रहेनन् अभिनेता सुनिल थापा, नेपाली चलचित्र क्षेत्र शोकमा

काठमाडौँ, २५ माघ । नेपाली चलचित्र जगत्का चर्चित तथा प्रभावशाली अभिनेता सुनिल थापाको ६८ वर्षको उमेरमा शनिबार निधन भएको छ । लामो समयदेखि नेपाली तथा भारतीय चलचित्र क्षेत्रमा सक्रिय रहँदै आउनुभएका थापाको असामयिक निधनले सम्पूर्ण कला र मनोरञ्जन क्षेत्र शोकमा डुबेको छ ।

शनिबार बिहान अचानक स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो । तर अस्पताल पु¥याइएलगत्तै प्रारम्भिक जाँचपछि चिकित्सकले उहाँलाई मृत घोषणा गरेका थिए । चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाका अनुसार अभिनेता थापाको निधन हृदयघातका कारण भएको अस्पतालले पुष्टि गरेको छ ।

अध्यक्ष निरौलाले जानकारी दिएअनुसार आज बिहान थापा चलचित्रको छायांकनमा जाने तयारीमा हुनुहुन्थ्यो । “बिहान छायाङ्कनमा जानुपर्ने भएकाले उहाँले आफूसँगै रहेका सहयोगीलाई चाँडै उठाउन भन्नुभएको रहेछ,” अध्यक्ष निरौलाले भन्नुभयो, “तर सहयोगी बिहान उठाउन जाँदा उहाँलाई अचेत अवस्थामा फेला पारिएपछि तत्काल अस्पताल ल्याइएको थियो । अस्पतालले प्रारम्भिक जाँचपछि उहाँको निधन भइसकेको जानकारी दिएको हो।”

अभिनेता थापाका श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ । उहाँका परिवारका सदस्यहरू हाल भारतको मुम्बईमा बसोबास गर्दै आएका छन् । परिवारका सदस्यहरू नेपाल आउँदै रहेको चलचित्र कलाकार संघले जनाएको छ । परिवार आइपुगेपछि अन्त्येष्टिसम्बन्धी कार्यक्रम तय गरिनेछ ।

नेपाली चलचित्रमा खलनायक पात्रलाई पनि नायकसरह प्रतिष्ठा दिलाउन सफल अभिनेता थापा ‘राते काइँला’ पात्रमार्फत् विशेष रूपमा लोकप्रिय हुनुहुन्थ्यो । उहाँको दमदार अभिनय, संवाद शैली र प्रभावशाली उपस्थितिले नेपाली सिनेमामा खलनायक पात्रको परिभाषालाई नयाँ उचाइ दिएको थियो । थापाले खलनायक मात्र होइन, चरित्रप्रधान भूमिकामार्फत पनि आफ्नो अभिनय क्षमताको गहिरो छाप छोड्नुभएको छ ।

लामो करियरका दौरान उहाँले नेपालीसँगै केही भारतीय चलचित्रमा पनि अभिनय गर्नुभएको थियो । सीमित संवादमै पात्रलाई जीवन्त बनाउने क्षमता उहाँको विशेषता मानिन्थ्यो । सिनेमामा नकारात्मक पात्र भए पनि व्यक्तिगत जीवनमा सरल, अनुशासित र सहकार्यमा विश्वास गर्ने कलाकारका रूपमा उहाँ चिनिनुहुन्थ्यो ।

उहाँ शंखमूलस्थित एक अपार्टमेन्टमा बस्दै आउनुभएको थियो । निधनको खबर फैलिएसँगै चलचित्रकर्मी, कलाकार, निर्देशक तथा शुभेच्छुकहरू शोक व्यक्त गर्न थापाको निवासतर्फ पुगिरहेका छन् । सामाजिक सञ्जालमा समेत उहाँप्रति श्रद्धाञ्जलीका सन्देशहरू आइरहेका छन् ।

नेपाली चलचित्र उद्योगमा खलनायक पात्रलाई स्थापित गराउने कलाकारका रूपमा सुनिल थापाको योगदान सधैं स्मरणीय रहने चलचित्रकर्मीहरूको भनाइ छ । उहाँको निधनले नेपाली सिनेमा एक अनुभवी, समर्पित र प्रभावशाली कलाकार गुमाएको छ ।

स्वर्गीय अभिनेता सुनिल थापाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्