मोना कप भलिबलमा जलजला र ढोरपाटन च्याम्पियन

काठमाडौं, २६ जेठ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाको आयोजनामा सम्पन्न डबल धमाका १०औँ मोना कप भलिबल प्रतियोगितामा पुरुषतर्फ म्याग्दी जलजला परिवार र महिलातर्फ ढोरपाटन क्लब अस्ट्रेलियाले उपाधि जितेका छन् । अस्ट्रेलियामा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत एकता, सहकार्य र मनोरञ्जन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगिताले यस वर्ष पनि उल्लेखनीय प्रतिस्पर्धा र उत्साह सिर्जना गरेको छ ।

मोना अस्ट्रेलियाको स्थापनाको २०औँ वर्षको अवसरमा जुन ६ र ७ तारिख (जेठ २३ र २४) मा सिड्नीको लिडकमस्थित ओबर्न बास्केटबल सेन्टरमा प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा पुरुष भलिबलतर्फ १२ टोली, महिला भलिबलतर्फ ५ टोली तथा पुरुष बास्केटबलतर्फ ११ टोलीको सहभागिता रहेको थियो ।

पुरुषतर्फको फाइनल खेलमा म्याग्दी जलजला परिवारले आयोजक मोना अस्ट्रेलियालाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जित्यो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा जलजलाले पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पा¥यो । दोस्रो सेटमा मोनाले उत्कृष्ट पुनरागमन गर्दै २५–२२ को जित निकालेर खेल बराबरीमा ल्याएको थियो । तर त्यसपछिका दुई सेटमा जलजलाले दबाब कायम राख्दै २५–२३ र २५–१९ को जित निकालेपछि उपाधि आफ्नो नाममा लेखाउन सफल भयो ।

जलजलाको सफलतामा राष्ट्रिय टोलीबाट खेलिसकेका अनुभवी खेलाडीहरूको भूमिका महत्वपूर्ण रह्यो । हेमन्तबहादुर मल्ल, लोकेन्द्रराज गिरी, रमेश विक र मदन साउदले उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई उपाधिसम्म पु¥याए । मोना अस्ट्रेलियाका लागि राष्ट्रिय टोलीका सदस्य रविन चन्द ठकुरीले प्रभावशाली प्रदर्शन गरे पनि टोलीलाई च्याम्पियन बनाउन पर्याप्त हुन सकेनन् ।

महिलातर्फको फाइनलमा ढोरपाटन क्लब अस्ट्रेलियाले म्याग्दी काली युनाइटेडलाई ३–१ को सेटमा हराउँदै उपाधि जित्यो । राष्ट्रिय टोलीकी सदस्य साफिया पुन सम्मिलित ढोरपाटनले सन्तुलित खेल प्रदर्शन गर्दै जित हात पारेको थियो । म्याग्दी काली युनाइटेडमा राष्ट्रिय टोलीकी खेलाडी सरस्वती चौधरीको सहभागिता रहे पनि टोली उपविजेतामै सीमित बन्यो।

 

उपाधिसँगै पुरुषतर्फ विजेता जलजलाले ७ हजार ७ सय ७७ अष्ट्रेलियन डलर, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । उपविजेता मोना अस्ट्रेलियाले ३ हजार ६ सय ३६ अष्ट्रेलियन डलर सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पा¥यो। महिलातर्फ च्याम्पियन ढोरपाटनले २ हजार २ सय २२ अष्ट्रेलियन डलर प्राप्त गर्दा उपविजेता म्याग्दी काली युनाइटेडले १ हजार १ सय ११ अष्ट्रेलियन डलर प्राप्त ग¥यो ।

व्यक्तिगत पुरस्कारतर्फ पुरुषमा मोनाका रविन चन्द ठकुरी र महिलामा ढोरपाटनकी साफिया पुन प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । दुवैले समान २०० अष्ट्रेलियन डलर र ट्रफी प्राप्त गरे । पुरुषतर्फ जलजलाका हेमन्तबहादुर मल्ल उत्कृष्ट स्पाइकर, मदन साउद उत्कृष्ट ब्लकर, सुविन छन्त्याल उत्कृष्ट लिबेरो तथा इम रोका उत्कृष्ट प्रशिक्षक घोषित भए। यस्तै मोनाका माधव पुन उत्कृष्ट सर्भर र विशाल कार्की उत्कृष्ट सेटर चुनिए ।

महिलातर्फ ढोरपाटनकी प्रतीक्षा गुरुङ उत्कृष्ट सेटर तथा तेलिना छन्त्याल उत्कृष्ट सर्भर घोषित भइन् । विधागत उत्कृष्ट सबै खेलाडीलाई ट्रफी प्रदान गरिएको थियो ।

प्रतियोगिताको अर्को विशेषता नेपालका पूर्व तथा वर्तमान राष्ट्रिय खेलाडीहरूको उल्लेखनीय सहभागिता रह्यो । पुरुषतर्फ पूर्व कप्तान इमबहादुर राना, मानबहादुर श्रेष्ठ, टेकराज अवस्थी, विशालबहादुर विक, लोकेन्द्रराज गिरी, हेमन्तबहादुर मल्ललगायत चर्चित खेलाडी सहभागी थिए । महिलातर्फ कप्तान अरुणा शाही, सरस्वती चौधरी, साफिया पुन, कविता भट्ट, पुनम चन्द र मनिषा चौधरीलगायत राष्ट्रिय टोलीका खेलाडीको उपस्थितिले प्रतियोगितालाई थप आकर्षक बनाएको थियो ।

विदेशमा बसोबास गर्ने नेपाली समुदायलाई एउटै मञ्चमा जोड्न सफल मोना कपले खेलकुद मात्र होइन, नेपाली समुदायबीचको सम्बन्धलाई अझ मजबुत बनाउने माध्यमका रूपमा पनि आफ्नो पहिचान स्थापित गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्