काठमाडौँ, १९ भदौ । सिनेमा प्रदर्शनको मिति नजिकिँदै गर्दा निर्माण पक्षले दर्शकसम्म पुग्न विभिन्न नयाँ शैली अपनाउन थालेका छन् । यही क्रममा आगामी असोज २ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमा ‘झिँगेदाउ २’ले प्रचारका लागि सार्वजनिक यातायातलाई माध्यम बनाएको छ । निर्माण पक्षले काठमाडौंमा सञ्चालित ८० वटा गाडीका सिट कभरमा सिनेमाको प्रचार सामग्री राखेर प्रचार अभियानलाई नयाँ स्वरूप दिएको हो ।
नेपाल यातायातसँगको सम्झौताअनुसार काठमाडौंमा सञ्चालन हुने ८० वटा गाडीका सिट कभरमा ‘झिँगेदाउ २’का प्रचार सामग्री राखिएका छन् । यात्रुहरूले यात्रा गर्ने क्रममा नै सिनेमाको प्रचार सामग्री देख्न पाउनेछन् । यसले सिनेमा प्रचारलाई सडक र हलभन्दा बाहिर यात्रुहरूसम्म प्रत्यक्ष रूपमा पु¥याउने उद्देश्य लिएको निर्माण पक्षको भनाइ छ ।
प्रचार सामग्रीमा राखिएका दुई वटा क्यूआर कोड यो अभियानको मुख्य आकर्षण बनेका छन् । एउटा क्यूआर कोड स्क्यान गरेपछि दर्शकले ‘झिँगेदाउ २’को टिजर हेर्न सक्नेछन् । अर्को क्यूआर कोडमार्फत क्यूएफएक्स चेनअन्तर्गतका विभिन्न हलमा सिनेमाको टिकट काट्न सकिने व्यवस्था गरिएको निर्माण पक्षले जनाएको छ ।
यसरी सार्वजनिक यातायातमा यात्रा गरिरहेका दर्शकले सिनेमाको प्रचार सामग्री हेर्नुका साथै मोबाइलबाटै टिजर हेर्न र टिकट बुकिङ गर्न सक्नेछन् । निर्माण पक्षले प्रचारलाई केवल पोस्टर, ब्यानर तथा सामाजिक सञ्जालमा सीमित नराखी सम्भावित दर्शकको दैनिक जीवनसँग जोड्ने प्रयास गरेको देखिन्छ ।
सिनेमा प्रदर्शनको तयारीसँगै ‘झिँगेदाउ २’को प्रचार अभियानलाई तीव्र पारिएको छ । निर्माण पक्षले दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्ने तथा विभिन्न प्रचारात्मक गतिविधि सञ्चालन गर्दै आएको छ । यसै क्रममा सिनेमामा समावेश तीज गीत पनि सार्वजनिक गर्ने तयारी गरिएको छ ।
ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको ‘झिँगेदाउ २’ पहिलो भागकै कथाको निरन्तरताका रूपमा निर्माण गरिएको हो । पहिलो भागलाई दर्शकले रुचाएका कारण दोस्रो भागप्रति पनि अपेक्षा बढेको निर्माण पक्षको दाबी छ । दोस्रो भाग प्रदर्शनको तयारी भइरहँदा दर्शकलाई पहिलो भागको कथा र पात्रसँग पुनः जोड्न निर्माण पक्षले पहिलो भाग युट्युबमा समेत सार्वजनिक गरेको थियो ।
पहिलो भाग सार्वजनिक भएपछि दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको र दोस्रो भाग हेर्न उत्सुकता देखाएको निर्माण पक्षको भनाइ छ ।
‘झिँगेदाउ २’मा पारिवारिक सम्बन्ध, घरभित्रको कलह तथा आमाको महत्वलाई कथाको मुख्य विषय बनाइएको छ । सिनेमामा आँचल शर्मा, केकी अधिकारी, आर्यन सिग्देल, महेश त्रिपाठी, कुशल बिष्ट, सरोज खनाल, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी, शिवहरि वैरागी, आशा भुषाल, रेनु प्रधान, विनोदकुमार पौडेल, आशिष पुरुष, विष्णु सापकोटा र नरेन्द्र थापालगायत कलाकारको अभिनय रहेको छ ।
गोविन्द फुयाँल र शिशिर चालिसेको लेखन रहेको सिनेमाको पटकथा तथा संवाद परिच्छेद सेनले तयार पार्नुभएको हो । कपनगढी सिनेमा प्रालि र फिल्म क्रिउ नेपाल प्रालिको ब्यानरमा निर्माण भएको सिनेमामा सुलभ प्रतिक देउजा र समीक्षा देउजाको लगानी रहेको छ । रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा सह–निर्माता हुनुहुन्छ ।
विष्णु घिमिरे ‘कल्पित’को छायांकन रहेको सिनेमालाई मित्र डी गुरुङले सम्पादन गर्नुभएको छ । अर्जुन घिमिरेको संगीत, रामजी लामिछानेको कोरियोग्राफी तथा रोशन श्रेष्ठको एक्सन निर्देशन रहेको छ । सिनेमालाई एप्पल इन्टरटेन्मेन्टले नेपालभर वितरण गर्नेछ ।
दर्शकको दैनिक यात्रालाई नै प्रचारको माध्यम बनाउँदै ‘झिँगेदाउ २’ले प्रचार अभियानलाई प्रविधिसँग जोडेको छ । अब दर्शकले बसको सिटमा बसेर सिनेमाको प्रचार सामग्री हेर्नुका साथै क्यूआर कोडमार्फत टिजर हेर्न र टिकटसमेत काट्न सक्नेछन् । ‘झिँगेदाउ २’ असोज २ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ ।
प्रतिक्रिया दिनुहोस्