काठमाडौँ, २८ भदौ । भोटेकोशीमा आएको बाढीका कारण पूर्वनिर्धारित प्रदर्शन रोकिएको सिनेमा ‘बाः एक योद्धा’ अब मंसिर कुर्नुपर्ने भएको छैन । निर्माण टिमले सिनेमाको नयाँ प्रदर्शन मिति तय गर्दै आगामी असोज ९ गतेदेखि दर्शकमाझ ल्याउने घोषणा गरेको छ ।
कुशेऔंसी अर्थात् बुबाको मुख हेर्ने दिनको अवसर पारेर निर्माण टिमले नयाँ प्रदर्शन मिति सार्वजनिक गरेको हो । यसअघि भोटेकोशी बाढीबाट प्रभावितलाई सहयोग गर्दै सिनेमाको प्रदर्शन मिति मंसिर २४ गतेका लागि सारिएको थियो । तर पछिल्लो समय वितरक तथा प्रदर्शकसँगको छलफलपछि निर्माण टिमले मिति पुनः परिवर्तन गर्दै असोजमै सिनेमा प्रदर्शन गर्ने निर्णय गरेको हो ।
निर्माता वसन्त लम्सालका अनुसार वितरक तथा प्रदर्शकसँगको निरन्तर छलफलपछि असोज ९ गते सिनेमा प्रदर्शन गर्ने निष्कर्षमा पुगिएको हो । दर्शक तथा सिनेमासँग जोडिएका सबै पक्षको साथ पाउने विश्वासका साथ नयाँ मिति तय गरिएको उनले बताएका छन् ।
‘बाः एक योद्धा’को प्रदर्शन मिति परिवर्तन हुनुको पछाडि केवल व्यावसायिक कारण मात्रै छैन । भोटेकोशी बाढीपछि निर्माण टिमले पीडित परिवारप्रति ऐक्यबद्धता जनाउँदै दुई लाख रुपैयाँ सहयोग गरेको थियो । प्राकृतिक विपत्तिका कारण मनोरञ्जनको वातावरण प्रभावित भएको भन्दै टिमले यसअघि निर्धारित प्रदर्शन स्थगित गरेर मंसिरमा पु¥याएको थियो ।
अब भने परिस्थितिमा आएको परिवर्तनसँगै सिनेमा असोजमै दर्शकमाझ आउने भएको छ । नयाँ प्रदर्शन मितिले नेपाली सिनेमाको दसैं आसपासको बजारमा ‘बाः एक योद्धा’को उपस्थितिसमेत सुनिश्चित गरेको छ ।
सिनेमाको कथाको केन्द्रमा बुबा र सन्तानबीचको सम्बन्ध रहेको छ ।
सन्तानको भविष्य निर्माणका लागि बुबाले गर्ने त्याग, संघर्ष र विभिन्न चुनौतीलाई कथाको मूल विषय बनाइएको निर्माण टिमले जनाएको छ । त्यसैले बुबाको मुख हेर्ने दिनकै अवसरमा नयाँ प्रदर्शन मिति घोषणा गरिनुलाई सिनेमाको विषयवस्तुसँग जोडिएको अर्थपूर्ण संयोगका रूपमा समेत हेरिएको छ ।
‘बाः एक योद्धा’ नेपाली संगीत क्षेत्रमा लामो समयदेखि सक्रिय हरि लम्सालको पहिलो निर्देशकीय सिनेमा हो । दर्जनौँ लोकप्रिय गीतमा संगीत दिएका लम्सालले यस सिनेमाको लेखन, कथा तथा पटकथा निर्माणसँगै निर्देशनको जिम्मेवारी सम्हालेका छन् । संगीतबाट चलचित्र निर्देशनतर्फ उनको प्रवेश भएकाले पनि सिनेमा उनका लागि विशेष मानिएको छ ।
आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा बनेको सिनेमामा दिव्यदेव पन्त, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर शिवाकोटी, सुप्रज्ञा शर्मा र शवी थापालगायत कलाकारको अभिनय छ ।
निर्माता वसन्त लम्साल रहेको सिनेमामा अनिल बुढाथोकी कार्यकारी निर्माता तथा अर्जुन पौडेल लाइन प्रोड्युसर छन् । कृष्ण काफ्ले सह–निर्माताका रूपमा रहेका छन् ।
सिनेमाको छायांकन शिवराम श्रेष्ठले गरेका हुन् । निर्माण टिमले पारिवारिक सम्बन्ध, बुबाको त्याग र सन्तानको भविष्यका लागि गरिने संघर्षलाई भावनात्मक रूपमा प्रस्तुत गर्ने प्रयास गरेको जनाएको छ ।
असोज ९ गते प्रदर्शन हुने भएपछि ‘बाः एक योद्धा’ले दसैंको माहोलमा दर्शकको साथ खोज्नेछ । विशेषगरी परिवारका सदस्यबीचको सम्बन्धलाई केन्द्रमा राखिएको कथा भएकाले दसैंको पारिवारिक वातावरण सिनेमाका लागि अनुकूल हुने निर्माण टिमको अपेक्षा छ ।
प्रदर्शन मिति सारिए पनि सिनेमाको मूल विषय भने उस्तै छ—सन्तानका लागि बुबाले गर्ने संघर्ष र त्याग । यही कथालाई लिएर ‘बाः एक योद्धा’ अब असोज ९ गतेबाट पर्दामा आउने तयारीमा छ ।
सिनेमाको वितरण कुवेर सिने डिष्ट्रिब्युसनले गर्नेछ । आशिष एच तामाङ र प्रदीप धामी वितरणमा संलग्न छन् ।
प्रतिक्रिया दिनुहोस्