पृथ्वी राजमार्ग : मलेखु–मुग्लिङ सडकखण्ड आजपनि बन्द

चितवन, १७ कात्तिकः पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्ड आज पनि बन्द गरिने भएको छ । सडक खण्डको मझिमटारमा आकाशे पुलको यात्रु आवागमन गर्ने भाग (गर्डर) राख्ने कार्य गर्नुपर्ने भएकाले बिहान ९ः०० बजेदेखि ११ः०० बजेसम्म उक्त सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको हो ।
नागढुङ्गा–मुग्लिङ सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार पुलको गर्डर राख्ने कार्यका लागि सडक बन्द गरिएको हो । उक्त अवधिमा मलेखु–मुग्लिङ सडकखण्ड भएर आवतजावत गर्ने सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइने उहाँले जानकारी दिनुभयो ।
सडक बन्द रहने समयमा सवारी चालक तथा यात्रुलाई धैर्यतापूर्वक यथास्थानमा रहन, लेन अनुशासन कायम गर्न तथा ट्राफिक नियमको पालना गर्न आयोजनाले अनुरोध गरेको छ । यसअघि सोमबार दिउँसो चार घण्टा सडक बन्द गरेर काम गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्