काठमाडौँ, १ भदौ । वामपन्थी नेताहरूले नेपालको कम्युनिस्ट आन्दोलनको गम्भीर समीक्षा गर्दै रुपान्तरणसहितको एकतामा जोड दिनुभएको छ । समाजवाद अध्ययन केन्द्र नेपालद्वारा आज काठमाडौँमा आयोजित ‘वामपन्थी आन्दोलन अब के गर्ने ? राष्ट्रिय बहस !’ कार्यक्रममा सहभागी विभिन्न पार्टीका नेताले जनसम्बन्ध सुदृढीकरण, गम्भीर बहससहित आगामी मार्ग तय गर्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा नेकपा (संयुक्त)का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले पुराना राजनीतिक शक्तिले प्रभावकारी रूपमा काम गर्न नसक्दा नयाँ राजनीतिक शक्ति स्थापित भइ शासन सञ्चालन गर्ने अवस्था आएको बताउनुभयो । उहाँले गत निर्वाचनमा पराजित हुनुको कारण अहिलेसम्म स्पष्ट रूपमा पहिचान गर्न नसकिएको भन्दै त्यसको गम्भीर समीक्षा आवश्यक रहेको बताउनुभयो । “चुनावमा हामीले कसरी हार्यौँ भनेर अहिलेसम्म पत्ता लागेको छैन ।
त्योबारे कसैले नसम्झाइदिए हुन्थ्यो लाग्छ”, उहाँले भन्नुभयो । त्यसैगरी, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले नेपालको कम्युनिस्ट आन्दोलनको गम्भीर समीक्षा गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले जनमत कम्युनिस्ट दलहरूबाट टाढिँदै जानुको कारण पहिचान नगरेसम्म कम्युनिस्ट आन्दोलनलाई प्रभावकारी रूपमा अघि बढाउन नसकिने धारणा राख्नुभयो ।
कार्यक्रममा नेकपा (एमाले)का नेता कर्ण थापाले देशको विकासलगायत समग्र कामलाई प्रभावकारी बनाउन वामपन्थी शक्ति एकजुट हुनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्