भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ठूलो संख्यामा नागरिक सम्पर्कविहीन,फेला परेका शवको सङ्कलन, पहिचान र व्यवस्थापनमा ठूलो चुनौती

 

नुवाकोट, १५ भदौ । भोटेकोशी बाढीपछि रसुवा र नुवाकोटसहित प्रभावित क्षेत्रमा ठूलो संख्यामा नागरिक सम्पर्कविहीन भएपछि खोज तथा उद्धार अभियानलाई तीव्र पारिएको छ ।

बाढीमा परी ज्यान गुमाउनेको संख्या पनि बढ्दै गएको छ भने विभिन्न जिल्लामा फेला परेका शवको सङ्कलन, पहिचान र व्यवस्थापन अर्को ठूलो चुनौती बनेको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति नुवाकोटका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार नुवाकोट र रसुवा क्षेत्रबाट हालसम्म एक हजार ३२१ जना सम्पर्कविहीन छन् ।

सम्पर्कविहीनमध्ये एक हजार १०९ नेपाली, १५७ विदेशी र ५५ जनाको पहिचान खुल्न बाँकी रहेको छ ।

उद्धार अभियानअन्तर्गत नुवाकोट र रसुवाबाट हालसम्म दुई हजार ४५६ जनाको उद्धार गरिएको छ

। उद्धार गरिएकामध्ये दुई हजार २२५ नेपाली र २३१ विदेशी रहेको प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी दिनुभयो । उद्धार गरिएकामध्ये ५८ जना घाइते रहेका छन् । घाइतेलाई अवस्था र आवश्यकताअनुसार विभिन्न स्वास्थ्य संस्थामा उपचारका लागि पठाइएको छ ।

यता प्रहरी प्रधान कार्यालयले आइतबारसम्मको विवरण सार्वजनिक गर्दै भोटेकोशी बाढीमा परी विभिन्न जिल्लामा ७३४ जनाको शव फेला परेको जनाएको छ ।

कार्यालयका अनुसार रसुवामा १३, धादिङमा ५०, नुवाकोटमा ५२, तनहुँमा ३६, गोरखामा ५८, चितवनमा २५९, नवलपरासी पूर्वमा १८५ र नवलपरासी पश्चिममा ८२ जनाको शव फेला परेको छ ।

प्रहरीको विवरणअनुसार बाढी प्रभावित विभिन्न स्थानबाट हालसम्म दुई हजार ६९९ जनाको उद्धार गरिएको छ ।

सुरक्षाकर्मीले रसुवाबाट ६७६, नुवाकोटबाट दुई हजार २० र धादिङबाट तीन जनाको उद्धार गरेका छन् । काठमाडौँका विभिन्न अस्पतालमा उपचारपछि १६० जना घर फर्किएको प्रहरीले जनाएको छ ।

बाढीको विपद्मा सुरक्षाकर्मीसमेत प्रभावित भएका छन् । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी ८४ जना कर्मचारी अझै सम्पर्कविहीन रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सम्पर्कविहीन हुनेमा नेपाली सेनाका ४४, नेपाल प्रहरीका २७ र सशस्त्र प्रहरी बलका १३ जना छन् ।

बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारको काम अझै जारी छ । विशेषगरी जलविद्युत आयोजनाका सुरुङ तथा अन्य जोखिमयुक्त संरचनामा मानिस फसेको आशंका गरिएका स्थानमा उद्धार टोली परिचालन गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी रेग्मीका अनुसार माथिल्लो त्रिशूली थ्री ‘ए’ क्षेत्रमा सुरक्षाकर्मी र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी गरी ८४ जना खोज तथा उद्धारमा खटिएका छन् ।

थ्री ‘बी’ क्षेत्रमा समेत रेकी गरी खोज तथा उद्धारको काम भइरहेको छ।

थ्री ‘ए’को सुरुङभित्र मानिस फसेको भनिएको स्थान पहिचान गर्ने प्रयास भइरहेको छ ।

त्यसका लागि आवश्यक यन्त्र तथा प्रविधिको प्रयोग भइरहेको प्रशासनले जनाएको छ । सरकारले जीवितै उद्धार गर्न सकिने सम्भावनालाई ध्यानमा राखेर खोजीलाई निरन्तरता दिएको छ ।

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले विभिन्न स्थानमा फसेकाको खोजी तथा उद्धारका लागि सरकार अहोरात्र खटिरहेको बताउनुभएको छ ।

“बाढीबाट जोगिने क्रममा विभिन्न स्थानमा फसेकालाई खोज गरेर उद्धार गर्ने प्रयास भइरहेको छ,” उहाँले भन्नुभयो, “जीवितै फेला पार्न सकिन्छ भन्ने आशा छ ।”

मन्त्री तिमिल्सिनाका अनुसार उद्धारसँगै शव सङ्कलनलाई पनि सरकारले उच्च प्राथमिकतामा राखेको छ । शव सङ्कलनका लागि दुई वटा ‘डेडिकेटेड’ हेलिकप्टर सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो ।

बाढीपछि फेला परेका शवको सङ्ख्या बढ्दै जाँदा त्यसको सुरक्षित सङ्कलन, पहिचान र व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । नदी, बाढी तथा विभिन्न स्थानबाट फेला पर्ने शवलाई व्यवस्थित रूपमा सङ्कलन गर्न सुरक्षा निकायका संयुक्त टोली परिचालन गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी रेग्मीका अनुसार शव खोज तथा उद्धारका लागि ६०० सुरक्षाकर्मीको संयुक्त टोली परिचालन गरिएको छ ।

खोजीमा हेलिकप्टर तथा तालिमप्राप्त कुकुरसमेत प्रयोग भइरहेको छ । त्रिशूली नदीको वारिपारि गरी ३० स्थानलाई मुख्य आधार क्षेत्र बनाएर खोज तथा उद्धार अभियान सञ्चालन भइरहेको छ ।

विपद्पछिको अवस्थामा शव सङ्कलन आफैँमा संवेदनशील कार्य हो । मृतकको पहिचान खुलाउने, आफन्तसम्म सूचना पु¥याउने तथा शवको उचित व्यवस्थापन गर्ने काममा सम्बन्धित निकायबीच निरन्तर समन्वय आवश्यक हुन्छ ।

सरकारले जीवित व्यक्तिको उद्धारलाई प्राथमिकता दिँदै शव सङ्कलन तथा व्यवस्थापनलाई समेत समानान्तर रूपमा अघि बढाएको जनाएको छ ।

बाढीका कारण अवरुद्ध सडक तथा पुल सञ्चालनमा ल्याउनसमेत तीव्र रूपमा काम भइरहेको छ ।

उद्धार र राहत सामग्री प्रभावित क्षेत्रमा पु¥याउन तथा विस्थापितलाई सुरक्षित स्थानमा ल्याउन सडक तथा वैकल्पिक आवागमनको व्यवस्था आवश्यक भएकाले क्षतिग्रस्त संरचना मर्मत र अस्थायी मार्ग निर्माणलाई प्राथमिकता दिइएको हो ।

प्रमुख जिल्ला अधिकारी रेग्मीका अनुसार गल्छी–देवीघाट सडक सञ्चालनका लागि ठूलो खोलास्थित क्षतिग्रस्त पक्की पुल मर्मत भइरहेको छ । देवीघाटमा बेलिब्रिज जडानको काम पनि अघि बढाइएको छ ।

ढुङ्गे बजार क्षेत्रमा अवरुद्ध सडक खुलाउन डोजर परिचालन गरिएको छ । ढुङ्गे र त्रिशूली बजारबीच तत्काल आवागमनको वैकल्पिक व्यवस्था गर्न तुइन जडानको कामसमेत प्रारम्भ गरिएको छ ।“

तुइन जडानका लागि लठ्ठा आइसकेको छ,” प्रमुख जिल्ला अधिकारी रेग्मीले भन्नुभयो, “तत्काल तुइनबाटै भए पनि वारपार गर्न वैकल्पिक मार्ग प्रयोग गर्नेगरी प्रयास गरिएको छ ।”

सरकारले त्रिशूली नदी वारपार जोड्न थप तीन स्थानमा बेलिब्रिज राख्ने पहलसमेत अघि बढाएको छ । मन्त्री तिमिल्सिनाका अनुसार देवीघाट, ढुङ्गे र बेत्रावती क्षेत्रलाई त्यसका लागि प्राथमिकतामा राखिएको छ ।

बाढीबाट पूर्ण रूपमा विस्थापित भएका नागरिकको अस्थायी बसोबास तथा खानपानको व्यवस्था गर्न सञ्चालन गरिएका होल्डिङ सेन्टरको संख्या पनि बढाइएको छ ।

शनिबारसम्म १३ वटा होल्डिङ सेन्टर सञ्चालनमा रहेकामा हाल यसको संख्या १७ पु¥याइएको छ । ती केन्द्रमा दुई हजार ४०३ जना बसिरहेका छन् ।

मन्त्री तिमिल्सिनाले पूर्ण रूपमा विस्थापित नागरिकलाई गाँसबाससहितको व्यवस्था गरी होल्डिङ सेन्टरमा राखिएको जानकारी दिनुभयो । विपद्पछि घर फर्कन तत्काल सम्भव नभएका परिवारका लागि यस्ता केन्द्रले अस्थायी आश्रय प्रदान गरिरहेका छन् ।

यसैबीच राहत सामग्री वितरणमा एकद्वार प्रणाली अपनाइएको छ । प्रमुख जिल्ला अधिकारी रेग्मीका अनुसार हालसम्म १४० सङ्घसंस्थाले राहत सामग्री उपलब्ध गराएका छन् ।

प्राप्त सामग्री गोदाममा सङ्कलन गरी आवश्यकता र प्राथमिकताका आधारमा होल्डिङ सेन्टर तथा प्रभावित क्षेत्रमा गाडी र हेलिकप्टरमार्फत पठाउने व्यवस्था गरिएको छ ।

राहत वितरणलाई व्यवस्थित बनाउन सामग्रीको सङ्कलन, भण्डारण र ढुवानीमा समन्वय कायम गरिएको प्रशासनले जनाएको छ । प्रभावितको आवश्यकता पहिचान गरी सोहीअनुसार सामग्री पठाउने प्रयास भइरहेको छ ।

भोटेकोशी बाढीपछि तत्कालीन उद्धार र राहतसँगै प्रभावित क्षेत्रको आवागमन तथा आधारभूत सेवा पुनःस्थापनाको चुनौती पनि थपिएको छ ।

सडक तथा पुलमा भएको क्षतिले राहत सामग्रीको ढुवानी र नागरिकको आवतजावतमा समस्या सिर्जना गरेकाले वैकल्पिक मार्ग र बेलिब्रिज निर्माणलाई प्राथमिकता दिइएको छ ।

सरकारले एकातिर सम्पर्कविहीनको खोजी र जीवित उद्धारको सम्भावनालाई कायम राखेको छ भने अर्कोतर्फ फेला परेका शवको सङ्कलन र व्यवस्थापनलाई अघि बढाएको छ ।

त्यस्तै, विस्थापित नागरिकका लागि अस्थायी आवास र भोजनको व्यवस्था तथा राहत सामग्री वितरणलाई निरन्तरता दिइएको छ ।

विपद्को अवस्था अझै पूर्ण रूपमा नियन्त्रणमा नआइसकेकाले प्रभावित क्षेत्रमा सुरक्षा निकाय, प्रशासन, स्वास्थ्यकर्मी तथा अन्य सहयोगी संस्थाको निरन्तर उपस्थिति आवश्यक देखिएको छ ।

विशेषगरी ठूलो संख्यामा सम्पर्कविहीन रहेका नागरिकको खोजी, फेला परेका शवको पहिचान तथा व्यवस्थापन र जोखिमयुक्त संरचनामा उद्धार अभियानलाई सावधानीपूर्वक अघि बढाउनुपर्ने अवस्था छ ।

भोटेकोशी बाढीपछि देखिएको मानवीय क्षतिको पूर्ण विवरण अझै सङ्कलनकै क्रममा रहेको छ ।

विभिन्न निकायबाट प्राप्त तथ्याङ्कमा क्षेत्र र समयअनुसार भिन्नता देखिन सक्ने भएकाले आगामी दिनमा खोज तथा उद्धारको विस्तृत विवरणसँगै मृतक, सम्पर्कविहीन र उद्धार गरिएका व्यक्तिको आधिकारिक अभिलेख थप स्पष्ट हुने अपेक्षा गरिएको छ ।

अहिलेको प्राथमिकता भनेको सम्भावित जीवितको खोजी र उद्धार, मृतकको सम्मानपूर्वक व्यवस्थापन, विस्थापित नागरिकको संरक्षण तथा प्रभावित क्षेत्रको आवागमन र आधारभूत सेवा पुनःस्थापना गर्नु यही उद्देश्यका साथ सरकार तथा सुरक्षा निकायले खोज, उद्धार, राहत र पुनःस्थापनाका कामलाई एकसाथ अघि बढाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार