जलविद्युत् आयोजनाका सुरुङमा फसेकाको उद्धार तीव्र, नेपाली–विदेशी टोली परिचालित

 

काठमाडौँ, १५ भदौ । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढी तथा पहिरोपछि रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेका कर्मचारी तथा कामदारको उद्धारका लागि नेपाली र विदेशी प्राविधिक तथा सुरक्षाकर्मीको संयुक्त प्रयास तीव्र पारिएको छ ।

लगातार केही दिनदेखि सुरुङभित्र प्रवेश गर्ने मार्ग पहिचान गर्न कठिन भइरहेका बेला त्रिशूली थ्री–‘ए’ आयोजनामा उद्धार टोलीले अन्ततः ‘केबल एक्सेस टनेल’ फेला पारेपछि उद्धारको सम्भावना थप बलियो बनेको अधिकारीहरूले बताएका छन् ।

नेपाल विद्युत् प्राधिकरणको त्रिशूली थ्री–‘ए’ आयोजनाको सुरुङमा फसेका कर्मचारीको उद्धारका लागि तीन दिनदेखि परिचालित टोलीले विद्युत्गृहबाट तार बाहिर निकाल्ने प्रयोजनका लागि बनाइएको ‘केबल एक्सेस टनेल’ फेला पारेको हो ।

नेपाल विद्युत् प्राधिकरणका कामु प्रबन्ध निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार नेपाली सेना, प्राधिकरणको टोली तथा सुरुङ विज्ञहरूको संयुक्त प्रयासमा उक्त सुरुङ पहिचान भएको हो। अब सुरुङको प्रवेशद्वार अर्थात् पोर्ट सफा गरी अक्सिजनसहित उद्धारकर्मीलाई भित्र पठाउने तयारी भइरहेको छ ।

उक्त मार्गबाट उद्धारकर्मी सुरुङभित्र प्रवेश गर्न सक्ने भएकाले फसेका व्यक्तिसम्म पुग्ने सम्भावना बढेको प्राधिकरणले जनाएको छ । उद्धार टोलीले भित्रको अवस्था प्रत्यक्ष रूपमा निरीक्षण गर्दै अघि बढ्नेछ । उद्धारकर्मीसँगै क्यामेरा पनि सुरुङभित्र पठाइने तयारी छ, जसबाट बाहिरै बसेर भित्रको वास्तविक अवस्था बुझ्न सकिनेछ ।

उद्धारकर्ताहरूका अनुसार सुरुङको पोर्टबाट करिब १८० मिटर अगाडि गएपछि काम भइरहेको सम्भावित स्थानमा पुग्न सकिने अनुमान गरिएको छ । उक्त स्थानमा पुगेपछि सुरुङभित्र फसेका व्यक्तिको वास्तविक अवस्था, उनीहरू रहेको स्थान र सुरक्षाको अवस्थाबारे थप स्पष्ट जानकारी प्राप्त हुनेछ ।

यसअघि सुरुङभित्र हावा पु¥याउने उद्देश्यले पाँच वटा ड्रिल प्वाल बनाइएको थियो । सुरुङभित्रको अवस्थाबारे जानकारी लिन ड्रिल गर्ने तथा अन्य प्राविधिक प्रयास जारी रहेको सांसद एवं सुरुङविज्ञ श्रीराम न्यौपानेले जानकारी दिनुभएको छ । उहाँ उद्धारस्थलमै रहेर उक्त प्रक्रियामा संलग्न हुनुहुन्छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार बाढी गएको दुई दिनपछि शुक्रबारदेखि त्रिशूली थ्री–‘ए’ आयोजनाको सुरुङमा फसेकाको उद्धार अभियान सुरु गरिएको थियो । बाढी तथा पहिरोका कारण सुरुङको प्रवेशमार्गमा ठूलो मात्रामा लेदो, हिलो र ढुंगामाटो जम्मा भएकाले उद्धार टोलीलाई भित्र प्रवेश गर्न कठिन भइरहेको थियो ।

आयोजनाको भूमिगत विद्युत्गृहमा ओभरहलिङको काम भइरहेको समयमा करिब ४० देखि ४२ जना उच्च विज्ञसहितको प्राविधिक जनशक्ति कार्यरत रहेको र उनीहरू सुरुङभित्र फसेको हुन सक्ने प्राधिकरणको अनुमान छ । यद्यपि फसेका व्यक्तिको यकिन संख्या र अवस्थाबारे उद्धार टोली सुरुङभित्र पुगेपछि थप स्पष्ट हुने अधिकारीहरूको भनाइ छ ।

उद्धारमा नेपाली सेना, नेपाल विद्युत् प्राधिकरण तथा सुरुङ विज्ञहरूको टोली निरन्तर परिचालित छ । सुरुङभित्रको संरचना, लेदोको अवस्था र सम्भावित जोखिमलाई ध्यानमा राख्दै उद्धारकर्मीले चरणबद्ध रूपमा अघि बढ्ने तयारी गरेका छन् ।

भोटेकोशी–त्रिशूली क्षेत्रमा जलविद्युत् आयोजनाका सुरुङमा फसेका कामदार तथा कर्मचारीको उद्धारका लागि नेपाल सरकारले विदेशी विशेषज्ञ टोलीसमेत परिचालन गरेको छ ।

भारतबाट आएको प्राविधिक तथा सुरुङ उद्धार टोली रसुवाको चिलिमे पुगेको छ । टोलीमा चिकित्सक, प्यारामेडिक्स तथा सुरुङ इन्जिनियरसहित ११ सदस्यीय प्राविधिक जनशक्ति रहेको छ ।

भारतीय सेनाको थप २२ सदस्यीय टोलीसमेत उद्धार कार्यमा परिचालित भएको जनाइएको छ ।

भारतीय टोलीले चिलिमे तथा लाङटाङ क्षेत्रमा हेलिकप्टरमार्फत हवाई अनुगमनसमेत गरिसकेको छ ।

त्यसपछि टोलीले नुवाकोटको त्रिशूली र रसुवाको चिलिमे क्षेत्रमा केन्द्रित भएर उद्धार कार्य सुरु गरेको हो ।

भारतीय विशेषज्ञ टोलीले नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको संयुक्त सुरक्षा टोलीसँग समन्वय गरी आधुनिक उपकरणको प्रयोगबाट सुरुङ खुलाउने तथा भित्र फसेकाको उद्धार गर्ने काम अघि बढाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

चीनबाट पनि सुरुङ उद्धार विशेषज्ञ टोली नेपाल आएको छ । शनिबार पाँच जना र आइतबार थप चार जना चिनियाँ उद्धारकर्मी नेपाल आइपुगेका छन् ।

उनीहरू केरुङ क्षेत्र हुँदै रसुवाका बाढी प्रभावित क्षेत्रमा पुगेका हुन् ।

माथिल्लो त्रिशूली–१ आयोजनामा चिनियाँ उद्धार टोली र नेपाली सेना परिचालित छन् भने चिलिमे जलविद्युत् आयोजनामा भारतीय उद्धार टोली तथा नेपाली सेनाको टोली खटिएको छ ।

नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार रसुवा र नुवाकोटका चारवटा जलविद्युत् आयोजनाका सुरुङमा उद्धार प्रयास भइरहेको छ ।

त्रिशूली–३ ‘ए’, माथिल्लो त्रिशूली–३ ‘बी’, माथिल्लो त्रिशूली–१ र चिलिमे जलविद्युत् आयोजनामा सुरुङ खोल्ने तथा फसेका व्यक्तिको खोजी गर्ने काम भइरहेको छ ।

त्रिशूली–३ ‘ए’ मा नेपाली सेनासहित ९३ जनाको टोली परिचालित छ । माथिल्लो त्रिशूली–१ मा चिनियाँ उद्धार टोली र नेपाली सेना खटिएका छन् ।

चिलिमेमा भारतीय उद्धार टोली तथा नेपाली सेनाले संयुक्त रूपमा काम गरिरहेका छन् ।

माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजनामा समेत ठूलो संख्यामा कर्मचारी तथा कामदार सुरुङभित्र रहेको हुन सक्ने विवरण प्राप्त भएको छ ।

यस आयोजनाबाट यसअघि ११ जनाको उद्धार भइसकेको जनाइएको छ ।

प्राप्त विवरणअनुसार माथिल्लो त्रिशूली–३ ‘बी’ मा १२२ जना, त्रिशूली–३ ‘ए’ मा ४२ जना र चिलिमेमा आठ जना सुरुङभित्र फसेको आशंका गरिएको छ ।

माथिल्लो त्रिशूली–१ मा कार्यरत ५७६ जनामध्ये २५४ जनाको उद्धार भइसकेको र करिब ३०० जना सुरुङभित्र फसेको आशंका रहेको विवरण पनि सार्वजनिक भएको छ ।

यी सङ्ख्या विभिन्न चरणमा प्राप्त विवरण तथा आशंकामा आधारित रहेकाले उद्धार अभियान अघि बढ्दै जाँदा यकिन विवरण स्पष्ट हुने अधिकारीहरूले बताएका छन् ।

भोटेकोशी र त्रिशूली नदीमा आएको आकस्मिक बाढी तथा पहिरोले रसुवा र नुवाकोटका जलविद्युत् आयोजनाका संरचनामा ठूलो क्षति पु¥याएको छ ।

विशेषगरी आयोजनाका सुरुङ, विद्युत्गृह तथा प्रसारण संरचनामा लेदो, हिलो र ढुंगामाटो थुप्रिँदा नियमित सञ्चालन प्रभावित भएको छ ।

चिलिमे जलविद्युत् आयोजनाको संरचनामा समेत बाढी तथा पहिरोका कारण ठूलो क्षति पुगेको छ ।

आयोजनाका विभिन्न भागमा लेदो तथा ढुंगामाटो भरिएपछि चिलिमेबाट हुने २२.१ मेगावाट विद्युत् उत्पादन पूर्ण रूपमा बन्द भएको जनाइएको छ ।

त्यस्तै, चिलिमेलगायतका आयोजना जोडिएको त्रिशूली–३ ‘बी’ हबको सबस्टेसनमा बाढीबाट क्षति पुगेपछि त्यस क्षेत्रको विद्युत् प्रसारण प्रणालीसमेत प्रभावित भएको छ ।

जलविद्युत् आयोजनामा भएको भौतिक क्षतिभन्दा तत्कालको प्राथमिकता भने सुरुङभित्र फसेका व्यक्तिको सुरक्षित उद्धार बनेको छ । उद्धार टोलीले सुरुङको अवस्था, हावा तथा अक्सिजनको उपलब्धता, संरचनाको स्थायित्व र भित्रसम्म पुग्ने सम्भावित मार्गलाई ध्यानमा राखेर काम गरिरहेको छ ।

सुरुङ उद्धार सामान्य उद्धारभन्दा प्राविधिक रूपमा जटिल मानिन्छ । बाढीपछि सुरुङभित्र लेदो र ढुंगामाटो भरिनु, प्रवेशमार्ग अवरुद्ध हुनु तथा संरचनाको अवस्थाबारे तत्काल जानकारी नहुनुले जोखिम थपेको छ ।

त्यसैले उद्धार टोलीले ड्रिलिङ, क्यामेरा, हवाई रेकी तथा सुरुङ विज्ञको प्राविधिक ज्ञानलाई एकीकृत गरेर अघि बढिरहेको छ ।

त्रिशूली थ्री–‘ए’मा ‘केबल एक्सेस टनेल’ भेटिनुलाई उद्धारका लागि महत्वपूर्ण प्रगतिको रूपमा लिइएको छ । अब त्यस मार्गको पोर्ट सफा गरी उद्धारकर्मी भित्र पठाउने तयारी भइरहेको छ ।

अक्सिजनसहित उद्धार टोली पठाएर भित्रको अवस्था प्रत्यक्ष बुझ्ने र त्यसैका आधारमा थप उद्धार योजना बनाउने तयारी छ ।

उद्धार अभियानमा नेपालका सुरक्षा निकायसँगै विद्युत् प्राधिकरणका प्राविधिक, सुरुङ विज्ञ तथा भारत र चीनबाट आएका विशेषज्ञ सहभागी छन् ।

यसले जटिल प्राकृतिक विपद्मा अन्तरदेशीय प्राविधिक सहयोग र समन्वयको आवश्यकता पनि देखाएको छ ।

सरकारले विदेशी उद्धार टोलीसँगै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई प्रभावित क्षेत्रमा परिचालन गरेको छ ।

विभिन्न आयोजनामा फरक–फरक टोली परिचालित भए पनि समग्र उद्धार अभियानलाई एकीकृत सूचना र समन्वयमार्फत अघि बढाउनुपर्ने आवश्यकता छ ।

भारत सरकारले उद्धार टोली पठाउनुका साथै पोर्टेबल जेनेरेटर, खाद्यान्न, पानी शुद्धीकरण ट्याब्लेट र औषधिसहितका राहत सामग्रीसमेत नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।

भोटेकोशी–त्रिशूली क्षेत्रमा जारी उद्धार अभियान अहिले अत्यन्त संवेदनशील चरणमा छ ।

सुरुङभित्र फसेका व्यक्तिको वास्तविक अवस्था प्रत्यक्ष रूपमा पुष्टि हुन बाँकी रहेकाले उद्धार टोलीले सम्भावित सबै मार्ग र प्रविधिको प्रयोग गरिरहेको छ ।

विशेषगरी त्रिशूली थ्री–‘ए’मा सुरुङको वैकल्पिक प्रवेशमार्ग फेला पर्नु उद्धार प्रयासका लागि महत्वपूर्ण कदम बनेको छ । अब उद्धारकर्मी सुरक्षित रूपमा भित्र प्रवेश गरी फसेका व्यक्तिसम्म पुग्न सक्ने अवस्था निर्माण भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार