काठमाडौं, २७ पुस । टिप टप न्यु डायमण्ड युथ स्पोट्र्स क्लबले नवौँ केएनपी निरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जित्दै नेपाली महिला भलिबलमा आफ्नो सशक्त उपस्थितिलाई पुनः पुष्टि गरेको छ । साविक विजेता नेपाल पुलिस क्लबलाई फाइनलमा ३–१ को सेटमा पराजित गर्दै न्यु डायमण्डले दोस्रो पटक यस प्रतिष्ठित प्रतियोगिताको उपाधि उचालेको हो ।
एक साताअघि सम्पन्न एनभिए च्याम्पियनसिपको फाइनलमा पनि पुलिसलाई हराएको न्यु डायमण्डले छोटो अवधिमै पुलिसविरुद्ध तेस्रो जित दर्ता गरेको हो । यस प्रतियोगितामा पनि न्यु डायमण्ड अपराजित रहँदै च्याम्पियन बनेको छ, जसले टोलीको निरन्तरता, रणनीतिक तयारी र मानसिक दृढता स्पष्ट देखाएको छ ।
फाइनल खेलको पहिलो सेटमै न्यु डायमण्डले आक्रामक सुरुवात ग¥यो । ४–१ र ७–३ को अग्रता बनाएपछि पुलिसले खेललाई ७–७ को बराबरीमा ल्याउँदै प्रतिस्पर्धा चर्काएको थियो । अंक बराबरीमै अघि बढेको खेलमा १५–१५ पछि सुमित्रा रेग्मीको सशक्त सर्भिसले न्यु डायमण्डलाई १८–१४ को अग्रता दिलायो ।
खेल २२–२२ मा पुग्दा प्रतिभा मालीको निर्णायक स्पाइक र ब्लकले २४–२२ को सेट प्वाइन्ट बन्यो । अन्ततः नेट टचका कारण प्राप्त अंकसँगै न्यु डायमण्डले पहिलो सेट २५–२३ ले आफ्नो पक्षमा पा¥यो ।
दोस्रो सेट पनि कडा प्रतिस्पर्धात्मक रह्यो। दुवै टोलीले पालैपालो अग्रता लिए पनि फराकिलो अन्तर बनाउन सकेनन् । १८–१८ पछि न्यु डायमण्डले लय समात्दै लगातार अंक जोड्यो । २३ औँ अंकमा पुलिसले विरोध जनाए पनि खेलको गति बदलिन सकेन । प्रतिभा मालीको सर्भिसबाट सेट प्वाइन्ट लिँदै न्यु डायमण्डले दोस्रो सेट २५–१८ ले जितेर २–० को स्पष्ट अग्रता बनायो ।
उपाधि रक्षा गर्ने दबाबमा रहेको पुलिसले तेस्रो सेटमा उत्कृष्ट पुनरागमन ग¥यो । सुरुवातदेखि नै एकपक्षीय अग्रता बनाएको पुलिसले १४–७ को अन्तर बनाएपछि खेल नियन्त्रणमा राख्यो र २५–१५ ले सेट जित्दै खेललाई २–१ मा ल्यायो ।
चौथो सेटको सुरुवातमा पनि पुलिसले १३–६ को सात अंकको अग्रता बनायो । तर न्यु डायमण्डले धैर्य र टोलीगत समन्वय देखाउँदै सानदार कमब्याक ग¥यो । सलिना बुढा मगरको सर्भिसमा खेल १८–१८ को बराबरीमा ल्याउँदै न्यु डायमण्डले २१–१८ को अग्रता बनायो ।
पुलिसले अन्तिम क्षणसम्म संघर्ष गर्दै २५–२४ को अग्रता लिए पनि न्यु डायमण्डले दबाबमा उत्कृष्ट खेल प्रस्तुत गर्दै २७–२५ ले चौथो सेट जित्यो । निर्णायक प्वाइन्टमा नेट टचको निर्णयलाई लिएर विवाद भए पनि अन्ततः न्यु डायमण्ड च्याम्पियन घोषित भयोल ।
तेस्रो स्थानका लागि भएको खेलमा एपिएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै कांस्य पदक जित्यो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको खेलमा एपिएफले २५–१३, २५–२३ र २५–१८ ले आर्मीलाई हराएको हो । लिग चरणमा आर्मीले एपिएफलाई हराएको बदला यस खेलमार्फत एपिएफले लिएको देखियो ।
इतिहासतर्फ हेर्दा प्रतियोगिताका पहिलो छ संस्करण एपिएफले जितेको थियो भने सातौँ र नवौँ संस्करण न्यु डायमण्डले तथा आठौँ संस्करण नेपाल पुलिस क्लबले उपाधि जितेका थिए । २०७२ सालदेखि नियमित आयोजना हुँदै आएको यस प्रतियोगिताले नेपाली महिला भलिबलको विकास, नयाँ प्रतिभाको पहिचान र प्रतिस्पर्धात्मक स्तर उकास्न महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ ।
मुख्य प्रायोजक केएनपी निरोलेक पेन्टको सहयोगमा सम्पन्न प्रतियोगितामा विजेता टोलीले पाँच लाख रुपैयाँ, उपविजेताले दुई लाख ५० हजार, तेस्रोले एक लाख २५ हजार र चौथोले ६२ हजार पाँच सय रुपैयाँ प्राप्त गर्नेछन् ।
सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार रुपैयाँ तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ ले १५ हजार रुपैयाँ पाउने व्यवस्था छ ।
राष्ट्रिय खेलकुद परिषद्, बागमती प्रदेश खेलकुद परिषद्, विभिन्न कर्पोरेट हाउस र नगरपालिकाको सहकार्यमा सम्पन्न प्रतियोगिताले महिला भलिबलप्रतिको दर्शक रुचि र पहुँच बढाउन थप सहयोग पु¥याएको आयोजकहरूको धारणा छ ।
प्रतिक्रिया दिनुहोस्