सूचीकृत भएको छोटो समयमै शेयरधनीलाई सर्वोत्तम पेन्ट्सको १० प्रतिशत लाभांश

काठमाडौँ, ३० भदौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छोटो समयमै सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडले शेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८२–८३ को मुनाफा तथा सञ्चितिबाट शेयरधनीलाई १० प्रतिशत शेयर लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

आइतबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले लाभांश वितरणको प्रस्ताव गरेको जनाएको छ । सञ्चालक समितिबाट प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र शेयरधनीलाई वितरण गरिनेछ ।
सर्वोत्तम पेन्ट्सले नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको करिब एक महिनामै लाभांश प्रस्ताव गरेको हो ।

कम्पनी साउन २८ गते नेप्सेमा सूचीकृत भएको थियो । बजारमा सूचीकृत भएपछि पहिलोपटक शेयरधनीलाई प्रतिफल दिने प्रस्तावले कम्पनीको आगामी व्यावसायिक योजनासँगै लगानीकर्ताको चासोसमेत बढाउने अपेक्षा गरिएको छ ।

कम्पनीले पेन्ट्स उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । गुणस्तरीय उत्पादनलाई आफ्नो व्यवसायको महत्वपूर्ण आधार बनाएको कम्पनीले नेपाल गुणस्तर प्रमाण चिह्नसमेत प्राप्त गरिसकेको जनाएको छ ।
सर्वोत्तम पेन्ट्सले आफ्नो व्यावसायिक यात्रा भने पश्चिम नेपालबाट सुरु गरेको हो ।

कम्पनीले सन् २०७२ देखि कैलालीको अत्तरियाबाट पेन्ट्स उत्पादन गर्दै आएको छ । सुरुआतमा पश्चिमी क्षेत्रलाई केन्द्र बनाएर बजार विस्तार गरेको कम्पनीले पछिल्लो समय आफ्नो व्यापार सञ्जाल देशका विभिन्न क्षेत्रमा विस्तार गर्दै आएको जनाएको छ ।

बजार विस्तारसँगै उत्पादन र आपूर्ति क्षमता बढाउने योजनामा समेत कम्पनी अघि बढेको छ । विस्तारित बजारमा उत्पादनको आपूर्ति सहज बनाउन हेटौँडा औद्योगिक क्षेत्रमा आधुनिक प्रविधिमा आधारित नयाँ उद्योग स्थापना गरिएको छ । उक्त उद्योग हाल उत्पादनको अन्तिम चरणमा रहेको कम्पनीले जनाएको छ ।

नयाँ उद्योग सञ्चालनमा आएपछि उत्पादन क्षमता बढ्नुका साथै बजारको मागअनुसार पेन्ट्सको आपूर्ति व्यवस्थापन गर्न सहज हुने कम्पनीको अपेक्षा छ । बजार विस्तार र उत्पादन क्षमताबीच सन्तुलन कायम गर्दै व्यवसायलाई थप विस्तार गर्ने रणनीति कम्पनीले लिएको देखिन्छ ।

कम्पनीका सञ्चालक अध्यक्ष शिव शिंह कार्कीले आगामी दिनमा गुणस्तरीय उत्पादनलाई प्राथमिकतामा राख्दै देशभर व्यापार सञ्जाल विस्तार गर्ने योजना रहेको बताउनु भयो । बजार विस्तारसँगै कम्पनीको मुनाफा बढाउने लक्ष्य रहेको उहाँको भनाइ छ ।

सर्वोत्तम पेन्ट्सले एकातिर शेयरधनीलाई प्रतिफल दिने तयारी गरिरहँदा अर्कोतर्फ उत्पादन पूर्वाधार विस्तारमा समेत लगानी बढाएको छ । यसले कम्पनीले तत्कालीन लाभांशसँगै दीर्घकालीन व्यावसायिक विस्तारलाई पनि प्राथमिकतामा राखेको संकेत गर्छ ।

कम्पनीको सञ्चालक समितिमा बैंकिङ क्षेत्रमा अनुभव भएका शिव शिंह कार्की अध्यक्ष छन् । आभूषण व्यवसायमा संलग्न लक्ष्मीदत्त पाण्डेय सञ्चालकका रूपमा रहेका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पेन्ट कम्पनीमा काम गरेको अनुभव भएका नवीन भट्ट कम्पनीका प्रबन्ध निर्देशक हुन् ।

नेपालको पेन्ट्स बजारमा स्वदेशी तथा विदेशी ब्रान्डबीच प्रतिस्पर्धा बढिरहेका बेला सर्वोत्तम पेन्ट्सले आफ्नो उत्पादनको गुणस्तर, बजार पहुँच र वितरण सञ्जाललाई बलियो बनाउने रणनीति अघि सारेको छ । पश्चिम नेपालबाट सुरु भएको कम्पनीले अहिले देशभर बजार विस्तारलाई प्राथमिकतामा राखेको छ ।

नेप्सेमा प्रवेश गरेपछि शेयरधनीलाई पहिलोपटक लाभांश दिने प्रस्ताव र उत्पादन क्षमता विस्तारको तयारीले कम्पनीको आगामी यात्रालाई थप चासोका साथ हेरिएको छ । प्रस्तावित १० प्रतिशत शेयर लाभांश भने वार्षिक साधारणसभाको निर्णयपछि मात्रै वितरण हुने भएकाले त्यसका लागि कम्पनीले आवश्यक प्रक्रिया अघि बढाउनेछ ।

प्रतिक्रिया दिनुहोस्