काठमाडौँ, १९ भदौ । निर्माता रोहित अधिकारीले आफ्नो महत्वाकांक्षी नयाँ सिनेमाको तयारी अघि बढाउनुभएको छ । ‘छ माया छपक्कै २’पछि निर्माण गर्ने योजनामा रहेको यो सिनेमा रोहितको ड्रिम प्रोजेक्टका रूपमा अगाडि बढिरहेको छ । सिनेमाको मुख्य भूमिकामा अभिनेता अनमोल केसीलाई अनुबन्ध गरिसकिएको छ भने निर्देशनको जिम्मेवारी सुयोग गुरुङले सम्हाल्ने तय भएको छ ।
स्रोतका अनुसार सिनेमाको छायाङ्कन वर्ष २०८४ को दशैँ–तिहारपछि सुरु गर्ने तयारी गरिएको छ । निर्माता अधिकारीले केही समयअघि नै अनमोलसँग सम्झौता गरिसक्नुभएको भए पनि देशमा देखिएको पछिल्लो विषम परिस्थितिका कारण सिनेमाबारे औपचारिक जानकारी सार्वजनिक नगरिएको बताइएको छ । अवस्था सामान्य भएपछि निर्माण घोषणासहित सिनेमाका अन्य विवरण सार्वजनिक गर्ने तयारीमा निर्माण पक्ष रहेको स्रोतको भनाइ छ ।
सिनेमाको कथावस्तु, शीर्षक तथा अन्य कलाकारबारे भने निर्माण पक्षले विस्तृत जानकारी सार्वजनिक गरेको छैन । मुख्य भूमिकामा अनमोल रहने निश्चित भए पनि बाँकी कलाकारको छनोट तथा अन्य प्राविधिक पक्षमा काम भइरहेको बताइएको छ । निर्माण पक्षका अनुसार औपचारिक घोषणा गरेपछि मात्रै सिनेमाको स्वरूपबारे थप जानकारी गराउने जनाइएको छ ।
रोहित अधिकारी र सुयोग गुरुङबीचको सहकार्यका कारण पनि यो सिनेमा चासोको विषय बनेको छ । सुयोगले यसअघि रोहितकै निर्माणमा बनेको ‘फर्की फर्की’ निर्देशन गर्नुभएको थियो । उक्त सिनेमामा अनमोल केसी मुख्य भूमिकामा हुनुहुन्थ्यो । अब फेरि रोहितको निर्माण र सुयोगको निर्देशनमा अनमोल जोडिएपछि सोही टिमले नयाँ कथामा काम गर्ने भएको हो ।
अनमोल र रोहितबीच भने यो तेस्रो सहकार्य हुनेछ । यसअघि उहाँहरूले ‘गाजलु’ र ‘फर्की फर्की’मा काम गरिसक्नुभएको छ । त्यसैगरी अनमोल र सुयोगबीच पनि यो सहकार्यको निरन्तरता हुनेछ । ‘जेरी अन टप’ र ‘फर्की फर्की’मा सँगै काम गरिसकेका उहाँहरू नयाँ सिनेमामा पुनः एकसाथ देखिनुहुनेछ ।
यद्यपि, रोहितको नयाँ सिनेमा सुरु हुनुअघि निर्माण पक्षका अन्य योजनाले गति लिनेछन् । रोहितले ‘छ माया छपक्कै २’पछि अर्को अनटाइटल सिनेमा निर्माण गर्ने तयारी गर्नुभएको छ । प्राप्त जानकारीअनुसार उक्त सिनेमाको मुख्य भूमिकामा अभिनेता तथा मोडल पल शाहलाई लिने तयारी छ । पलसँग मौखिक सहमति भइसके पनि लिखित सम्झौता भने हुन बाँकी रहेको बताइएको छ ।
पलले ‘यानीमाया’को काम सम्पन्न गरेपछि उक्त सिनेमाको निर्माण टोलीसँग औपचारिक सम्झौता गर्ने स्रोतको भनाइ छ । ‘फेरि रेशम फिलिली’का निर्देशक निरोज महर्जनले उक्त सिनेमा निर्देशन गर्ने विषयमा समेत मौखिक सहमति भइसकेको बताइएको छ । लिखित सम्झौता नभएसम्म भने निर्माण टोली तथा कलाकारमा परिवर्तन हुनसक्ने सम्भावना कायमै छ ।
रोहितको ड्रिम प्रोजेक्टमा जोडिनुअघि निर्देशक सुयोग गुरुङले सिनेमा आट्र्सको नयाँ सिनेमासमेत निर्देशन गर्नुहुनेछ । रौनक विक्रम कँडेलको निर्माणमा बन्ने उक्त सिनेमामा अनमोलले अभिनय गर्ने तयारी छ । त्यसपछि मात्रै रोहितको नयाँ सिनेमाको छायाङ्कनमा जाने योजना रहेको बताइएको छ ।
निर्माता रोहित अधिकारीले पछिल्लो समय व्यावसायिक रूपमा अपेक्षा गरिएको तथा दर्शकको चासो रहने खालका प्रोजेक्टमा काम गर्दै आउनुभएको छ । नयाँ सिनेमालाई उहाँले आफ्नो महत्वाकांक्षी परियोजनाका रूपमा अघि बढाउन लाग्नुभएको हो । निर्माण पक्षले यसलाई ठूलो तयारीसहित अगाडि बढाउने योजना बनाएको स्रोतले जनाएको छ ।
यसैबीच अनमोलको पाइपलाइनमा ‘बाटुलो जुन’, ‘ए मेरो हजुर ५’, ‘जेरी द लास्ट क्लाइब’ र ‘बिफोर वी मिट’लगायतका सिनेमा रहेका छन् । तीमध्ये केही प्रदर्शनको तयारीमा छन् भने केही निर्माणको चरणमा जाने तयारीमा छन् । यही व्यस्त कार्यतालिकाका कारण रोहितको नयाँ सिनेमाको छायाङ्कन पनि आगामी वर्षको दशैँ–तिहारपछि गर्ने योजना बनाइएको हो ।
रोहित अधिकारीको ड्रिम प्रोजेक्टको औपचारिक घोषणा, शीर्षक, कथावस्तु र अन्य कलाकारबारे जानकारी भने निर्माण पक्षले सार्वजनिक गरेपछि मात्रै स्पष्ट हुनेछ । तर निर्माता रोहित, निर्देशक सुयोग र अभिनेता अनमोलको पुनः सहकार्य हुने भएपछि घोषणा अगावै यो सिनेमा नेपाली चलचित्र क्षेत्रमा चासोको विषय बनेको छ ।
प्रतिक्रिया दिनुहोस्