काठमाडौँ, १ पुस । आफूहरूले आकांक्षा राखेको पदाधिकारी नबनाएपछि ओलीका विश्वासपात्र केहीले कित्ता परिवर्तन गरेका छन भने केहीले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन् ।
आफूहरूले आकांक्षा राखेको पदाधिकारी नबनाएपछि चार नेताले अध्यक्ष केपी शर्मा ओलीको साथ छाडेका हुन । निवर्तमान ओली सरकारमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रहेका रघुजी पन्त, प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, नेता कृष्णगोपाल श्रेष्ठ र गोकुल बास्कोटाले ओलीको साथ छोडेका हुन् ।
पन्तले ओलीले पदाधिकारीमा नराखेपछि अर्का अध्यक्षका उम्मेदवार ईश्वर पोखरेल प्यानलबाट उपाध्यक्षमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।
ओली समूहबाट सचिव लड्न चाहेका प्रचार विभाग प्रमुख गौतमले स्वतन्त्र रूपमा उपमहासचिव पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ । ‘अब म स्वतन्त्र उम्मेदवारको रूपमा उपमहासचिव लड्छु’ उहाँले भन्नुभयो ।
लामो समय अध्यक्ष ओलीका निकट रहेका श्रेष्ठले आफूलाई अपमान र अन्याय गरिएको भन्दै उहाँ पोखरेल समूहबाट सचिवमा दर्ता गराउनुभएको छ । विगतमा ओलीका निकट सहयोगी नेता गोकुल बास्कोटाले धेरै अघि नै ओलीको समूह छोड्नुभएको थियो । उहाँले पोखरेल समूहबाट सचिवमा उम्मेदवारी दिनुभएको छ ।
एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमार्फत ३०१ सदस्यीय नयाँ केन्द्रीय कमिटी चयन हुँदैछ । यस प्रक्रियामा नेतृत्व चयन, नीति निर्धारण र संगठनात्मक सुदृढीकरणका विषयमा व्यापक बहस भइरहेको छ ।
महाधिवेशनमा सहभागी प्रतिनिधिहरूले नेतृत्व चयनसँगै पार्टीभित्र आपसी विश्वास, सम्मान र समावेशी अभ्यासलाई बलियो बनाउँदै अघि बढ्नुपर्ने धारणा व्यक्त गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्