विश्वास निर्माण पक्षले गरेको छ । छायांकनको जिम्मेवारी सिनेमाटोग्राफर संकल भुजेलले सम्हाल्नेछन ।
निर्देशक अमरदीप सापकोटाका अनुसार ‘तीन तीघ्रे क्या बिग्रे’ पूर्ण रूपमा मनोरञ्जनात्मक कमेडी चलचित्र हुनेछ । चलचित्रले हास्य, व्यंग्य, सामाजिक परिवेश र पारिवारिक सम्बन्धलाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गर्नेछ । नेपाली समाजका दैनिक जीवनमा देखिने घटनालाई रमाइलो ढंगले पर्दामा उतार्ने प्रयास गरिएको निर्देशकको भनाइ छ ।
पछिल्ला वर्षहरूमा नेपाली चलचित्रमा कमेडी विधाका फिल्मले दर्शकको राम्रो साथ पाइरहेका छन् । यही प्रवृत्तिलाई निरन्तरता दिँदै निर्माण हुन लागेको ‘तीन तीघ्रे क्या बिग्रे’ले पनि पारिवारिक दर्शकलाई लक्षित गर्दै स्वच्छ मनोरञ्जन प्रस्तुत गर्ने लक्ष्य राखेको छ ।
कलाकारहरूको क्रमिक घोषणा, लोकप्रिय संगीतकर्मीको सहभागिता र कमेडी कथावस्तुले चलचित्रप्रति प्रारम्भिक चरणमै उत्सुकता बढाएको छ । अब छायांकन सुरु भएसँगै निर्माण पक्षले अन्य कलाकार, प्रदर्शन मिति तथा प्रचार सामग्री क्रमशः सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्