काठमाडौँ, १२ मङ्सिर । फिल्म ‘मायावी’ फागुन १४ गते र फिल्म ‘बम बहादुर’ पुष ५ गतेबाट प्रदर्शनमा आउने भएका छन । फिल्म ‘मायावी’को प्रदर्शन मिति एकपटक फेरि हेरफेर भएको छ । गत कात्तिक १५ गतेबाट पोस्टपोन्ड भएर आगामी पुष २६ गतेलाई प्रदर्शन मिति घोषणा गरिएकोमा अब फिल्मलाई डेढ महिना पछाडि सारिएको छ । आइतबार एक पोस्टरमार्फत् आगामी फागुन १४ गते (महाशिवरात्रि)लाई नयाँ प्रदर्शन मिति घोषणा गरिएको हो ।
खासमा यसका निर्देशक दीवाकर भट्टराई महाशिवरात्रिमा आफ्नो नयाँ फिल्म ‘नरसिंहा अवतार’ प्रदर्शन गर्ने तयारीमा थिए । तर, यसको छायांकन र पोस्ट प्रोडक्सनमा समय लाग्ने भएपछि उनले ‘मायावी’ रिलिज गर्न लागेका हुन् । फागुन १४ गते फिल्मलाई सोलो रिलिजको अवसर भने मिल्ने छैन । यसअघि नै यो मिति फिल्म ‘लाज शरणम्’ले ‘बुक’ गरिसकेको छ भने त्यसको दुई दिनपछि अर्थात् फागुन १६ मा ‘होस्टेल ३’ पनि आउँदैछ ।
‘मायावी’को सार्वजनिक पहिलो पोस्टरमा अभिनेता पल शाह र अभिनेत्री दीपिका प्रसाईं छन् । जसमा समावेश दुई तस्वीरमध्ये एउटामा उनीहरु रोमान्टिक भावमा चित्रित छन् भने अर्कोमा पल भावुक देखिएका छन् । पृष्ठभूमिमा टल्किरहेको हिमालसहित फेवाताल र त्यहाँ तैरिएका एक जोडी डुंगा देख्न सकिन्छ । पोस्टरले फिल्मको कथा प्रेम र वियोगमा केन्द्रित रहेको संकेत गर्छ ।
निर्देशक भट्टराई स्वयंको लेखन रहेको फिल्मको निर्मातामा राज कटुवाल, चन्द्र पन्त र ध्रुव न्यौपाने छन् । यसमा प्रशान्त ताम्राकार, सुशील सिटौला, लक्ष्मी गिरी, राजाराम पौडेल, करिश्मा श्रेष्ठ, अंशु महर्जन, रवि डंगोल लगायतको पनि अभिनय छ । राजु विक्रम थापाको डीओपी, मिलन श्रेष्ठको सम्पादन, साहिल खानको ट्रेलर तथा शम्भुजित बाँस्कोटा र एसडी योगीको संगीत छ ।
यस्तै, अभिनेता सौगात मल्लको शीर्ष भूमिका रहेको फिल्म ‘बम बहादुर’ अब आगामी पुष ५ गतेबाट प्रदर्शनमा आउने भएको छ । पुष १० गते परेको इसाई समुदायको मुख्य चाड क्रिसमस डेको विदालाई लक्षित गरेर फिल्मलाई प्रदर्शन गर्न लागिएको हो । नेपाल र भारतमा फिल्म एकसाथ रिलिज हुनेछ । यसअघि गत कात्तिक ३० गतेलाई फिल्मको प्रदर्शन मिति घोषणा गरिएको थियो ।
नयाँ प्रदर्शन मितिसँगै सोमबार टिजर पनि सार्वजनिक गरिएको छ, जसले फिल्मको कथासार बुझाउँछ । फिल्मले ‘गोर्खा ल्यान्ड’को विषयलाई मुख्य कथावस्तु बनाएको देखिन्छ । २०७४ सालमा ‘गोर्खा ल्यान्ड’को माग गर्दै भारतको दार्जिलिङमा ठूलो आन्दोलन भएको थियो । फिल्मले यही आन्दोलनको विषयलाई उठाएको टिजरले संकेत गर्छ ।
फिल्मलाई जोन राईले निर्देशन गरेका हुन् । उनले दार्जिलिङ र डुअर्स क्षेत्रका नेपाली समुदायले भोगेको सङ्घर्षको इतिहासलाई डिजिटल दस्ताबेजका रूपमा प्रस्तुत गर्न फिल्म बनाएको बताएका छन् । यसमा मनोरञ्जनात्मकसहित सन्देशमूलक कथा रहेको उनको दाबी छ । फिल्मले दर्शकलाई सस्पेन्स, थ्रिल, रोमान्स र सोसल ड्रामाको अनुभव गराउने उनले बताए ।
फिल्ममा सौगातसहित कलाकारहरू प्रशान्त राई, अनिशा रसाइली, भास्कर प्रधान, महेन्द्र बग्दास, मदन भुजेल, भरत वशिष्ठ, अजय प्रधान, शान्तिला तामाङ, रिया भुजेल, बाल कलाकार वशिस्ट कार्की, सुरेश पन्चकोटी लगायतको पनि अभिनय छ । सञ्जीव सार्की निर्माता रहेको फिल्ममा जोन राई र रुपेश तामाङको कथा र पटकथा छ भने सुजोय कुमार घोष ‘मुन्ना’ छायाँकार हुन् ।
प्रतिक्रिया दिनुहोस्