छठ पर्वलाई मर्यादित रूपमा मनाउन पर्सा प्रशासनको अपिल

वीरगञ्ज (पर्सा), २८ कात्तिक : जिल्ला प्रशासन कार्यालय (जिप्रका) पर्साले छठ पर्वलाई भव्य, सभ्य, सुरक्षित र मर्यादित रूपमा सम्पन्न गर्न अपिल गरेको छ ।
प्रमुख जिल्ला अधिकार भोला दाहालले आज आस्था, विश्वास र सद्भावको महान् पर्व छठको अवसरमा शुभकामना व्यक्त गर्दै छठ पर्वको समयमा आगलागी तथा अन्य मानवीय एवं भौतिक क्षति हुन नदिन सबैमा अपिल गर्नुभएको हो ।
उहाँले भन्नुभयो, “छठ पर्वको समयमा आगलागी तथा अन्य मानवीय एवं भौतिक क्षति हुन नदिन पटका, आतिसवाजी जस्ता प्रज्वलनशील तथा विष्फोटकजन्य पदार्थहरूको ओसारपसार, बिक्री वितरण तथा प्रयोग नगर्न र नगराउन अनुरोध गरिन्छ, यस्ता कार्य गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिनेछ ।”
जिप्रकाले छठ घाट तथा पोखरीमा पूजाआजा तथा अघ्र्य दिने क्रममा बालबालिका, वृद्धवृद्धा तथा सर्वसाधारण मानिसहरू डुब्न सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउनुहुन अनुरोध गर्नुका साथै सम्भावित विपद् तथा दुर्घटनाको तत्काल उद्धारका लागि आवश्यक उपकरणसहित सुरक्षाकर्मीहरू तयारी अवस्थामा रहने व्यहोरासमेत जानकारी गराएको छ ।
कार्यालयले विभिन्न छठ पूजा व्यवस्थापन समितिको अनुरोधलाई मध्यनजर गर्दै पर्वको धार्मिक मर्यादा र पवित्रता कायम राख आज र भोलि २९ गते छठ पूजास्थल तथा घाट वरिपरिको क्षेत्रमा माछा, मासुलगायत सम्पूर्ण मादकपदार्थको बिक्री वितरण तथा सेवन कार्य पूर्ण रूपमा बन्द गर्न/गराउन सूचितसमेत गरेको छ । अपिलमा भनिएको छ, “पर्व अवधिभर शान्ति सुरक्षालाई चुस्त एवं सुदृढ बनाउन स्थानीय प्रशासन, सुरक्षा निकाय र छठ पूजा व्यवस्थापन समितिसँग आवश्यक समन्वय गरी सभ्य समाजको परिचय दिनुहुन सबैमा हार्दिक अपिल गरिन्छ ।”

प्रतिक्रिया दिनुहोस्