चैत २९ बाट प्रदर्शनमा आउने फिल्म ‘पिताम्बर’को पहिलो गीत सार्वजनिक

 

काठमाडौँ, १ फागुन । चैत २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पिताम्बर’को पहिलो गीत ‘म त फ्यान भएँ यार’ सार्वजनिक भएको छ । कृषा चौलागाईंको निर्देशनमा बनेको फिल्म ‘पिताम्बर’को मंगलबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक उक्त गीतमा आशिष अविरल र अस्मिता अधिकारीको स्वर, आनन्द अधिकारीको शब्द तथा आशिष अविरलको संगीत छ । आशिषका यसअघि ‘काले केटाले’, ‘रैया चाँदीको’, ‘परान’ जस्ता गीत निकै चर्चित छन् ।

दरबारीया शैलीको सेटमा छायांकन गरिएको गीतको भिडियोमा फिल्मका मुख्य जोडी प्रदीप खड्का र दिव्या रायमाझी नृत्य गर्दै प्रस्तुत छन् । उनीहरुलाई राधा र कृष्णको रुपमा प्रस्तुत गरिएको छ । दुवैको नृत्य छरितो देखिन्छ । उल्लेख्य कोरस राखिएको भिडियोमा प्रोडक्सन भ्यालु उच्च देखिएको छ ।

गीतका कोरियोग्राफर कविराज गहतराज हुन् । निर्माता विशाल चौलागाईंका अनुसार गीतका लागि भारतबाट सेटसहित कामदार ल्याइएको थियो । ‘तराईको लोकेसनमा फिल्म खिचिएकाले त्यहाँको माहोलमा सेट तयार गरेका हौं ।

हामीले सेट निर्माणमा कुनै पनि कञ्जुस्याई गरेका छैनौं,’ विशालले भने । उनले भिडियोको लागत भने खुलाउन चाहेनन् । यद्यपि, भिडियोको मेकिङ हेर्दा २५÷३० लाख खर्च भएको देखिन्छ ।

फल्ममा प्रदीप र दिव्यासहित दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, टिका पहाडी, दिव्यदेव लगायतको अभिनय छ । आगामी चैत २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मलाई पुरुषोत्तम प्रधानले छायांकन गरेका हुन् । यसमा प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा तथा संवाद छ ।

प्रतिक्रिया दिनुहोस्