‘चिरञ्जीवी भवः’ को पोस्टर सार्वजनिक, माघ १ गतेदेखि प्रदर्शनमा

काठमाडौँ, १६ कात्तिक । अभिनेता हरिवंश आचार्यलाई फरक र आकर्षक अवतारमा प्रस्तुत गर्दै चलचित्र ‘चिरञ्जीवी भवः’को दुईवटा पोस्टर सार्वजनिक गरिएको छ । दीपकप्रसाद आचार्य ‘काकु’को निर्देशनमा निर्माण भइरहेको चलचित्रको निर्माण पक्षले शनिबार मुख्य कलाकारहरूको पहिलो झलक सार्वजनिक गरेको हो ।

सार्वजनिक पोस्टरमा अभिनेता हरिवंश आचार्य, आशीर्वाद क्षेत्री र प्रशंसा रायमाझीलाई मुख्य रूपमा प्रस्तुत गरिएको छ । पोस्टरले चलचित्रका पात्रहरूको रूप, स्वभाव र उनीहरूबीच हुन सक्ने सम्बन्धबारे दर्शकमाझ कौतूहल सिर्जना गरेको छ ।
एउटा पोस्टरमा हरिवंशलाई केन्द्रमा राखिएको छ ।

सेतै फुलेको कपाल र जुँगा, ढाका टोपी तथा आकर्षक पहिरनमा देखिएका उनी गम्भीर र रवाफिलो मुद्रामा छन् । उनको छेउमा रहेका आशीर्वाद र प्रशंसा भने हँसिलो मुद्रामा देखिन्छन् । आशीर्वाद सामान्य पहिरनमा छन् भने प्रशंसा बुट्टे चोली र सारीमा सजिएकी छन् । पोस्टरको पृष्ठभूमिमा देखिएको मन्दिर र चलचित्रको शीर्षकसँगै राखिएको खामले धार्मिक आस्था तथा पारिवारिक परिवेशको सङ्केत गरेको देखिन्छ ।

अर्को पोस्टरमा हरिवंश र आशीर्वादलाई मात्र देखाइएको छ । दौरा सुरुवाल र ज्वारीकोटमा सजिएका हरिवंशले आशीर्वादलाई आशीर्वाद दिइरहेको दृश्य पोस्टरमा समेटिएको छ । आशीर्वाद भने आधुनिक पहिरनमा प्रस्तुत छन् । यस दृश्यले पुरानो पुस्ता र नयाँ पुस्ताबीचको सम्बन्ध तथा सोचको अन्तरलाई सङ्केत गरेको अनुमान गर्न सकिन्छ । पोस्टरमा हरिवंशले आशीर्वाद दिइरहेको दृश्यले चलचित्रको शीर्षकलाई समेत अर्थपूर्ण बनाएको छ ।

चलचित्रमा हरिवंश आचार्य ‘चिरञ्जीवी बाजे’को भूमिकामा देखिनेछन् । दुई पुस्ताबीचको वैचारिक भिन्नता, पारिवारिक सम्बन्ध र पुस्तान्तरणका विषयलाई कथाको मुख्य आधार बनाइएको निर्माण पक्षले जनाएको छ । सामाजिक विषयवस्तुमा आधारित चलचित्रले फरक सोच र जीवनशैली भएका पुस्ताबीचको सम्बन्धलाई कसरी प्रस्तुत गर्छ भन्ने चासो पोस्टर सार्वजनिक भएसँगै बढेको छ ।

कुमार कट्टेल ‘जिग्री ब्रो’को कथामा आधारित चलचित्रको पटकथा तथा संवाद सविन अधिकारी र वसन्त न्यौपानेले तयार पारेका हुन् । जिग्री इन्टरटेनमेन्ट र प्रिमियर प्रोडक्सनको संयुक्त प्रस्तुतिमा निर्माण भइरहेको चलचित्र आगामी माघ १ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ ।

चलचित्रमा हरिवंश, आशीर्वाद र प्रशंसासँगै अभिनेत्री करिश्मा मानन्धर, मिश्री थापा, कमलमणि नेपाल, अभय बराल, सुमन कार्की, सुवर्ण थापा, तुलसी घिमिरे, सरोज अर्याल, हरिश निरौला (कक्रोज), गीता अधिकारी र सुस्मिता कुँवरलगायत कलाकारको अभिनय रहेको छ ।

उमेशकुमार बराल र चिरन केसी निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता गजित विष्ट र शैलेश खत्री हुन् । शिवराम श्रेष्ठले छायांकन गरेको चलचित्रलाई मित्र डी. गुरुङले सम्पादन गर्दैछन् । चलचित्रको निर्माण कार्य अहिले पोस्ट प्रोडक्सनको चरणमा रहेको छ ।

निर्देशक दीपकप्रसाद आचार्यको यसअघि निर्देशित चलचित्र ‘परान’ले दर्शकको उल्लेख्य साथ पाएको थियो । गत वर्ष प्रदर्शनमा आएको उक्त चलचित्र वर्षकै सर्वाधिक ग्रस कलेक्सन गर्ने नेपाली चलचित्र बनेको थियो । ‘चिरञ्जीवी भवः’ उनको निर्देशनमा बन्न लागेको दोस्रो चलचित्र हो । अघिल्लो चलचित्रको सफलतापछि नयाँ कथावस्तु र कलाकारको फरक संयोजनसहित आउन लागेको यस चलचित्रलाई दर्शकले कस्तो प्रतिक्रिया दिनेछन् भन्ने प्रतीक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्