लुम्बिनी, २७ वैशाखः नेपाल पत्रकार महासङ्घ, रुपन्देहीको आयोजनामा बुटवलमा जारी मिडिया मन्थन तथा राष्ट्रिय सञ्चार सम्मेलनमा पत्रकारितासँगै सार्वजनिक सरोकारका विषयमा बहस छलफल हुने भएको छ ।
कार्यक्रममा पत्रकारिताको अबको भविष्य, न्यू मिडिया र परम्परागत मिडिया, प्रश्नको घेरामा पत्रकारिता र आर्थिक सङ्कटमा मिडिया, अबको बाटो र लुम्बिनीको पर्यटनः पर्यटक र पैसा कसरी भित्र्याउनेलगायत विषयमा सरोकार भएका निकायका प्रतिनिधि र पत्रकारबीच छलफल हुने भएको हो ।
मिडिया मन्थनको आजको पहिलो सत्रमा ‘लुम्बिनीको पर्यटनः पर्यटक र पैसा कसरी भित्र्याउने’ विषयमा आयोजित छलफलमा सहभागीले लुम्बिनीमा पर्यटकको बसाइ अवधि लम्ब्याउन नसकेकोप्रति चिन्ता व्यक्त गरेका छन् ।
कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिकाको कार्यवाहक नगरप्रमुख कल्पना हरिजनले लुम्बिनीका नाममा राज्यको लगानी अन्य ठाउँमा भइरहेको बताउनुभयो । उहाँले नगरपालिकाले पर्यटन र लगानी भित्र्याउने विषयलाई विशेष महत्त्व दिएको उल्लेख गर्नुभयो ।
पर्यटनविद् तथा लुम्बिनी विकास कोषका वरिष्ठ सूचना अधिकृत डा हरिध्वज राईले पर्यटकीय गन्तव्यको सौन्दर्यीकरण आवश्यक रहेकामा जोड दिनुभयो । “पर्यटकको बसाइ अवधि बढ्नेबित्तिकै पर्यटन क्षेत्रको विकास हुन्छ । पुस्ताअनुसार गन्तव्य फरक हुन सक्छन् । सबै उमेर समूहका रोजाइ फरक हुन सक्छन्”, उहाँले भन्नुभयो ।
पर्यटन व्यवसायी सागर अधिकारीले कस्ता पर्यटक भित्र्याउने भन्नेमा स्पष्ट हुन जरुरी रहेको बताउनुभयो । उहाँले विभिन्न कानुनी झन्झटिला रहेकाले सोको समाधान सरोकार भएका निकायले गर्नुपर्ने धारणा राख्नुभयो । गुणस्तरीय पर्यटकीय पूर्वाधार आजको आवश्यकता रहेकामा जोड दिँदै उहाँले सरकारले व्यवसायीमैत्री नीति बनाउनुपर्ने बताउनुभयो ।
पर्यटन डिभिजन कार्यालय कोहलपुर, बाँकेका प्रमुख मुक्तिप्रसाद पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि दृढ सङ्कल्पका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले पर्यटन क्षेत्रको विकासका लागि लुम्बिनी प्रदेश सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरेको बताउनुभयो ।
राष्ट्रिय समाचार समिति (रासस) लुम्बिनी प्रदेशका प्रमुख भरत केसीले लुम्बिनी र बुटवलमा आउने पर्यटकको रोजाइ फरक हुने भएकाले लुम्बिनीमा आउने पर्यटकको बसाइ अवधि लम्ब्याउनेतर्फ सरोकार भएका निकायले ध्यान दिनुपर्ने बताउनुभयो । “लुम्बिनीमा आउने पर्यटकको बसाइ अवधि किन लम्ब्याउन सकेनौँ ?”, उहाँले प्रश्न गर्नुभयो ।
‘टुर प्याकेज’ बनाउँदा लुम्बिनीसहित अन्य गन्तव्यलाई समेटेर बनाउन आवश्यक रहेकामा उहाँले जोड दिनुभयो । पत्रकार सुदीप भण्डारीले व्यवसायी एकातिर र सरकार अर्कोतिर रहेकाले पर्यटन क्षेत्रमा अपेक्षित विकास हुन नसकेको बताउनुभयो ।
आजको मिडिया मन्थलनको दोस्रो सत्रमा ‘प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ?’ विषयमा आयोजित बहस तथा छलफलमा सहभागीहरूले पत्रकारले सधैँ सत्ता र शक्तिलाई प्रश्न गर्नुपर्नेमा जोड दिएका छन् ।
नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष शिव गाउँलेले पछिल्लो समय मिडियाले पस्कने सामग्रीको विश्वसनीयता र जगमाथि प्रश्न उठेको बताउनुभयो । उहाँले पत्रकारिता क्षेत्रले कमीकमजोरी सच्याएर अघि बढ्नपर्ने धारणा राख्नुभयो ।
जनआस्थाका सम्पादक किशोर श्रेष्ठले पत्रकारले पत्रकारिताको धर्म निर्वाह गर्न आग्रह गर्नुभयो । उहाँले ‘म सत्यभन्दा बाहिर जाँदिन । जोखिम मोलेको छु । तथ्यले जित्छ । स्रोतलाई भगवान् मान्छु । मेरो स्रोत भगवान् हुन् ।’ भन्ने सिद्धान्तसहित आफ्नो काममा निरन्तर लाग्नुपर्नेमा जोड दिनुभयो ।
समाधान दैनिकका केशवशरण लामिछानेले राम्रो ‘कन्टेन्ट’ र खोजमूलक समाचार दिए समस्या नआउने बताउनुभयो । कार्यक्रममा रासस लुम्बिनी प्रदेशका प्रमुख भरत केसी, पत्रकार भण्डारीसहित माया गौतम, तिलक सुवेदी, अर्जुन ज्ञवालीलगायतले वर्तमान अवस्थामा पाठक, श्रोता र दर्शकले मन पराउने विषय मिडियामा दिन नसक्दा परम्परागत मिडियामाथि प्रश्न उठेको बताउनुभयो ।
आजको तेस्रो सत्रमा ‘आर्थिक सङ्कटमा मिडिया, अबको बाटो’ विषयमा आयोजित छलफलमा सहभागीले विशेषगरी कोभिडपछि मिडिया क्षेत्र सङ्कटमा परेका बताएका छन् । कार्यक्रममा कान्तिपुर मिडिया गु्रपका प्रमुख कार्यकारी अधिकृत महेश स्वाँरले मिडियाको उत्थानका लागि सरकारले योजनाबद्ध काम गर्नुपर्ने बताउनुभयो ।
बुटवल टुडेका प्रबन्ध सञ्चालक नवराज कुँवरले निजी क्षेत्रबाट सञ्चालित छापामाध्यम निःशुल्क प्रकाशनको व्यवस्था गर्नुपर्ने माग राख्नुभयो । नेपालगञ्ज दैनिकका सञ्चालक झलक गैरेले मिडिया संस्थागत गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । कोभिडपछि आर्थिक क्षेत्र प्रभावित भएसँगै मिडियामा विज्ञापन पनि घट्दै गएका बताउनुभयो । न्युज एजेन्सी नेपालका अध्यक्ष कृष्णा पौडेलले सञ्चारगृह जति बलियो र स्थायित्व हुन्छन्, त्यति नै समाचार र समाचारीय मूल्य बलियो हुने धारणा राख्नुभयो ।
प्रतिक्रिया दिनुहोस्