काठमाडौं, १५ चैत । आगामी वैशाख ११ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म परालको आगो को दोस्रो गीत ‘दुःख सुख जिन्दगानी’ सार्वजनिक गरिएको छ । लोकलयमा आधारित यस गीतले ग्रामीण परिवेशमा हुर्किएको प्रेम, संघर्ष र सहकार्यको कथा भावनात्मक ढंगले प्रस्तुत गरेको छ।
गीतमा प्रकाश सपूत र शान्तिश्री परियार को सुमधुर स्वर सुन्न सकिन्छ । गीतका शब्द तथा संगीत स्वयं प्रकाश सपूतकै रहेको छ । गीतले युवायुवतीबीचको वाचा, भरोसा र जीवनका दुःख–सुख सँगसँगै बाँड्ने भावलाई सरल र मार्मिक शैलीमा प्रस्तुत गरेको छ ।
गीतको भिडियोमा फिल्मका मुख्य कलाकार प्रकाश सपूत र सुहाना थापा देखिएका छन्। उनीहरूलाई ग्रामीण जीवनशैलीअनुसार घाँस काट्ने, दाउरा बोक्ने, चुलोचौको गर्ने तथा खेतीपातीमा व्यस्त रहेको दृश्यमा प्रस्तुत गरिएको छ । दम्पतीको भूमिकामा रहेका यी दुई कलाकारबीचको केमेस्ट्री भिडियोमा जीवन्त देखिन्छ । साथै, दुवैले प्रस्तुत गरेको नृत्यले गीतलाई अझ आकर्षक बनाएको छ ।
गीतको कोरियोग्राफी रामजी लामिछाने ले गरेका हुन् । उनले ग्रामीण परिवेश र कथावस्तुलाई ध्यानमा राख्दै सरल तर प्रभावशाली नृत्य संयोजन प्रस्तुत गरेका छन् । भिडियोमा देखाइएको गाउँघरको जीवनशैली, परम्परा र संस्कृतिले दर्शकलाई नेपाली मौलिकतासँग जोड्ने प्रयास गरेको छ ।
फिल्म परालको आगो का निर्देशक लक्ष्मण सुनार हुन् । फिल्ममा प्रकाश सपूत र सुहाना थापासँगै सौगात मल्ल, सिर्जना अधिकारी, किशोर भण्डारी, शंकर आचार्य, सरिता भण्डारी, कुल बहादुर अधिकारी र मन्जिला बाँनिया लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
हरिओम सिने मेकर्सको ब्यानरमा निर्माण भएको यस फिल्मका निर्माता सुशील पोखरेल हुन् भने पटकथा तथा संवाद सुशील देवकोटा ले तयार पारेका छन् । फिल्मको छायांकन संकल्प भुजेलले गरेका हुन् भने सम्पादन मिलन श्रेष्ठले गरेका छन् । रंग संयोजन कनाल कँवरले गरेका छन् ।
यो फिल्म नेपाली साहित्यका चर्चित स्रष्टा गुरुप्रसाद मैनाली को ‘नासो’ कथासङ्ग्रहमा समावेश रहेको ‘परालको आगो’ कथाबाट प्रेरित रहेको जनाइएको छ । त्यसैले फिल्ममा ग्रामीण समाज, सम्बन्ध, जीवन संघर्ष र मानवीय संवेदनालाई प्रमुख विषयवस्तुका रूपमा प्रस्तुत गरिएको अपेक्षा गरिएको छ ।
संगीततर्फ शान्ती ठटाल, सत्य–स्वरुप र प्रकाश सपूतको योगदान रहेको छ । सार्वजनिक गरिएको ‘दुःख सुख जिन्दगानी’ गीतले फिल्मप्रति दर्शकको उत्सुकता अझ बढाएको निर्माण टिमको विश्वास छ ।
प्रतिक्रिया दिनुहोस्