पुष २७ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘चित्रा’को टिजर सार्वजनिक

 

काठमाडौं, ५ पुष । पुष २७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘चित्रा’को टिजर सार्वजनिक गरिएको छ । घनश्याम लामिछानेको निर्देशनमा बनेको फिल्म ‘चित्रा’को टिजर सार्वजनिक गरिएको हो । सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको १ मिनेट २४ सेकेण्डको टिजर बाबु–छोरीको भावनात्मक सम्बन्धको वरिपरि घुमेको छ ।

एक्सनलाई पनि प्राथमिकता दिइएको टिजरले फिल्म बदलाको कथामा आधारित रहेको संकेत गर्छ । एक्सन कोरियोग्राफी टिजरमा आकर्षक छ ।
सन्तोष अधिकारी फिल्म्स तथा अस्याप इन्टरटेनमेन्ट अष्ट्रेलिया नेपालको सहकार्य रहेको फिल्ममा सन्तोष अधिकारी, मेनुका प्रधान, शुभेच्छा खड्का, प्रमोद अग्रहरी, अर्पण थापा, प्रकाश घिमिरे, अञ्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्ज्वल ढकाल लगायतको अभिनय छ । फिल्म यही पुष २७ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ ।

आशिष थापा मगर निर्माता तथा सन्तोष अधिकारी कार्यकारी निर्मातामा रहेको फिल्ममा राजनराज सिवाकोटीको शब्द तथा संगीत, अजय अधिकारीको कथा, मनिष गौतमको पटकथा तथा संवाद लेखन, सम्राट बस्नेत र टिमको द्वन्द्व निर्देशन, बनिष शाह र सन्देश शाहको सम्पादन, महेश पौडेलको छायांकन छ । फिल्मलाई देशभर केदार पराजुलीको कम्पनी श्रीकृष्ण फिल्मस्ले वितरण गर्दैछ ।

 

यसैगरी, निर्माताको रुपमा चिनिएका सन्तोष अधिकारी फिल्म ‘चित्रा’बाट अभिनयमा आएका छन् । फिल्मको निर्माता समेत रहेका उनको अभिनयप्रति रुचि तात्तातो भने होइन । २२ वर्षदेखि फिल्मको हिरो बन्ने सुषुप्त चाहना पालेर बसेका थिए, उनी । कोरोना महामारीका कारण जारी लकडाउनको समयमा उनको त्यो चाहना उत्कट रुपमा प्रकट भयो ।

मोबाइलको क्यामराअघि उभिएर उनले कयौं भूमिकामा अभिनय गरे । टिकटकमा थुप्रै भिडियो बनाए र ड्राफ्टमा थुपारे । उनको यो हर्कतले परिवार समेत दिक्दार भैसकेका थिए । यसपछि उनी आफ्नो चाहना पूरा गर्ने अठोट लिएर अभिनयको परीक्षा दिन तयार भए । फिल्म निर्माणको भने उनीसँग अनुभव थियो । ‘चित्रा’अघि उनले ‘आमा’, ‘घर’ र ‘तीन जन्तु’ फिल्म बनाइसकेका थिए ।

फिल्ममा उनले दुईवटी छोरीको बाबुको भूमिका निभाएका छन् । वास्तविक जीवनमा पनि आफू बाबु भएकाले पात्रको भावना बुझ्न कठीन नभएको उनको अनुभव छ । उनलाई लाग्छ कलाकारले वास्तविक जीवनका भोगाइहरुलाई नै पर्दामा उतार्ने हो । त्यसैले फिल्मको पात्रले बोक्ने भावनामा उतिसारो फरक नहुने उनको बुझाई छ । उक्त पात्रका लागि केही पूर्ण तयारी भने गरेको सन्तोषले बताए ।

‘मैले यो पात्रलाई प्रत्येक पलमा अनुभव गरेको छु । त्यही अनुभवको अनुभूतिलाई पात्रसँग जोडेको छु । यसमा अभिनय सिकेको र नाच्न सिकेको कुरालाई मैले एउटा गणित ठानेको छु । त्यही गणित र अनुभवको अनुभूतिलाई मिसाएर मैले यो पात्रमा आफूलाई उभ्याएको छु । यो पात्रका विभिन्न चरणहरुलाई सूक्ष्म अध्ययन गरेर यसो गर्दा ठीक हुन्छ कि भनेर काम गरेको छु,’ सन्तोषले भने ।

‘चित्रा’ले आफूलाई अभिनेताको रुपमा परिचय दिनेमा उनी विश्वस्त छन् । उनलाई स्क्रिप्टको ६०÷७० प्रतिशत पर्दामा उत्रिएको छ भन्ने लाग्छ । स्क्रिप्टको ३०÷४० प्रतिशत मात्रै उतार्न सकिएको अवस्थामा पनि फिल्म राम्रो बन्ने उनको बुझाई छ । उनलाई फिल्मको फ्यामिली ड्रामा, एक्सन, गीतसंगीत पक्ष मन परेको छ । उनी ‘चित्रा’लाई सबैखाले दर्शकलक्षित पारिवारिक फिल्म भन्न रुचाउँछन् । बाबु र छोरीको सम्बन्धको कथा उठान भएको फिल्ममा महेश पौडेलको छायांकन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्